काठमाडौँ, ५ पुस – एमाले संसदीय दलले संविधान संशोधन विधेयकसम्बन्धि कार्यसूची संसदमा अघि बढाउन नदिने उल्लेख गर्दै जारी आन्दोलनलाई अझै चर्काउने निर्णय गरेको छ । संशोधन विधेयक संसदमा दर्ता भएदेखि नै एमालेले सदन अवरोध गरिरहेको छ । उक्त अवरोध संशोधनको पक्षबाट सरकार पछि नहटेसम्म जारी रहने एमालेले उल्लेख गरेको छ । संशोधन विधेयकसम्बन्धि बिषय सोमबारबाट संसदको कार्यसूचीमा प्रवेश गरेको छ । एमालेले कार्यसूचीमा नै नल्याउन सत्तापक्षलाई चेतावनी दिइरहेको थियो । संशोधन प्रस्ताव राष्ट्रहित विपरित भएकाले संसदमा छलफलका लागि प्रवेश गराउन समेत अयोग्य भएको जिकिर गर्दै एमालेले कार्यसूचीमै ल्याउन नहुने बताउँदै आएको थियो । तर सत्तापक्षले सोमबारबाट संसदको कार्यसूचीमा विधेयकसम्बन्धि कार्यसूची छिराएपछि एमालले झन् चिढिएको छ ।
संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले आफूहरुको विरोध सही रहेको जिकिर गर्दै विरोधका कार्यक्रमलाई अझै व्यापक बनाउनुपर्ने धारणा राखेका थिए । उनले पछिल्ला राजनीतिक छलफलहरुबारे पनि बैठकमा ब्रिफिङ गर्दै सत्ता पक्ष गलत दिशातर्फ मुलुकलाई लैजाने मनसायले अघि बढिरहेको आरोप लगाए । छलफलमा कहिलेकाँही लचिलो ढंगले अघि बढ्न खोजे जस्तो देखिए पनि उनीहरुको व्यवहार र अभिव्यक्ति पुन: फेरिन थालेको ओलीको भनाइ थियो ।
संविधान संशोधनतर्फ नलागी चुनाव हुने भरपर्दो आधार तयार गरे एमालेले त्यसलाई समर्थन गर्न सक्ने धारणा ओलीले राखेका थिए । प्रदेशको सीमा फेरफेर गर्ने गरी संविधान संशोधन गरेर मात्र चुनावमा जाने भन्ने जिकिर एमालेलाई मान्य नहुने ओलीले बताए ।
चुनाव हुने आधार तयार नगरी संशोधनलाई मात्र जोड दिनुले सत्तापक्षको मनसाय ठीक छैन भन्ने पुष्टी हुने ओलीको कथन थियो । संसद भित्र संख्यात्यमक रुपमा संविधान संशोधनको पक्षमा दुई तिहाई नपुग्ने स्पष्टै भए पनि विपक्षीहरुको गठबन्धनको दायरालाई अझै फराकिलो बनाउदै लैजानुपर्ने बताएका थिए ।
एमाले लगायतको शक्तिको सहमति विना अघि बढ्न नहुने धारणा अन्य केही पार्टीहरुले पनि राखिरहेकाले उनीहरुलाई पनि आफ्नो पक्षमा उभिने गरी माहौल बनाउने गरी अघि बढने संसदीय दलको निष्कर्ष छ ।
विपक्षी गठबन्धनले राजधानीमा विरोध सभा गर्ने
एमालेसहितको विपक्षी गठबन्धनले आउँदो पुस १७ गते राजधानीमा बृहत विरोध सभा गर्ने भएको छ । एमाले संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
‘प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई समर्थन गर्दै त्यसलाई राष्ट्रिय रुप दिन राजधानीमा सभा गर्ने निर्णय गरेका हौ’ एमाले प्रमुख सचेतक भानुक्त ढकालले भने । विपक्षी गठबन्धनको बैठकमा अन्य सबै दलका नेताहरुले सरकारको गलत ढंगले अघि बढ्न खोजेको उल्लेख गर्दै विरोधको स्वरुपलाई अझ कडा बनाउनुपर्ने बताएका थिए । कान्तिपुर
Previous Articleकानुनअनुसार उपत्यकामा ट्याक्सी भाडादर कति ?
Next Article विधान कुल्चदै देउवा, आफ्नैबाट अप्ठेरो