सुनदेवी रसाइली
त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा हुने निर्वाचनका लालि तातिएको विद्यार्थी संगठनहरु मध्ये नेकपा एमाले निकट विद्यार्थी संगडन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले मुस्ताङबाट खाता खोलेको छ । हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पस निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको सुचना प्रकाशन गरे सँगै अनेरास्ववियुको खाता खुल्दै निर्वाचन माहौल पनि अगाडी बढेको हो ।
तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को सभापतिमा अनेरास्ववियुका अञ्जु परियार निर्विरोध निर्वाचित हुनुभएको हो । क्याम्पसको स्ववियुको सहसचिवमा धिरज परियार, सदस्यमा अशोक भण्डारी र कमल गुरुङ अनेरास्ववियुबाटै निर्वाचित हुनुभएको छ । त्यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट उपसभापतिमामा सुदिपभर्ति थकाली, सचिवमा उपदेश चौधरी र कोषाध्यक्षमा निशा गौचन र एक जना सदस्य मनिका बिक चयन हुनुभएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको एक जना सदस्य नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजबादी) निकट विद्यार्थीबाट देवराज लामिछाने चयन हुनुभएको तेज निरला जनहित बहुमुखी क्याम्पस मुस्ताङको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक अदित्यचन्द्र थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा संगठन निर्वाचनका लागि दर्ता भएको र सहमतीमै नेतृत्व चयन भएकोले निर्वाचित टिम घोषणा गरिएको हो । नौ सदस्यीय विद्यार्थी युनियनमा चार चार जना अनेरास्ववियु र नेबिसंघबाट र एक जना समाजबादीका विद्यार्थी रहेको समिति बनेको हो ।