काठमाडौं, २० पुस -सामाजिक सञ्जालमा ‘रातो नम्बर’ बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीले सोधपुछ गरेर छाडेको छ ।
मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको सिआइबीकी प्रवक्ता मीरा चौधरीले बताइन् । उनले भनिन्, ‘के भएको रहेछ हामीले बुझ्न बोलाएका थियौं । सोधपुछपछि नियन्त्रणमा लिइराख्नुपर्ने देखिएन भोलि उपस्थित हुनु भनेर फिर्ता पठायौं ।’
गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट एनसेलको नम्बरमा फोन आएको भन्दै फेसबुकमा ‘स्टाटस’ राखेकी थिइन् । जुन स्टाटसको आधारमा विभिन्न अनलाइनमासमेत नकारात्मक समाचार आएको थियो । तर प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको नम्बरमा रातो नम्बरबाट फोन नआएको भेटिएको थियो ।
सोही क्रममा गायक बराइलीले गुगलबाट एप्स डाउनलोड गरी फोन गर्दा रातो नम्बर देखिने बनाएको तथ्य खुलेपछि ब्युरोले बराइलीलाई पक्राउ गरेको हो ।
यसैबीच ब्युरोले आज पत्रकार सम्मेलन गरी रातो नम्बरको अफवाहमा नपर्न र यस्तो हल्ला नफैलाउन सबैसँग आग्रह गरेको छ । ब्युरो प्रमुख एव्म प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रातो नम्बरबाट फोन आउने र उठाउँदा ज्याने जान सक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किने भन्ने जस्ता अफवाह फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा गायिका पाण्डे र गायक बराइलीले आफूहरुले अन्जानवश गल्ती गरेको स्वीकार गर्दै सजाय भोग्न तयार रहेको बताएका थिए । ब्युरोले भोलि हाजिर हुन आउने गरी आज साँझ उनीहरुलाई रिहा गरेको छ ।
‘रातो नम्बर आतङ्क फैलाउने’ गायिका प्रहरी फन्दामा
Previous Articleगठबन्धनको निर्णय – संविधानको धारा २७४ खारेज
Next Article कसरी सिक्छन् बालबालिका ?