पोखरा, १५ पुस – उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर बाधा हालिरहेको बताएका छन्। कास्कीको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री शर्माले उज्यालो अभियानविरुद्ध लाग्नेहरुले हरसम्भव कोसिस गरिरहेको बताएका हुन्।
आफू मन्त्री भएदेखि अहिलेसम्म पाँच वटा मुद्दाको सामना गरिरहेको स्मरण गराउँदै उनले यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजेको दाबी गरे। उनले इमान्दारीपूर्वक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गरेका थिए।
उनले भने, ‘काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदिन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न तयार छु।’ मन्त्री शर्माले जलविद्युत आयोजनाबाट प्रभावित जनताका लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताका लागि २० प्रतिशत गरी ३० प्रतिशत सेयर जनताका लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी गराएका थिए।
कांग्रेस सांसद यज्ञ बहादुर थापाले वर्तमान सरकारमा उर्जा मन्त्रालयको काम सबैभन्दा प्रभावकारी देखिएको भन्दै नीजि क्षेत्रको लगानी प्रोत्साहित हुनेगरी काम गर्न सुझाव दिएका छन् । उनले सीसाघाट-सिक्लेस-मादी करिडोर सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
एमाले सांसद एवं विकास समितिका सभापति रविन्द्र अधिकारीले ४ नम्बर प्रदेशमा सञ्चालित जलविद्युत आयोजनाले मुलुकमा ५३ प्रतिशत विद्युत आपूर्ति गरेको भन्दै यस प्रदेशलाई अँध्यारोमुक्त बनाउन माग गरे । उनले पर्यटकीय नगरी पोखरालाई तत्काल लोडसेडिङमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मादी पावर प्रालिका बिजयबाबु मल्लको २० प्रतिशत र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्टि्रक कर्पोरेशनको ८० प्रतिशत लगानी रहेको यस आयोजनाको कुल लागत ७ अर्ब रहेको छ । चार वर्ष लगाएर निर्माण सम्पन्न भएको आयोजनाबाट आजदेखि केन्द्रीय प्रसारण लाईनमा साढे १२ मेगावाट बिद्युत थपिएको छ । आयोजनाबाट असारदेखि कात्तिकसम्म मात्र पूर्ण क्षमता अर्थात २५ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी ८ महिना आधाभन्दा कम मात्र विद्युत उत्पादन हुन्छ ।
उज्यालो नेपाल अभियानमा बाधा हाल्ने धेरै छन्-ऊर्जामन्त्री
Previous Articleसापकोटाको प्राथमिकताः ‘एमाले पहिलो पार्टी’
Next Article संशोधन विधेक पारित नभए मोर्चाले चुनाव गर्न नदिने