अमृत बास्कुने
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका भित्रका हिंसा पिडीत महिलाहरुलाई एक दिने मनोपरामर्श तथा उत्प्रेरणा प्रदान गरिएको छ । ग्रामिण भेकमा हुन सक्ने हिंसा र त्यसका कारण तथा प्रकारका बारेमा सहजीकरण गर्ने हेतुले उक्त एक दिने तालिम तथा प्रशिक्षण आयोजना गरिएको थियो ।
गाउँपालिका भित्रका सात वटै वडाका हिंसा पिडीत महिलाहरुलाई सहभागी गराएर मनोपरामर्शका साथै उत्प्रेरणा दिइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुष्पा दवाडीले जानकारी दिनुभयो । ७ वटै वडाहरुबाट सहभागिता रहेको उक्त कार्यक्रममा हिंसाका प्रकार, हिंसा कसरी हुन्छ, हिंसा के लाई मान्ने जस्ता विषयमा सहजीकरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका असइ विक्रम तिवारीले हिंसा र यसका कानुनी उपचार बिधिका बारेमा सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिका भित्रका ३७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले हिंसा के हो र कसरी हुने रहेछ भन्ने बुझेको बताएको पुष्पा दवाडीले जानकारी दिनुभयो । न्यायीक समितिमा पनि उजुरी नपर्ने र अन्यत्र पनि कहि कतै उजुरी नपर्ने तर पनि गाउँघरमा हिंसाका घटनाहरु भएको बुझिएकाले हिंसा के हो भन्ने जानकारी दिनका लागि पनि स्थानीय अगुवा सँग समन्वय गरेर सहभागि जम्मा गरिएको उहाँको भनाइ छ । कार्यक्रममा हिंसा पिडीतहरुको सहभागिता रहेको भए पनि उनीहरु अधिकांशलाई आफू हिंसामा परेको भन्ने सम्म हेक्का नरहेको उहाँको तर्क थियो । उहाँले भन्नुभयो गाउँ घरमा हिंसाका घटनाहरु प्राय भै रहने तर उनीहरुले त्यसलाई सामान्य रुपमा लिने र अन्यत्र कहि कतै उजुरी वा केही जानकारी पनि नगराउने गर्दा पिडीतहरु पिडीत बनि रहने अवस्था रहेको छ ।
Previous Articleबेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन
Next Article बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण गर्न समस्या