बागलुङ, ८ पौष – दुई पटक सरेर अन्तिम मिति टुंगो लागेको नेकपा एमालेको ८ औं जिल्ला अधिवेसन शनिवारदेखि बागलुङमा शुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने निश्चित भएपछि आगामी नेतृत्व कसको हातमा पुग्ने भन्ने चर्चा बढी छ । त्यस्तै अध्यक्ष ओली आउँदा कस्तो बोली प्रकट होला भन्ने पनि बजारमा चर्चा परिचर्चा हुन थालेको छ । नेपालको दोश्रो ठूलो दल, पटक पटक सत्ता संहालेको र संगठानिक रुपमा अग्रणी मानिएकोले एमाले अधिवेसनलाइ समकक्षि राजनीतिक दल, बागलुङबासी र संचारकर्मीको समेत चासोको बिषय भएको छ । अधिवेसनका लागि गठित दशवटा उपसमितिले पनि काम अन्तिम चरणमा पु¥याएको आर्थिक उपसमितिका संयोजक भूपाल चालिसेले बताए । संगठन, जनपरिचालन, आर्थिक, प्रचारप्रसार, सास्कृतिक, हल मंच व्यवस्थापन, स्वयंसेवक, अतिथि सत्कार र यातायात उपसमिति गठन भएका थिए । जिल्लाभरबाट आउने ५ सय ७६ प्रतिनिधि सहभागि हुने अधिवेसनमा ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो अधिवेसनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव सहित बढीमा ६३ सदस्य जिल्ला समिति चयन गर्नेछ । एक महिना अघि चर्चामा आएका प्रत्यासीहरु भन्दा अहिले केही फरक अनुहार चर्चामा आएका छन् । वर्तमान अध्यक्ष श्रीप्रसाद शर्माको नाम अहिले बजारमा चर्चामा छ । उनले पुन एकपटक अध्यक्ष हुने चाहना जाहेर गरेमा अधिवेसनको माहोल अर्कै हुन सक्ने कार्यकर्तामा अनुमान छ । ‘मैले अझै डिक्लेयर गरेको छैन’ शर्माले भने, ‘बन्द सत्रमा प्रवेशपछि मेरो उमेदवारीको छिनोफानो हुन्छ ।’ शर्माले सर्वसम्मत पाएमा अध्यक्ष हुने दाउ हेरेको टिप्पणी भैरहेको छ । त्यस्तै वर्तमान उपाध्यक्ष तथा सांसद नरबहादुर पुनले पनि सर्वसम्मत पाएमा उमेदवारी दिने र अध्यक्ष चलाउने चाहना राखेका छन् । प्रचारप्रसारमा भने उनी त्यती लागेका छैनन् । रोलक्रममा सचिव, उपाध्यक्ष हुदै आएकोले उनले त्यसलाइ स्वभाविक भने बताएका छन् । उनी पार्टीभित्र पुराना नेता हुन । यस अघिनै चर्चामा आएका युवा संघमा समेत प्रत्यासी भैसकेका इन्द्रलाल सापकोटा र हिराबहादुर केसीको चर्चा उत्तिकै छ । यस अघि चर्चामा रहेका पूर्व अध्यक्ष जनक पौडेल, कृष्ण पाठक र सूर्य पाठक भने अहिले ओझेलमा छन् । धेरैजसो कार्यकर्तामा अझै इन्द्रलाल र हिराबहादुरको निर्वाचन प्रतिष्पर्धा हुने अनुमान गरिरहेका छन् । यो अधिवेसनमा इन्द्रलाल सापकोटाको चर्चा निकै छ । उनी पनि बलियो र संभावित दावेदार हुन् । पार्टी कार्यालयमा मात्र नभइ उनले विभिन्न स्थानमा बसेर आफ्नो अभियानलाइ तीव्रता दिइरहेका छन् । ‘अधिवेसनको सफलता सँगै नेतृत्वमा सफल हुनेछु’ सापकोटाले भने, ‘विगतका कामको समिक्षा गरेर भावी कार्यदिशा निर्धारण गर्ने अधिवेसनको जिम्मेवारी लिएर पुरा गर्न तयार छु ।’ लोकतान्त्रिक मूल्य मान्यतामा रहेर प्रतिष्पर्धामा जाने भएपनि प्यानल बनाएर एकले अर्कोलाइ समाप्त पार्ने खेलमा नलाग्ने उनले बताए । उनले पार्टीलाइ जीवन्त बनाउनका आफ्नो नेतृत्व आवस्यक परेको दावी समेत गरे । पार्टी भित्रको आर्थिक पक्ष बलियो बनाउने उनको एजेण्डा छ । अर्का उमेदवार हिराबहादुर केसीले आफ्नो उमेदवारी अझै गाढा र नेतृत्व लिने अन्तिम तयारीमा पुगेको टिप्पणी गरे । ‘पार्टीको अधिवेसन जसरी अन्तिम तयारीमा पुगेको छ, मेरो उमेदवारी पनि उत्तिकै सशक्त छ’ केसीले भने, ‘रुपमा अधिवेसन सफल बनाउने हो भने सारतत्व भनेको उमेदवारी मार्फत नेतृत्वमा पुग्ने हो, म दुवै पक्षबाट सशक्त रुपमा लागेको छु ।’साथै उनले सर्वसम्मत नेतृत्व निर्माण हुने र त्यसमा आँफू छनौटमा पर्ने दावी गरे । ‘केन्द्र र स्थानीय नेतृत्व अहिले पनि अधिवेसनलाइ एकताको अधिवेसन बनाउनेमा लागेको छ’ उनले भने, ‘सबैको साथ र सहयोग प्राप्त हुनेछ ।’ एमालेको जिल्ला उपाध्यक्ष पनि भैसकेको कारण यो अधिवेसनमा आफ्नो उमेदवारी प्राकृतिक रुपमा आवस्यक भएको बताउँछन् । ‘जिल्ला सदस्य देखि उपसचिव र उपाध्यक्ष समेत भैसकेकोले म अध्यक्षमा उठ्नु स्वभाविक प्रकृया हो’ केसीले भने, ‘आम युवाहरुको चाहना पनि युवा नेतृत्व आइदिए हुन्थ्यो भन्नेमा एक ढीका भएको छ ।’ युवाको नेतृत्व आँफूले गर्ने उनले दावी समेत गरेका छन् । एक महिना अघि अध्यक्षको दावा गरेका कृष्ण पाठक भने उपाध्यक्षका दावेदारको रुपमा देखिएको अनुमान कार्यकर्ता तहमा बहस शुरु भएको छ । बिष्णु भूषालले पनि उपाध्यक्षको दावा गरेका छन् । अध्यक्षको दावा गरेर उपाध्यक्ष वा सचिवमा चित्त बुझाउनेहरु केही आकांक्षि देखिंदा सचिव र उपसचिव दावा गर्नेहरु पछाडि पर्ने अनुमान पनि छ । सचिवमा लालबहादुर थापा, डा. सूर्य पाठक लगायतको नाम पनि चर्चामा छ । उपसचिवमा सावित्रा राना, रामवहादुर जिसी, धनबहादुर परियार र नेत्रबहादुर बिष्टको चाहना भएको देखिन्छ । लाल वहादुर थापाले सचिव र बिष्टले उपसचिवमा उमेदवारी दिएको सामाजिक संजालबाटै जानकारी दिइसकेका छन् । अधिवेसनले महिला, दलित लगायतको समावेशी बनाउने क्रममा भने सोचेजस्तै उमेदवारहरुले पदीय जिम्मेवारी पाउनेमा शंका रहेको चालिसेले बताए । पार्टीका पोलिटव्युरो सदस्य तथा धौलागिरी इन्चार्ज गणेश तिमिल्सिना अधिवेशनमा नयाँ नेतृत्व निर्माणका लागि विहिवारदेखि बागलुङ आएर नेतृत्व सर्वसम्मत बनाउने अभियान थालेका छन । उनी संस्थापन पक्षका भएकाले उपाध्यक्ष नरवहादुर थापालाई अध्यक्ष बनाएर लैजाने कुरामा पहल हुन सक्ने एमाले वृतमा चर्चा छ ।
Previous Article८ पौष २०७३, ढोरपाटन दैनिक
Next Article नलकटुवा पेस्तोलसहित तीनजना पक्राउ