यतिवेला राजनीतिक दल परिवर्तन गरेका कारण कलाकार रेखा थापा चर्चामा छिन । नायिकाहरुको चर्चा जहिले जहाँ पनि हुने गर्छ । सिनेमामा राम्रो रोल भए पनि, नराम्रो भए पनि, गम्भीर रहे पनि, उत्ताउलो परिधान र कला भए पनि अनेक रुपमा नायिकाहरुको चर्चा हुने गर्दछ । चर्चाशून्य अवस्थामा अनेक स्टन्ट प्रयोग गरी र अनावश्यक चर्चाहरु गराई पछि आफैँ खण्डन गराएर चर्चा जीवित राखिन्छ । तर नेपाली कला क्षेत्रका नायिकाहरु राजनीतिमा त्यति जमेका छैनन् । गौरीलाई सिंहदरबारको भूमिकामा सुहाए पनि सिंहदरबारको आसनको भोक उनलाई छैन । पूजा चन्दमा अब बिस्तारो बार्धक्यले छोयो । वसुन्धरा भूसाल हुन् कि लक्ष्मी गिरी राजनीतिप्रति त्यति तानिएको सुनिदैन । दीपाश्रीहरु सिनेमामै व्यस्त छन् । मिथिलाहरु गृहस्थ भए भने सारंगाहरु प्रवाशतर्फ आकर्षित हुन पुगे । भुवन केसी राजनीतिमा आए पनि शिव श्रेष्ठले अझै आफूलाई कतै जोडेका छैनन् । राजेश हमाल र दीपकराज गिरीहरुको त अझै उमेर छ । विपना थापाहरु पनि कता हराए अब इतिहास हुन पुगे । नयाँ शक्तिमा सक्रिय करिश्मा मानन्धरले राजनीतिलाई पछिल्लो चरणको पेसा बनाउने संकेत देखिएको छ । नेपालका थोरै उत्कृष्ट र सफल नायिकाहरु मध्येकी रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीमा र करिश्मा नयाँ शक्तिमा जानुले ती पार्टीहरुलाई बलियो समर्थनको ढोका खोल्ने विश्वास त गरिएको छ, तर हेर्न भने बाँकी छ ।
अहिलेको अवस्थामा चर्चित लोककलाकार कोमल वली र हिजोका दिनमा कला साधक मीरा राणा पनि राजनीतिमा नै छन् । उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएर आफूलाई गौरव भएको अनुभव गरिरहेका छन् । समाज परिवर्तनका लागि कला सफल हुनु पर्छ । नेपाली कलालाई समृद्ध गराएका कलाकारहरु राजनीतिको समृद्धिका लागि यसरी सक्रिय हुनु सकारात्मक र स्वागतयोग्य कुरा हो । हिजोका दिनमा रेखा थापाले माओवादीको तम्बु प्रयोग गरेकी थिइन् । उनले एकजना माओवादी नेतालाई भाइटीका लगाएर आफ्नो माइतीवरण गरेकी थिइन् । माओवादीले करिब सशस्त्र हिंसाकालकै जस्तो आतंक सिर्जना गरी नेपाललाई जातीय राज्यका रुपमा स्थापित गर्न चलाएको अराजक आन्दोलनका समय रेखा थापाको प्रवेश माओवादीमा भएको थियो । सिंहदरबारको ढोकामा धर्नादचस् बस्ता अध्यक्ष पुष्पकमल दाहालसँग जोडी मिलाएर रेखा नाचेको विषयले एकपटक राष्ट्रलाई नै तरंगित तुल्याएको थियो । पुष्पकमल दाहालका विरोधीहरुले त्यो नाचलाई आफ्नो राजनीतिक रामवाण जस्तो गरी अनेक भाषामा व्यंगवाण समेत छरेका थिए ।
कलालाई सम्मान गर्नु राजनीतिको दायित्व हो तर हामी कहाँ सम्मान संस्कृति अझै मौलाएको छैन । नेपाली कांग्रेसमा धेरै कलाकारहरु छन्, एमाले वा अरु दलहरुमा पनि छन् तर ती धेरै सतहमा देखिएका छैनन् । कमसेकम रेखा, कोमल, मीरा वा करिश्माहरुको स्थानका आधारमा पनि राजनीतिले कलालाई सम्मान गर्न सिक्नु पर्छ जसबाट राजनीतिमा हुने विकृतिलाई हटाउन वा घटाउन सकियोस् । राजनीतिमा कलाकारको आकर्षण एकातिर छ भने अर्कातिर दस वर्ष पूरा भए पनि संविधानको विवाद मिल्न सकेको छैन । अर्थात् यो दस वर्षको समयमा खास उमेर समूह पार गरेका कसैले पनि नेपालको र नेपाली जनताको सेवा गर्ने वा आफूलाई संवैधानिक बनाएर असल काम गर्ने अवसर गुमाएका छन् । बनेका अनेक संवैधानिक आयोगहरु छन, ती पनि राजनीतिक चक्रव्यूहभित्र अभिमन्यूजस्ता लाग्छन् । संविधान पूर्ण रुपमा जारी नभएको हुनाले संक्रमणकालीन न्याय व्यवस्था आकाशको फल आँखा तरी मर भनेजस्तो भएको छ । यस्तो अवस्थामा कलाकारहरुको राजनीतिमा प्रवेशले कस्तो रुप लिने यसै भन्न सकिने अवस्था भने छैन । आफ्नो कलामार्फत राजनीतिलाई सुद्ध बनाउने काममा उनीहरु सक्रिय बनुनन् शुभकामना ।
Previous Articleअर्दलीहरुको कलाही नाटक
Next Article २०७३ मंसिर ३० गते बिहीबारको राशिफल