बागलुङ, १० पौष
एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमाल पहाड र तराइ टुक्राउने गरी संसदमा दर्ता गरिएको संविधान शंसोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने बताएका छन् । एमाले बागलुङको आठौं जिल्ला अधिवेसनको उद्घाटन गर्दै ओलीले संशोधन प्रस्ताव संसदको छलफलमा प्रवेश गर्न समेन नदिने दावी गरे । ‘देश बिखण्डन गर्ने प्रस्ताव ल्याउन हुँदैन, हुन दिंदैनौं, कुनै हालतमा पनि हुँदैन’ ओलीले भने, ‘नेपालीको माग नभएकोले यो कसलाइ चाहिएको हो, औचित्य पुष्टी नहुने काम गर्न एमालेले दिंदैन ।’ संसदमा पेश गराउन पाएमा सांसदलाइ खरिद विक्रि गरेर पास गराउने चलखेल हुने उनले आशंका गरे । राष्ट्रियता र अखण्डता बारेमा एमालेले देशभरी राष्ट्रिय जागरण अभियान संचालन गर्ने समेत उनले बताए । पुसको २२ गते देखि देशका विभिन्न स्थानमा जागरण अभियान लिएर जाने एमालेले तयारी गरेको उनको भनाइ छ । संविधान निर्माणमा काँग्रेसले नेतृतव लिने र कार्यान्वयनमा एमालेले नेतृत्व लिने भन्ने सहमति तोडिएपछि संक्रमणकाल लम्बिएको उनले बताए । एक बर्ष भित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यतालाइ टार्न संशोधन प्रस्ताव आएको भन्दै ओलीले चुनावसँग सरोकार नभएका बिषयको संशोधन प्रस्ताव आएको टिप्पणी गरे । ‘यो सरकार नेपालीले बनाएकै हैन, त्यसैले यसले नेपालीको आवाजलाइ सम्बोधन गर्न सक्दैन’ ओलीले भने, ‘लोककल्याणकारी, सामाजिक सुरक्षा दिने र विकास गर्ने एमालेको सरकार बाहेक अरुको हिम्मत छैन ।’ अन्य राजनीतिक दलले अहिले सम्म कुनै विकास निर्माणको काम समेत नगरेको उनले अरोप लगाए । ओलीले देशका सबै विकास आयोजनाहरु आफ्नै पालामा शुरु भएको टिप्पणी पनि गरे । केपी ओली प्रधानमन्त्री हुँदा मात्र सरकार छ क्याहो भन्नेहरु भएको उनले दावी पनि गरे । पछिल्लो समयमा नेपाली राजनीतिमा एमाले मधेस विरोधी भएको भ्रम फैलाएको भन्दै उनले त्यस्ता हल्लामा नलाग्न कार्यकर्तालाइ आग्रह पनि गरे । ‘एमाले मधेस विरोधी हो, केपीले मधेसीलाइ युपी र विहार जाओ भनेको भन्ने आरोप छ’ ओलीले भने, ‘यो कुरा सरासर झुट हो ।’ हुलाकी राजमार्ग निर्माण गर्ने, पूर्व पश्चिम राजमार्गलाइ चौडा बनाउने निर्णय एमालेले गरेको समेत दावी गरे । उनले राजनीतिक रुपमा काँग्रेस इमानमा अडिग हुन नसकेको र माओवादीको फूर्तीले देश चल्न नसक्ने पनि बताए । देशले कोल्टे फेर्ने बेला आएको भन्दै ओलीले विकासको कोल्टेको रुपमा देश विकास गर्न जरुरी भएको बताए । विकासमा पछि पर्दा छिमेकीहरुले हेपेको उनको आरोप थियो । एमाले कार्यकर्तालाइ अधिवेसनमा गुटबन्दी नगर्न आग्रह गरे । उनले निर्वाचनमा गएर प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्नुलाइ राम्रो मानिने तर गुटबन्दीमा लागेमा पार्टी ध्वस्त हुने उनले बताए । केन्द्रमा आँफूले पनि गुटबन्दी नगर्ने भन्दै ओलीले जिल्ला बनाउन सक्ने नेतृत्व चयन गर्न आग्रह गरेका थिए । जिल्लाभरबाट आउने ५ सय ७६ प्रतिनिधि सहभागि हुने अधिवेसनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव सहित बढीमा ६३ सदस्य जिल्ला समिति चयन गर्नेछ । अधिवेसनमा ३६ लाख रुपैयाँ खर्च हुने अािर्थक उपसमितिले अनुमान गरेको छ । अधिवेसनमा पार्टीका केन्द्रिय सचिव पृथ्वी सुब्बा गुरुङ सहितका दर्जनबढी केन्द्रीय नेता पनि आएका थिए । उनीहरुले पनि पार्टीलाइ एक ढिका बनाएर अगाडि बढ्न सक्ने नेतृत्व चयनमा लाग्न कार्यकर्तालाइ आग्रह गरे । जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष नरबहादुर थापाको स्वागत र संगठन विभाग प्रमुख बिष्णु भूषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेसन ४ दिन सम्म चल्ने बताइएको छ । यो अधिवेसनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा, उपाध्यक्ष नरबहादुर थापा, इन्द्रलाल सापकोटा र हिराबहादुर केसीको नाम चर्चामा आएको छ । यस अघि घोषणा गरेका जनक पौडेल, कृष्ण पाठक लगायतले भने पछिल्लो समय दावा गर्न छाडेको कार्यकर्ताले बताए । त्यस्तै उपाध्यक्षमा बिष्णु भूषाल, कृष्ण पाठक लगायतको दावा रहेको पाइएको छ भने सचिवमा लालबहादुर थापा, सूर्य पाठक लगायतको चाम चर्चामा आइरहेको छ । उपसचिवमा सावित्रा राना, धनबहादुर परियार र नेत्रबहादुर बिष्टको चाहना भएको देखिन्छ । अधिवेसनले महिला, दलित लगायतको समावेशी बनाउने क्रममा भने समिति सोचेभन्दा फरक हुन सक्ने बताइएको छ । अधिवेसनमा विभिन्न राजनीतिक दल त्यागेर एमाले प्रवेश गरेकाहरुलाइ ओलीले टिका लगाएर स्वागत समेत गरेका थिए । अधिवेसनको उद्घाटन कार्यक्रमका लागि छिमेकी पर्वत र म्याग्दीका पनि नेता तथा कार्यकर्ताहरु आएका थिए । युवाहरुले शनिवार मोटरसाइकल ¥याली गरेका थिए भने कार्यकर्ताहरुले नाराजुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।
ओलीले गरे ढोरपाटनको भ्रमण
बागलुङ/ एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवारै नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमण गरेका छन् । उनले शिकार आरक्ष, त्यहाँ बन्ने उत्तरगंगा जलविद्युत आयोजनाको क्षेत्र लगायतको भ्रमण गरेका थिए । देश विकासका लागि बागलुङको पर्यटन र अन्य क्षेत्र कस्तो छ भनेर भ्रमण गरेको भन्दै ओलीले एमाले अधिवेसनको उद्घाटन शत्रमै जिल्लाको पर्यटकीय विकासमा केन्द्रीय तहबाट पहल गर्ने बताए । मध्यपहाडी लोकमार्ग निर्माणले खोल्ने विकासको संभावनालाइ जिल्ला बासीले समयमै लिन सक्नुपर्ने पनि उनले बताए । कृषि, पर्यटन र अन्य क्षेत्रमा जिल्लाबासीलाइ विकास गर्न पनि आग्रह गरे । ‘मेहेनत गरेर धनी बन्नका लागि कार्यकर्तालाइ जहिले पनि छुट छ’ ओलीले भने, ‘भ्रष्ट्राचार र कमिसनमा लाग्नेलाई पार्टीमा ठाउँछैन ।’
Previous Article१० पौष २०७३, ढोरपाटन दैनिक
Next Article यस वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन