बागलुङ, ४ पौष – सामान्यतया विद्यालय भनेपछि बालबालिका कराएको आवाज आउँछ, दिउसोको खाजा खाने छुट्टी हुँदा होहल्ला भएर हैरानै हुन्छ । तर बागलुङ नगरपालिका ८ को भगवती प्राविमा विद्यार्थी कराएको सुन्न पनि पाइदैन । कक्षा १ देखि ४ सम्म पढाइ हुने यो विद्यालयमा जम्मा ९ जना बालबालिका मात्र पछ्छन् । त्यही पनि कहिले एकदुइ जना आएनन् भने विद्यालय जस्तो अनुभव लिन पनि पाइदैन । कक्षा १ मा चारजना बालबालिका अध्ययनरत छन् । कक्षा २ मा भने प्रतिभा निउरे एक्ली विद्यार्थी हुन् । उनी नआए कक्षा रित्तो हुन्छ भने आएको दिन पनि छुट्टै पढ्ने अवसर उनलाइ छैन । बरु कक्षा ३ र ४ का विद्यार्थी सँगै राखेर पढाउने व्यवस्था छ । कक्षा ३ मा पूर्णिमा केसी र समिक्षा कार्की तथा कक्षा ४ का स्वेच्छा कार्की र सुप्रभा कार्की छन् । बालिका मात्र रहेको यो विद्यालयमा ३ जना शिक्षक छन् । स्थायी दरवन्दीकी शान्तिदेवी शर्मा प्रअ हुन् भने गीतादेवी शर्मा र बिष्णु देवी शर्मा राहत शिक्षक हुन् । सबै बालबालिका एउटै कक्षामा राखेर पढाइ हुने भएपछि प्राय दिनको एक जना मात्र शिक्षक विद्यालयमा आउने गर्छन् । कहिले काँही फुर्सद मनाउनका लागि मात्र तीनैजना शिक्षक उपस्थित हुने गर्छन् । एक घण्टाको पैदल हिडेर बजारका नीजि विद्यालयमा बालबालिका पठाउने चलनले विद्यालयको यस्तो हविगत भएको प्रअ शर्माले बताइन् । ‘विद्यार्थी सबै बजार जान्छन्, अभिभावकले गाउँको विद्यालय भनेर माया गर्नै छाडे’ शर्माले भनिन्, ‘शिक्षकले मात्र चाहेर पनि केही भएन ।’ बालबालिका नभएपछि शिक्षकको पनि जाँगर हराएको उनले बताइन् । शिक्षा नियमाबलीले ४५ जना विद्यार्थी बराबर एक शिक्षकको परिकल्पना गरेको जिल्ला शिक्षाका शाखा अधिकृत खेमप्रसाद आचार्यले बताए । केही स्थानमा भौगोलिक कारणले विद्यालय मर्ज गर्न नसकिएको उनले बताए । ‘दुइ बर्षदेखि शिक्षा समिति बन्न सकेको छैन’ आचार्यले भने, ‘नयाँ नियमावली पनि नआएकोले काम अगाडि बढ्न नसकेको हो ।’ अभिभावकमा पनि आफ्नो विद्यालय बचाउने, गुणस्तर बढाउने र बालबालिकालाइ सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने चेतना ल्याउन नसक्नु शिक्षकको कमजोरी भएको उनले बताए । थोरै विद्यार्थी भएको स्थानबाट विद्यार्थी संख्या बढी भएका स्थानमा शिक्षक दरवन्दी मिलान गर्ने कार्यालयको नीति रहेको आचार्यले जानकारी दिए । समितिको अभावमा त्यो काम पनि रोकिएको हो । नीजि विद्यालय पढाउने निहुँमा भने अभिभावकले बालबालिका लाइ एक घण्टा हिडाएर बजारमा रहेका बोर्डिङमा पढाएका छन् । ती विद्यालयमा तीन जना शिक्षक भएको र विद्यार्थी कम भएको बारेमा भने विद्यालय निरिक्षक, श्रोत व्यक्ति समेतले अहिले सम्म कार्यालयमा रिर्पोट पेश गरेका छैनन् । बागलुङकै गलकोट, बुर्तिवाङ लगायतको क्षेत्रका विद्यालयमा पुग्दा कक्षा कोठामा बस्ने स्थान नपुगेर झ्यालमा समेत बसेर अध्ययन गरिरहेका बालबालिका भेटिन्छ । ती विद्यालयमा भने शिक्षक अभावमा अभिभावकले चन्दा उठाएर नीजि श्रोतका शिक्षक राख्न बाध्य भएका छन् ।