कृष्ण कंडेल
बागलुङ, २९ मंसिर – पश्चिम बागलुङको दुर्गम गाउँमा माध्यमिक तहको कक्षा सञ्चालनका लागि आर्थिक अभाव भएपछि अभिभावकले २१ लाख भन्दा धेरै आर्थिक सहयोग गरेका छन् । चालु शैक्षिक सत्रदेखि मावि तह सुरु गरिएको विद्याविकास माध्यमिक विद्यालय अधिकारीचौरकामा शिक्षकको तलब भत्ता, पुर्वाधार निर्माण र कक्षा व्यवस्थानका लागि अभिभावकले २१ लाख २८ हजार रुपैयाँ सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर रहेका दलित र जनजाती समुदाय मात्र रहेको गाउँको विद्यालयमा शिक्षक दरवन्दी न्युनहुँदा आर्थिक भार रहेकाले चन्दा संकलन गरेर कोष निर्माण गरि मावि तह सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बुढाले बताए । ‘गाउँमा मावि तहको बढाई नहुँदा बच्चाहरुलाई २ घण्टा हिँड्नुपर्ने बाध्यता थियो ।’ अध्यक्ष बुढाले भने, ‘विद्यालय चलाउने अरु कुनै स्रोत भएन, अभिभावकबाटै चन्दा उठाएर मावि चलाएको छौँ ।’ विसं २०१९ सालमा स्थापना भएको विद्यालयमा अधिकारीचौरको वडा नम्बर–४, ५ र ६ का ३ सय १५ जना विद्यार्थीले पढ्दै आएका छन् । दश कक्षासम्म पढ्न दैनिक ४ घण्टा हिँड्नुपर्ने भएकाले वालवालिका पढाई छाडेर घरमै बस्नुपर्ने बध्यता भएपछि चन्दा उठाएर विद्यालय चलाउनुपरेको प्रधानाध्यापक खुमबहादुर अदैले बताए । मावि तह चलाउन ५० भन्दा बढी अभिभावकले न्युनतम ५ हजारदेखि १ लाखसम्म सहयोग गरेका छन् । प्रअ अदै र अधिकारीचौर वडा नम्बर–५ खानीका सुरेन्द्रकुमार वुढा मगरले विद्यालयलाई एक–एक लाख रुपैयाँ सहयोग गरेका छन् । यसरी जुटेको रकमबाट अक्षयकोष बनाएर शैक्षिक गुणस्तर सुधार, तलव भत्ता र पुर्वाधारको काम गर्ने योजना छ । विद्यालयको सेवा क्षेत्रमा आर्थिक अवस्था कमजोर रहेका दलित र जनजाती समुदायको मात्र वसोवास छ । अति नाजुक आर्थिक अवस्था भएका ३८ घरधुरीलाई चाहिँ चन्दा मागिएको छैन । विद्यालयमा एक जना पनि स्थायि शिक्षक छैनन् । प्रावि तहमा ४ अस्थायी र आधारभुत तहमा २ राहत दरबन्दी मात्र छ । मावि तहमा २ जना शिक्षक आन्तरिक आम्दानीबाट तलव लिने गरि नियुक्ति गरिएको छ । आधारभुत तहका शिक्षकले पनि मावि तहमा पनि अतिरिक्त पढाउँछन् । निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन मात्रै बार्षिक ५ लाख ७६ हजार रुपौयाँ आवश्यक पर्छ ।