काठमाडौं, १८ पुस-अघिल्ला तीन संस्करणको फाइनलमा मात्रै भिडेका नेपाल र भारतले सिलिगुडीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि पहिलोपटक सोमबार खेल्दैछन् । चिरपरिचित प्रतिद्वन्द्वीहरू कञ्चनजंघा स्टेडियममा दिउँसो सवा २ बजे फाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन् । आइतबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशसँग बराबरी भएपछि भारत समूह उपविजेता बन्दै नेपालसँग भिड्ने पक्का भएको थियो । तीन टिम सहभागी समूह ‘बी’ मा अफगानिस्तानविरुद्ध भारतले ५–१ र बंगलादेशले ६–० को जित हात पारेका थिए ।
भारत र बंगलादेश दुवै टिमको बराबरी ४ अंक छ । तर, गोल अन्तरका आधारमा बंगलादेशले समूह ‘बी’ को विजेता बन्ने मौका पाएको हो । सोमबारै साँझ ७ बजे दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ । यी खेलबाट फाइनल पुग्ने टिमको छिनोफानो हुनेछ । भारत तीनै संस्करणको विजेता टिम हो । तीनै पटक फाइनलमा नेपाल पराजित भएको थियो ।
सागका दुई तथा साफका तीन फाइनलमा नेपाललाई हराएको भारतलाई यसपटक सेमिफाइनलमै रोक्ने रणनीतिमा नेपाली टिम छ । भारतलाई सेमिफाइनलमा रोकेर बंगलादेशलाई फाइनलमा पराजित गर्दै उपाधि हत्याउने दाउमा छ नेपाली टिम । भारतमाथि अहिलेसम्म जित हात पार्न नसकेको नेपालले यसपटक भारतलाई ‘जुनसुकै हालत’ मा रोक्ने रणनीति बनाएको छ । ‘भारतलाई हराउने कुरामा हामी ९० प्रतिशत ढुक्क छौं,’ नेपाली टिम प्रशिक्षक कुमार थापाले भने, ‘भारतको सामना गर्न हामी तयार छौं ।’
प्रशिक्षक थापाले भारतीय टिमलाई गोल गर्न नदिने र ९० मिनेटमा खेल सक्ने दाबी पनि गरे । ‘कम स्कोरले भए पनि भारतलाई पराजित गर्नेछौं,’ उनले भने । थापाका अनुसार भारतसँगको खेलमा टिम फरमेसन थोरै फेरबदल गरिने बताए । तर, कुन–कुन खेलाडीलाई फेरबदल गर्ने भन्नेबारे प्रस्ट बताएनन् । उनले भारतसँगको खेलमा किपर एन्जिला तुम्बापोलाई खेलाइने बताए । असअघि तीनवटा खेलमा तीनैजना किपरलाई थापाले अवसर दिएका थिए । भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।
Previous Articleउपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय
Next Article श्रीकृष्णको बर्थडेमा श्वेताको सहयोग