काठमाडौँ, १४ पुस – मानव अंग मृगाैलाको ओसारपसारको अभियोगमा तीनजना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा महानगरिय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यकाबाट विकास भन्ने विनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले भारतको विभिन्न सहरमा जागिर लगाइदिन्छु भनेर नेपालका मानिसलाई प्रलोभनमा देखाएर भारत लैजाने र भारत लगेपछि बेहोस बनाइ मानव अंग मृगाैला झिकेर बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् । प्रहरीले आज तीनैजनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
मृगाैला तस्करीमा ५ जनाको संलग्न रहेपनि अमृत गुरुङ र नारायण नेपाली भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको एसएसपी खनालले बताए । उनकाे अनुसार तिमल्सिना र बस्नेतमिलेर ग्राहक खोज्ने गरेको र न्यौपाने र गुरुङले देशको विभिन्न ठाउँबाट जागिर लागाइदिने लोभ देखाएर काठमाडौं ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
‘उनीहरुले ल्याएका व्यक्तिहरुलाई जागिर लगाइदिनु पहिले स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्दै रगत समूह पत्ता लगाउने गरेका थिए,’ खनालले भने । तीनजनाले गोरखा, कास्की लगायतका विभिन्न ठाउँबाट ५ जनाबढीलाई लोभ देखाएर भारत लगेर मृगाैला झिकेको अनुसन्धानबाट देखिएको छ ।
मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ मा ‘प्रचलित कानुन बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने’ व्यवस्था गरिएको छ । यसैगरी ऐनमा शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १ वर्षदेखि २ वर्ष कैद र विदेश लगेको भए २ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुन सक्नेछ उल्लेख छ ।
Previous Articleनेपालसँग सैन्य अभ्यास गर्ने चीनको घोषणा
Next Article सन् २०१६ सर्वोत्कृष्ट वर्ष रह्यो त ?