आजभोली हरेकतिर बजारको नै चर्चा छ । सन २०१६ को समाप्तिसंगै यो एक बर्षको समिक्षा पनि सुरु भएको छ । पछिल्ला नेपाली चलचित्रका लागि सन् २०१६ सफल वर्ष साबित भएको छ । इतिहासमै सर्वाधिक धेरै व्यवसाय गर्नेदेखि धेरै चलचित्र सफल भएको रेकर्डसमेत वर्ष २०१६ ले तय गरेको छ । व्यावसायिक रूपमा मात्रै होइन स्टोरी टेलिङका दृष्टिले पनि यो वर्षले युटर्न लिएको छ । नेपाली चलचित्रमा नयाँ दर्शक धेरै थपिएका छन् । कहिल्यै नेपाली चलचित्र नहेर्ने दर्शक हलसम्म पुगेका छन् र नेपाली चलचित्र राम्रो बन्दैन भन्ने सोचमा ब्रेक लाएको छ । यो शैली र सफलताले निरन्तरता पाए नेपाली चलचित्रको प्रभाव अब सीमाबाहिर पनि पुग्नेमा दुईमत छैन् । यो बर्ष नेपाली चलचित्र कतिसम्म सफल हुन सक्छ भन्ने मानक कलाकार दीपाश्री निरौलाद्धारा निर्देशित छक्का पञ्जा भएको छ ।
छक्का पञ्जा चलचित्र रिलिज भएको आज एक सय १८ औं दिन भएको छ । काठमाण्डौका गोपीकृष्ण, गुण र गंगा हलमा अझै यो चलचित्र प्रदर्शन भइरहेको छ । पुस २ गते चारवटा हलमा १०० औं दिन मनाएको छक्का पञ्जाले देशका विभिन्न २१ हलमा ५१ दिन मनाएको थियो । नेपाली चलचित्रको यस्तो सफलता कसैले सोचेका थिएन । निर्मातामध्येका दीपकराज गिरी स्वयंले त्यो कल्पना गरेका थिएनन् । यो चलचित्रले नेपालभित्र १६ करोड र विदेशको समेत गर्दा २५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरिसकेको छ निर्माताले बताउन थालेका छन । हुन त नेपाली चलचित्रले प्रदर्शनको सुखद सय दिन नमनाएको वर्षौं भइसकेको थियो । तर, पहिले र अहिले सय दिन मनाउनुमा पनि धेरै फरक छ । पहिले सीमित हलमा सीमित सो सहित सय दिन मनाउँथ्यो । अहिले धेरै हल, त्यो पनि मल्टिप्लेक्समा सय दिन मनाउनु चमत्कार नै मान्नुपर्छ । त्यो चमत्कार चलचित्र छक्का पञ्जाले गरेको छ । यसले नेपाली चलचित्र बजारमा उदाउदो रुपमा छन भन्ने नै देखाएको छ ।
सफलताको शृंखलामा चलचित्र जात्रा पनि थपिएको छ । राम्रो स्क्रिप्ट, वास्तविक अभिनय र कथा भन्ने शैली प्रभावकारी भयो भने स्टार कलाकार चाहिँदैन भन्ने पुष्टि यो चलचित्रले गरेको छ । वर्ष २०१६ को सुरुआतमै दीपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र पशुपतिप्रसादले ग्रिन सिग्नल देखाएको थियो । व्यावसायिक रूपमा होस् वा अवार्डमा यो चलचित्रले जति जित हासित र्गयो, प्रदर्शन सुरु हुनुअघि कसैले त्यति अपेक्षा गरेका थिएनन् । तर, राम्रो चलचित्र बन्यो र माउथ पब्लिसिटी पायो भने कतिसम्म सफल हुनसक्छ भन्ने उदाहरण यो चलचित्र बन्यो । छक्का पञ्जा, जात्रा, पशुपतिप्रसादजस्ता सफल चलचित्र हेर्दा लाग्छ अव बल्ल नेपालमा क्यानभास अनुसारको चलचित्र बन्न थालेको छ । निर्माता निर्देशकले सक्ने कुरामा मात्र चलचित्र बनाउन थालेका छन् । आफ्नै कथा बोक्न र भन्न सुरु गरेका छन् । व्यावसायिक रूपमा सफल भएकामात्रै होइन, विश्वका विभिन्न मुलुकमा आयोजना गरिएका प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्ड जितेका नेपाली चलचित्रले पनि यस्तै विशेषता बोकेका छन् । चाहे मीनबहादुर भामले निर्देशन गरेको कालो पोथी होस् वा दीपक रौनियारद्धारा निर्देशित सेतो सूर्य होस यीनले नेपालीको नै शिर उठाएका छन । लामो समयपछि नेपाली चलचित्रमा देखिएको सफलताले धेरैलाई उत्साहित बनाएको छ । वर्ष २०१६ मा देखिएको कथा भन्ने शैली, नेपाली क्यानभास अनुसारको चलचित्र निर्माण शैली, स्क्रिप्टमा मेहनत अनि नयाँ दर्शकलाई कायम राख्नसके नेपाली चलचित्रका लागि बजारको अभाव हुने छैन ।