कृष्ण कँडेल
बुर्तिबाङ, ६ पुस – पश्चिम बागलुङको दुर्गम क्षेत्रका नागरिकले उपचारका लागि अस्पतालसम्म जान हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। बुधबार बुर्तिबाङ–१ दुलेमा ट्रयाक्टरले च्यापेर खुङ्गा–७ की लिलासरी फगामी मगरको दायाँ खुट्टा र टाउकोमा गम्भिर चोट लाग्यो। उनको उपचारका लागि २ लाख ५० हजार रुपैयाँ तिरेर काठमाण्डौबाट हेलिकप्टर ल्याउनुपर्यो।
लोड गरि रोकेर राखिएको ना ३ त ४९३६ नम्बरको ट्रयाक्टर अचानक गुडेर ठक्कर दिँदा उनको खुट्टाको घुँडा भन्दा तलको भाग पुरै भाँचिएको छ। बुर्तिबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचार गरेपछि स्वास्थ्यकर्मीले उनलाई वीर अस्पतालको ट्रमा सेन्टर काठमाण्डौ रेफर गरे।
स्वास्थ्यकर्मीले घाउबाट लगातार रगत बगेको र दुखाई अत्याधिक भएकाले एक घण्टा भित्रै स्तरिय सेवा सहितको अस्पतालमा पुर्याउन नसके उपचार सफल हुन नसक्ने भनेपछि लिलासरीका लागि हेलिकोप्टर चार्टरको विकल्प थिएन।
सडक मार्गबाट बुर्तिबाङदेखि काठमाण्डौ पुग्न ९० किलोमिटर कच्चि सडक हुँदै बागलुङ, त्यहाँबाट ७२ किलोमिटर पोखरा र पोखराबाट २ सय किलोमिटर गरि जम्मा ३ सय ६२ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ।
लिलासरीको लागि मात्र होईन यहाँ घटना दुर्घटना तथा अचानक हुने गम्भीर प्रकृतिको स्वास्थ्य समस्याको उपचाका लागि प्रत्यक वर्ष २५ भन्दा बढि हेटिकोप्टर चार्टर हुने गरेका छन्। गुणस्तरिय उपचारका लागि नजिकमा स्वास्थ्य संस्था नहुँदा एउटा चार्टरको १ लाख ५० हजार देखि ३÷४ लाख रुपैयाँ सम्म तिर्न आफुहरु बाध्य भएको खुङ्गाका दिलबहादुर विकले बताए।
‘बिरामी सिकिस्त भएपछि जीवन बचाउन अस्पताल लैजानु बाहेक अरु कुनै बिकल्प हुँदैन।’ बुर्तिबाङकी महिला अगुवा दुर्गादेवि घर्तीले भनिन्,‘कमजोर आर्थिक अवस्था भएकाहरु पनि लाखौँ ऋण खोजेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन्। उनले महिनामै २ ओटासम्म हेलिकोप्टर चार्टर हुने गरेको बताईन्। बाटो स्तरीय नभएका कारण यहाँबाट सडकमार्ग हुँदै बिरामी लैजान समस्या छ।
Previous Article‘प्रेमीप्रेमिका’ले एउटै डोरीमा झुण्डिएर गरे आत्महत्या
Next Article अधिकांश खेलाडी प्रशिक्षण विना प्रतिस्पर्धामा उत्रिने