श्रीप्रसाद शर्मा
बागलुङको शानदार र भव्य आठौं अधिवेशन सम्पन्न गर्दै नवनिर्वाचित जिल्ला अध्यक्ष कमरेड इन्द्रलाल सापकोटालाई मैले नेकपा (एमाले) बागलुङ जिल्ला कमिटीको माइन्यूट हस्तान्तरण गरिरहँदा मेरो मनमा गौरवपूर्ण २ दशक ४ महिनाको मेरो उर्जाशिल जीवनका संघर्षपूर्ण स्वर्णिम दृश्यहरु फटाफट खेल्न थाले । यत्रो लामो समय कति छरितो गरी बितेछ मैले त चालै नपाए जस्तो लाग्यो ।
यस बीचमा नेकपा (एमाले) बागलुङ जिल्लाको ३÷३ पटकसम्म अध्यक्ष र सचिव जस्तो पार्टीको प्रमुख भूमिका र २÷२ पटक सहायक नेतृत्व सहित मलाई भूमिका र साथ दिनुहुने सबै–सबै प्रतिमा आभार प्रकट गर्न चाहन्छु । मलाई अर्काे पार्टीबाट भित्रिएको रुपमा यहाँ कहिल्यै हेरिएन र मैले पनि प्रवेशीको रुपमा कहिल्यै अनुभव गरिन । मेरा लागि एमाले मातृपार्टी जस्तै आमाकै दुध चुसेर हुर्के जस्तो लाग्यो । यहि अवधिमा जनप्रिय नेता गोविन्द अधिकारी र वेदाग र स्पष्ट नेता क. ऋषिराम शर्माप्रति श्रद्धा सुमन व्यक्त गर्नुपर्ने बाध्यता प¥यो । यसै सन्दर्भमा बागलुङका सुपरिचित एवंम एकलव्य नेता रामजीप्रसाद शर्माले दिनु भएको साथ र सहयोगको पनि स्मरण गर्न मन लाग्यो । त्यसो त मलाई साथ र सहयोग दिनुहुने तमाम जुझारु युवा विद्यार्थी अनि विभिन्न तह र तप्काका सबै–सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।
२०५३ भदौ महिनामा म सित नेकपा (एमाले)को वैचारिक आलोकमा जनवादी गायक जीवन शर्मा, लिला राना, झोकेन्द्र थापा, दिपक थापा, ढक पुन, रामप्रसाद शर्मा लगायत अखिल क्रान्तिकारीका पुर्वअध्यक्ष हिमाल शर्मा र एबीसी टिभीका शुभशंकर कंडेल लगायत सयौं कार्यकर्ताहरु संवद्ध भएका थियौं । देशमा ठूलो क्रान्तिकारी परिवर्तनको बहुआयमिक संघर्षका चक्रहरुमा उद्धेलित हुँदै आज विभिन्न ठाउँमा परिएला तर क्रियाशिलता उत्साहपूर्ण छ । अस्ति आठौं जिल्ला अधिवेशनको भव्य समारोहमा प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री कमरेड केपि ओलीले समसामयिक तर ओजपूर्ण मन्तव्य राख्नुभयो । जनवादी गायकको विशिष्ट पहिचान बनाउनु भएका कमरेड जीवन शर्माले त्यही मञ्चमा गाएको ‘मधेशी पहाडी हिमालका हिमाली, सयौँ जाती जनजाती हामी सबै नेपाली’ गित ३÷३ पटक नै दोहो¥याउनु भयो । साह्रै–साहै्र आनन्द आयो । हो हामी फरक–फरक छौं र पनि उस्तै–उस्तै छौं र उस्तै उस्तै छौं र पनि फरक–फरक जस्ता छौं । मलाई यो लाग्दछ की हामी फेरी प¥यो भने अरु–अरु पनि सबै ठाउँमा हुनेछौं । त्यति बेलाको हाम्रो निर्णयको सार थियो ‘देश बदल्नु छ ।’ देशमा ठूलै र आधारभूत परिवर्तन आवश्यक छ । त्यो परिवर्तनका लागि हामी प्रभावकारी ढंगले लाग्नुपर्छ । त्यही परिवर्तनका खातिर सार्थक रुपमा हामी एमाले बन्यौं ।
यो २ दशकको समय भित्र देशले धेरै र प्रभावकारी परिवर्तन प्राप्त गरेको छ । सामन्ती राजतन्त्रको अन्त्य भयो । समावेशिता सहितको गणतान्त्रिक लोकतन्त्र प्राप्त भयो । धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्वको भरिलो आधारभूमी तयार भयो । यसै बीचमा ऐतिहासिक संविधानको घोषणा भयो । कमरेड केपी ओली नेतृत्वको सरकारले देशभक्तिको नेपाली मुटुलाई हिनताबोध र लघुुताभासबाट माथि उठायो । नेपाल र नेपालीको शिर उचो बनायो । सापेक्षिक रुपमा नेपालको गौरव ह्वात्तै बढेको छ । भविष्यको दृष्टिक्षितिज उज्यालो देखिदै छ । तर आन्दोलन जारी छ । क्रान्ति यात्रा चलिरहेछ । यो सामाजिक परिवर्तनको अनन्त र शास्वत नियमलाई द्वन्द्वात्मकतामा राखेर होला शायद सन् १८४८ तिर कार्ल माक्र्सले संसारलाई भने ‘संसारको व्याख्या त धेरै–धेरै विद्धानहरुले गरे तर त्योभन्दा महत्वपूर्ण कुरा हो यसलाई बदल्नु– परिवर्तन गर्नु । हो यहि संसार बदल्ने–फेर्ने–परिवर्तन गर्ने यात्रामा हामी प्रस्तुत छौं ।
हुनतः नेकपा (एमाले)मा आवद्ध हुनुभन्दा ८ वर्ष अगाडी नै म पञ्चायती तानाशाही शासन व्यवस्था विरुद्धको आन्दोलनको मैदानबाट गिरफ्तार भएर झण्डै एक वर्ष भद्रबन्दी गृह त्रिपुरेश्वरमा जेल जीवन बिताएको थिए । आन्दोलनमा हाम फाल्दा आई लाग्ने असजिलो, चोट, हण्डर–ठक्कर र दुःख पिडा अवश्य नै व्यहोरिन्छ तर त्यो आन्दोलनले प्राप्त गर्ने परिणाम सर्वाधिक महत्वको कुरा हो ।
नेपालको राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) एउटा त्यस्तो पार्टी सावित भयो । जसको दृष्टिकोण वैज्ञानिक, वस्तुवादी छ र नेपाली बहुआयमिकताको कसीमा क्रान्तिकारी छ । यो नेपाल राष्ट्र र तमाम नेपाली आधारभूत जनताको जीवन बदल्ने उद्देश्यमा समर्पित छ । यसले आफ्नो विरासतलाई उद्देश्यमुलक ढंगले परिवर्तनका खातिर सोझ्याएको छ । जनतालाई मालिक बनाउने लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा जनविद्रोहको कार्यदिशा अंगालेको यो पार्टीमा संलग्न भएर सडक आन्दोलन, जेल र घाईतेको परिचय पाईरहँदा महशुस गरेका कठिनाईका अनुभवहरुलाई ०६२÷६३ का जनआन्दोलनका उपलब्धी–०७२ मा जारी भएको संविधान केपी ओली सरकारको कालमा भएका गौरवले छाती फुल्ने सकारात्मक कदमले संघर्षका क्षणमा लागेका चोट र पिडालाई बिर्साइदिए । जनता साथमा भए पटका पनि नपड्काई क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने एमालेको जनविद्रोहको कार्यदिशा सहि थियो र छ । क्रान्तिकारिता कुनै सुगा रटाई होइन यो जीवन पद्धती हो भन्छ एमाले । व्यवहारबाटै विचारको कसी लाग्दछ भन्ने एमाले मान्दछ । आज नेपाल मुख्य रुपमा राष्ट्रिय अस्मिता, सार्वभौकिमता, अखण्डता अनि जनताको निहित सार्वभौमसत्ताको रक्षा गर्नेकी लत्त छोड्ने भन्ने पेचिलो रस्सा कस्सीमा छ । देशभक्ति नेकपा एमालेको शरीरमा डिएनएको प्रमाणिकता जस्तै भएर बसेको छ । नेपाली जनतामा मात्र होइन विश्व सामु एमालेको यो गौरवपूर्ण परिचय हो, कोही धावा बेल्न सक्दैन । अर्को नेपाली जनताको जनजीविका र सामाजिक परिवर्तनको भविष्य एमालेकै बाहुबलमा आधारित छ । विचार दृष्टिकोण र भुमिकाले एमाले अब्बल–सबल मात्रै होइन, यसमा खुल्ला आमनेसामने विरोधीलाई टक्कर दिने मात्र होइन विजेता बन्ने सामथ्र्य छ । यी सबै सामथ्र्यका आधार जनता हुन् । जनता बनेमात्र देश बन्छ । अर्थतन्त्र बलियो बन्छ । नेकपा एमाले पनि बलियो बन्छ । बागलृुङमा पनि नेकपा एमालेको आधार मजबुद बनेको छ । अब परिणाम दिने गरि जुट्नु छ । हो यही सत्यलाई आत्मसाथ गर्दै हाम्रो बागलुङ जिल्लामा पनि नेकपा एमालेभित्र आपसी गुट उप–गुट र एउटाले अर्काेलाई निषेध गर्ने होईन सग्लो एमाले अभियानमा जुट्नु पर्दछ । विगतको समिक्षा गर्दै, पाठ सिक्दै अगाडी बढनुपर्छ । पटक–पटकका निर्वाचन भएको हार एउटै कारण हो जनमतलाई बचाएर राख्न नसक्नु । व्यक्ति केन्द्रित गुटले एकले अर्काेलाई निषेध गर्न खोज्नु । विरोधीसंग पटक पटक हारेर पनि चित्त नदुख्ने तर पार्टि भित्रको खुच्चिङबाट तुष्टी लिने मनोरोगबाट मुक्त हौँ, पार्टी र जनताको भविष्य यसैमा छ । शायद अहिलेको निर्वाचनबाटै नेतृत्व आएको भएपनि स्वच्छ, मर्यादित र सौहार्दपुर्ण प्रतिस्पर्धीबाट प्यानल बेगर नै छानियो । यो सुखद सन्देश हो ।
आयोजक कमिटीको नेतृत्वको हिसाबले उद्घाटन सत्रलाई पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओलीलाई ढोरपाटन लगायतका सामथ्र्यवान क्षेत्रको अवलोकन गराउँदै सम्बोधन गराउन पाउनु, बन्द सत्रमा महासचिव इश्वर पोख्रेल, केन्द्रिय सचिव पृथ्वी गुरुङ, स्थायी कमिटी सदस्य एवं ४ नंम्बर प्रदेशका संयोजक किरण गुरुङ, सह–संयोजक गणेश तिमिल्सिना र प्रदेश सचिव जगत विश्वकर्मा लगायत नेता कमरेडहरुको साथमा उद्घाटन सत्रलाई ऐतिहासिक बनाउनु हुने स्थानीय नेतृत्व र प्रतिनिधी कमरेडहरु एवं अधिवेशन सफल पार्न योगदान दिनुहुने सबै सबैप्रति आभार व्यक्त गर्दछु । अधिवेशन सफल बनाउन मलाई रातदिन– चिसो नभनी नेतृत्वको कुनै दम्भ नराखी सहयोग गर्नुहुने आदरणीय कमरेड गोविन्द बहादुर नेपाली र जिल्ला इन्चार्ज कमरेड मनकुमारी केसी लगायत जिल्ला कमिटिका उपाध्यक्ष एवं सांसद नर बहादुर थापा, विष्णु भुसाल, भुपाल चालिसे, गोविन्द गौतम, शिव पौडेल भाईप्रति न्यानो धन्यवाद प्रकट गर्दछु ।