राजेशचन्द्र रा.भ.
अहिले नेपालमा सबैभन्दा बढी चर्चाको बिषय बनेको छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण अहिले प्रत्येक नेपालीको मुख–मुखमा यदि चर्चा छभने अस्ति सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले सार्वजनिक गरेको सम्पत्ति विवरणले बजार तताएको छ । हाम्रो प्रधानमन्त्री प्रचण्डको सम्पत्ति भनेको ३ तोला सुन र श्रीमतीको नाममा जम्मा ३ कठ्ठा जमिन साँच्चिकै गरिब रहेछन् हाम्रो प्रधानमन्त्री दाहाल नेपालमा कसैलाई पनि बिश्वास छैन् जाबो ३ तोला सुन देखाउने ढाँट्नुको पनि हद हुन्छभने त्यति थोरै सम्पत्ति देखाए के गर्न खोजेका हुन कुन्नी । हाम्रो देशको सामान्य सरकारी जागिरे कर्मचारीको शरीरमा मात्र हेरेपनि त्यसको चार गुना सुन भेट्न सकिन्छ ।
गृहमन्त्री बिमलेन्द्र निधि मन्त्री दिपक बोहरालाले देखाएको सम्पत्ति विवरण हेरेर पनि आफ्नो पेश गर्नुपर्ने हो क्यारे । कि त सम्पत्ति विवरण पेश गर्दा कागज फरक प¥या की हैनभने २०७२ सालमा आएको बिनासकारीले भूकम्पले भएको सबै सम्पत्ति बिबरण पुरिएर होकी भन्ने समेत चर्चा चल्न थालेको छ ।
हुन त अहिले बनेको सरकार गरिबको लागि सरकार भएर हो की कि त प्रधानमन्त्री प्रचण्डलाई सल्लाहकारले नराम्ररी झुक्याए सम्पत्ति बिबरण पेश गर्ने सवालमा । १० बर्ष जनयुद्ध लडेको पार्टीका प्रमुख नेपालमा दुई–दुई पटक प्रधानमन्त्री भएको ब्यक्तिसँग मात्रै ३ तोला सुन भनेको सुन्दा कसैलाई पनि बिश्वास लाग्ने कुरै भएन । बरू प्रधानमन्त्री प्रचण्डले सम्पत्ति विवरणमा ३ सय किलो सुन, १ हजार किलो चाँदी, ३ सय रोपनी जमिन, ५० वटा घर नेपाल र बिदेशी बैंक खातामा अर्बौ रूपैयाँ भन्ने सम्पत्ति बिबरण दिएको भएसम्म नेपाली र बिदेशी सबैले बिश्वास मान्ने थिए । हालै मात्र भारतीय जनता पार्टीका पुर्ब मन्त्रीले आफ्नो छोरीको विवाहमा ५ सय करोड भारतीय रूपैयाँ खर्च गरेर पूरा दुनियाँ सामुन्ने चर्चामा आएका थिए । त्यही देशमा एकजना ब्यबसायी उद्योगपतिले आफ्नो छोरीको बिबाहको अबसर पारेर ९० गरिब परिवारलाई घर उपहार दिए । पैसा हुनेले आफ्नो सम्पत्तिको खुल्लम्खुल्ला प्रचार गरिरहेका छन् । तर हाम्रो देशमा भने आफ्नो भएको सम्पत्ति समेत देखाउन लाज मानिरहेका छन् ।
हुनतः सरकार बनेपछि प्रत्येक सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण पेश गर्ने गरेका छन् । त्यो पनि देखावटी मात्र । खै किन हो कसलाई देखाउनको लागि हो सम्पत्ति विवरण नेपाली जनताले बुझ्न सकेका छैनन् । बेकारको नाटक मञ्चन गर्न किन सार्वजनिक गर्नुपर्छ प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पत्ति विवरण अचम्म लाग्दो छ । ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझै भएको छ अहिले प्रचण्ड सरकारले गरेको सम्पत्ति विवरण । नेपाली जनताको समस्या जस्ताको तस्तै छ । महँगीले आकाश छोइसक्यो न त अहिले पेश गरेको सम्पत्ति विवरणबाट नेपाली जनताले राहत पाउने हो न त केही समस्या हल हुने हो, बेकारको बबाल मात्र । अहिलेसम्म देशमा कति सरकार बने कति मन्त्रीले दर्जनौं पटक सम्पत्ति विवरण पेश गरेको उपलब्धी के भयो कसैलाई थाहा छैन ।
प्रधानमन्त्री र मन्त्रीले सरकार बनेपछि पेश गरेको सम्पत्ति सरकार छोडेपछि के कस्तो भयो, कति बढ्यो र कति घट्यो केही जानकारी कसैलाई थाहा छैन । सम्पत्ति विवरण पनि धार्मिक कर्मकाण्ड जस्तो भएको छ । पंचायतकालहुँदै अहिले प्रजातन्त्र, लोकतन्त्र गणतन्त्रसम्म आइपुग्दा पनि केही भिन्नता छैन । अहिले गरिब हुनलाई कसैले राजनीति गरेको हैन । सामान्य आर्थिक अबस्था कमजोर भएको मान्छे राजनीतिमा दुई महिना पनि टिक्न सक्दैन । एउटा सांसद बन्न घटिमा २ करोड रकम सकेर चुनाव जितेर अनि गर्ने के ? जनताको राजनीति कि आफ्नो चुनाबमा भएको खर्च उठाउने अनि के गरेर राजनीति राम्रो हुन्छ । अनि कसरी देशको विकास हुन्छ अनि जनताको स्तरमाथि जाने कुरा भाषण मात्रै हो । राजनीति पनि ब्यापार जस्तो नाफा घाटामा चल्ने बिजनेस बनिसकेपछि अब स्वच्छ राजनीतिको कुरा पनि एकादेशको कथा जस्तो बनिसकेको छ ।
जब राजनीतिको मुल नै धमिलो भएपछि अरू सफा र स्वच्छ खोज्नु पनि बेकार जस्तै भैसक्यो । त्यही संस्कार र सँस्कृतीबाट आएको राजनीति सरकार र त्यहीँ सरकारले दिएको मन्त्री, उसले दिएको सम्पत्ति विवरण कागजी खोस्टा भन्दा अरू केही होइन भन्ने कुरा थाहा हुँदाहँुदै पनि किन नदुखेको टाउको नाम्लो लगाएर दुखाउनु । बेकार छ, न त यो बिबरण सुनेर नेपाली जनताको घरको चुलोमा दाल पाक्छ न भात पाक्छ । बेकार कुरा सार्वजनिक गरेर सरकारले आफ्नो उपलब्धि गरेको बखान गरिरहेको छ । अहिले सबैभन्दा बढी चर्चामा कोही छभने प्रधानमन्त्री प्रचण्ड नै छन् । उनले सम्पत्तिको नाममा सिङ्गो हात्ती लुकाएर खाली पुच्छर मात्रै देखाएको ब्यंग्य समेत भैरहेको छ । गृहमन्त्री निधिले समेत अकुत सम्पत्ति विवरण देखाउँदा देखाउदै बानेश्वरमा भएको एउटा घर नै देखाउन छुटेको भन्ने कुरा पनि बाहिर आएको छ । विश्वकै सबैभन्दा गरिब प्रधानमन्त्री भनेर चर्चामा आएका नेपाली कांग्र्रेसका सुशील कोइरालाको भान्साबाटै खै कुन्नी कति लाख रूपैयाँ हराएको कुराले पनि खुबै चर्चा पाएको थियो । यस्तै केपी ओलीको भान्साबाट महत्वपूर्ण सामान हराएको चियापान र खाजामा मात्रै लाखौं खर्च भएको कुरा समेत सार्वजनिक भएको छ । अहिले सामाजिक सञ्जालदेखि सबैले प्रधानमन्त्री कै सम्पत्ति विवरणले बजार तताउने काम गरेको छ । अहिले बिपक्षीलाई त काइदाको मसला साबित भएको छ । अहिले अख्तियार प्रमुख पनि निलम्बनको अबस्थामा पुगेको छ । भ्रष्टाचार गरि कमाएकै अकुत सम्पत्तिमाथि छानबिन गर्ने निकायलाई बेकामे बनाई भ्रष्टाचारलाई सँस्थागत गर्ने राजनीति दलको रणनीति भने सफल भएको देखिन्छ । हिजो राजधानीमा चप्पल लगाएर छिर्ने एमाले, कांग्रेस माओबादी नेताहरूको सम्पत्ति कहाँबाट कसरी आए भन्ने कुराको हिसाबकिताब गर्ने कसले ? अनि अहिले किन १२ हात उफ्रनु प्रचण्डको सम्पत्ति धेरै छ भनेर । साँच्चै नै पबित्र मनदेखि नेपाल र नेपाली जनताको लागि भनिएको होभने ठिकै छ हैन्भने यसको केही अर्थ छैन । अहिले सरकारको बिरोधदेखि लोकमानसिंह कार्की संविधान संशोधन संसद अबरुद्धदेखि धेरै मसला भएपनि कुनै काम सफल भएको भने देखिएको छैन । अख्तियार प्रमुख लोकमानले प्रचण्ड लगायतका नेताको सम्पत्ति माथि छानबिन गरि कार्बाही गर्ने तयारी गरेको कुरा बाहिर आएपछि लोकमानमाथि महाअभियोग दर्ता गरिएको हो भन्ने राजनीति बृहतमै चर्चा छ ।
अहिले सम्पत्तिमाथि छानबिन गर्ने निकाय मौन भएको बेला सरकारका मन्त्रीले देखाएको सम्पत्ति विवरणको कुनै अर्थ पनि छैन । न त अहिले देखाएको सम्पत्तिमा कुनै कर लाग्ने हो न त कुनै हदबन्दी नै किन डरमान्नु पर्ने । हाम्रो प्रधानमन्त्री प्रचण्ड र उनका मन्त्रीहरू भए भरको सबै सम्पत्ति देखाएर बिश्वकै सबैभन्दा धनी मन्त्री र प्रधानमन्त्री नेपालमा पनि छन् भनेर सारा दुनियाँलाई देखाइ दिएको भए कमसेकम अरूले हामीलाई गरिब भनेर हेप्ने त थिएनन् । हात्तीको देखाउने दाँत र चपाउने दात फरक–फरक भए जस्तै अहिले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीको सम्पत्ति बिबरण उस्तै भएको छ ।