बागलुङ, ६ पौष – जिल्लाको नारायणस्थान गाविसस्थित गणेश माध्यमिक विद्यालयद्धारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत धनधान्याचल विराट ज्ञान महायज्ञबाट ३ करोड ३६ लाख ७ सय ३६ हजार ७ सय ६७ रुपैयाँ संकलन भएको छ । गत मंसिर २८ गतेदेखि सञ्चालित महायज्ञ मंगलबार सम्पन्न भएको छ । महायज्ञमा करीव ४ करोड रुपैयाँ उठाउने लक्ष्य राखिए पनि लक्ष्य नजिक पुग्न सफल भएको बिद्यालयका प्रधानाध्यापक चुडामणी सुवेदीले बताए । महायज्ञको समापन अन्टार्टिका पुग्ने पहिलो नेपाली तथा गोरखा दक्षिणबाहुबाट विभूषित नारायणस्थान–४ पुख्यौली घर भई हाल बुटवल, रूपन्देही निवासी भुवनसिं विश्वकर्माको बिशेष उपस्थितिमा गरिएको थियो । अन्तिम दिन सबैभन्दा बढी जिसी परिवारले २५ लाख प्रदान गरेका थिए । नारायणस्थान–४ का गंगाबहादुर जि.सी, डम्बरकुमारी जिसी तथा उनीहरुको परिवारबाट २५ लाख १० रूपैयाँ प्रदान गरेका छन् । यसैगरी, भिमबहादुर जि.सी., कोमल जि.सी., जेनी जि.सी. परिवारबाट १० लाख, नारायणस्थान–५ का धनबहादुर श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, काशीराम श्रेष्ठ र देवी श्रेष्ठको परीवारबाट ७ लाख बराबरको जग्गादान र नारायणस्थान–४ का मेजर पदमबहादुर जिसीको परिवारबाट ६ लाख प्राप्त भएको बिद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र दिगो आर्थिक स्रोत स्थापना गर्ने उद्धेश्यले आयोजित महायज्ञ सफल भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । गणेश माध्यामिक बिद्यालयले सरकारले दिएको ५ जना दरबन्दीका शिक्षकबाहेक अन्य २२ जना निजी स्रोतका शिक्षक राखेर गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ । जसका लागि मात्रै मासिक २ लाख रुपैयाँ आवश्यक पर्ने गरेको छ । तिनै शिक्षकलाई तलब खुवाउन दिगो रुपमा अक्ष्य कोष स्थापना गरि त्यसको ब्याजबाट तलब व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । २०६५ सालदेखि अंग्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयमा हाल ६ सय ९० जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।
यसैबीच, जिल्लाको बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको आठौं दिन मंगलबारसम्म २ करोड ४७ लाख सकंलन भएको छ । महायज्ञमा बिहुंकोट समाज जापानबाट १८ लाख , अष्ट्रेलियाबाट ५ लाख र महायज्ञमा संकलित १ करोड २४ लाख गरी २ करोड ४७ लाख संकलन भैसकेको महायज्ञ आयोजक समितिका केशवप्रसाद कडेंलले बताए । आठौं दिनमा ३५ जना स्थानियले १ लाखभन्दा बढी सहयोग गरि सभानायक बनेका थिए । महायग्यमा तुलादान र धान सकंलन कार्य पनि भैरहेको आयोजकले जनाएका छन् । बिहुँ गाविसस्थित बिहुँकोट अमर क्याम्पसको शैक्षिक तथा भौतिक व्यावस्थापन सुधारका लागि संचालित महायज्ञमा प्रमुख वाचक १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले सगिंतमय प्रवचन गरि रहनु भएको महायज्ञ आयोजक समितिका महासचिव हरि प्रसाद कँडेलले जानकारी दिए ।