राजेशचन्द्र राजभण्डारी
सरकारले नेपाली जनताको स्वास्थ सेवा सस्तो र राम्रो गर्ने नीति बनाएको प्रचार गरेपनि काम भने ठिक उल्टो छ । केही दिनअघि स्वास्थ उपचारको शिलशिलामा नेपालकै पुरानो राजधानीस्थित वीर अस्पतालमा बागलुङको एकजना बहिनीलाई लगेर गएको थिए ।
अहिले पनि नेपालको राम्रो उपचार हुने अस्पतालमध्ये वीर अस्पताल अग्रपंक्तिमा पर्ने गर्छ । त्यही भएर काठमाडौ पुगी उपचारको लागि नाम लेखाउन अहिले पहिलाभन्दा धेरै सजिलो बनाएको रहेछ । जो पहिला पुग्यो टोकन लियो त्यहीँ नम्बरको आधारमा नाम दर्ता गरेपछि डाक्टर सँग सजिलो उपचार गर्न पाउने प्रबन्ध मिलाएको रहेछ । त्यो वातावरण हेर्दा खुशी लागेर आयो । बुधबारको दिन उपचारमा पुगेपछि फिजिसियन डाक्टरले एक्सरे र रगतको जाँच गरि रिपोर्ट देखाउन भोली आउनु भन्ने लेखेर दिनु भयो । त्यही अनुसार अस्पतालमै एक्सरे र रगत परिक्षण गरेको रिपोर्ट बिहिबार १० बजे लिएर पुग्दा आइतबार मात्र आउनु भन्ने जवाफ मिल्यो । किनभने बुधबार चेक गर्ने डाक्टर अब आईतबार मात्र आउनु हुन्छ, त्यही भएर रिपोर्ट देखाउन सोही दिन आउनुस् भन्ने जबाफ पाएपछि बल्ल थाहा भयो सरकारी अस्पतालको उपचार विधि ।
हामी बागलुङदेखि आएका हौ, एउटा रिपोर्ट देखाउन अझै ४ दिन किन बस्ने भनी प्रश्न गर्दा अरू डाक्टरले रिपोर्ट हेर्नु हुन्न आईतबार भन्दा मिल्दैन, यहाको नियम यस्तै छ भनेपछि हामी अस्पतालबाट फर्कियौ । यो त सानो उदाहरण मात्र हो । अहिले नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ मन्त्री छन् । उनले जनतालाई स्वास्थ सेवा सर्बसुलभ रूपमा दिने नारा अगाडि ल्याएका छन् । तर राजधानी भित्रकै अबस्था यस्तो छभने अन्यत्रको अवस्था कस्तो होला सजिलोसँग अनुमान लगाउन सकिन्छ । एउटा रिपोर्ट देखाउन जिल्लाबाट गएको बिरामीले ४ दिनसम्म कुर्नुपर्दा कति पैसा खर्च हुन्छ, आफै अनुमान लगाउनुस् । अनि जनताहरू किन सरकारी अस्पताल जान नचाहेर निजी अस्पताल र क्लिनिक जान्छन । यहीँ कारणले हो भन्ने घामझै छर्लङ्ग छ ।
जसरी नेपाल विद्युत प्राधिकरणमा भएको बिजुली लुकाएर लोडसेडिङ गरि इन्भटर जेनेरेटर बेच्ने गिरोहलाई सघाई रहेको घटना पुष्टि भएको छ । सरकारी अस्पतालको सेवा सुबिधालाई झन्झटिलो बनाई बिरामीलाई निजी अस्पतालमा जाने वातावरण बनाउने गरेको यो पनि एउटा तथ्य हो । स्वास्थ मन्त्री गगन थापाले अबश्य पनि परिवर्तन गर्न ठूलो मेहेनत गरेको देखियो तर अहिलेसम्म जनताले राहत महसुल गर्न पाएका छैनन् । सरकारले जनताको सेवा सुबिधाको लागि स्वास्थ बिमाको कार्यक्रम ल्याएको छ । ५ जनाको परिवारलाई एक बर्षमा ५० हजार बराबरको उपचार सुबिधा दिने नीति बनाएपनि त्यो प्रभाकारी देखिदैन । सरकारी अस्पताललाई असफल बनाउने अनि आफ्नो निजी अस्पताल र क्लिनिक चलाउने राम्रो काइदा हो । एउटा रिपोर्ट देखाउन ४ दिन लाग्छ । काठमाडौमा बस्दा १० हजार खर्च हुन्छ तर निजी अस्पतालमा गएर उपचार गर्दा एक दिनमा काम हुने कारणले पनि अहिले पहिलाको तुलनामा सरकारी अस्पतालमा बिरामी घटदै गएका छन्भने निजी अस्पताल र नर्सिङ होम तथा क्लिनिकमा बिरामीको चाप बढ्दै गएको कुरा स्पष्ट छ ।
स्वास्थ मन्त्री थापाले लोकप्रिय बन्न बिशिष्ट ब्यक्तिलाई बिदेशमा गएर गर्ने उपचार खर्च सरकारी ढुकुटीबाट नदिने भनी चर्को स्वर गरेको समयमा उनले लिएको अडान १ महिना पनि टिक्न सकेन । पन्च डा. तुलसी गिरीको मात्र उपचार खर्च रोक्ने तर कांग्रेस नेतृ सुजाता कोइरालालाई बिदेशमा उपचार गर्न ५० लाख रूपैयाँ दिँदा खाली नाटक मन्चन गरेर तर्कने प्रबृत्तिले गर्दा पनि स्वास्थ सेवा प्रभाकारी हुन नसक्ने स्पष्ट छ । अहिले जसरी नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान सिँह घिसिङले आमुल परिवर्तन गरि राजधानीमा लोडसेडिङ मुक्त बनाएर देखाउन सफल भए । अहिले स्वास्थ सेवामा पनि हामीलाई त्यस्तै कुलमान जस्तो सक्षम मान्छे आबश्यक परेको छ । लोकप्रिय हुनलाई ठूलो काम गर्नु पर्दैन तर भएको सेवा सुबिधा साँच्चिकै जनताले महसुस हुने गरि समन्वय गरे धेरै हुने रहेछ । हामी सरकारमा पुगेपछि ठूलो–ठूलो परिवर्तनको चाहना राखेर हिड्ने गर्दछौं तर सरकारी सेवा सुबिधा खाने तर काम भने निजी अस्पताल र आफ्नो क्लिनिकलाई फाइदा पुग्ने गरि गर्ने र गराउने कारणले पनि सरकारले स्वास्थ क्षेत्रमा गरेको लगानी खेर गैरहेको छ ।
सरकारी अस्पतालमा सेवा राम्रो र प्रभाकारी भएपनि काम गर्ने गलत शैलीको कारणले अस्पतालमा आउने बिरामीले धेरै झन्झट ब्यहोर्न बाध्य छन् । जब उपचारका लागि सरासर अस्पताल पुग्नेहरू पहिला त खुशी हुन्छन् तर जब भित्री रहस्य बुझ्दै जान्छन् उनीहरू बरू पैसा बढी खर्च भएपनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुन्छन् । अहिले स्वास्थ मन्त्री गगन थापा सुजाता प्रकरणपछि चुपचाप छन् । राजधानीको केही अस्पतालमा गएर केही दिन मिडियामा छाउने काम त गरे तर नेपाली जनताले अनुभुती हुने गरि काम गरेको भने महसुस भएको छैन । नेपालमा भएको सरकारी सेवा सुबिधालाई निकम्मा साबित गरेर निजी अस्पताल चलाउने धन्दा गर्ने माफिया हाबी भएको कारणले पनि गरिब जनता बिरामी भए कि त लाखौं रूपैयाँ ऋण लिएर औषधि मुलो गर्ने नत्र भने त्यसै मर्ने भन्दा अर्को बिकल्प छैन । त्यही भएर डाक्टर गोबिन्द केसीले पटकपटक अनसन बस्ने गरेका हुन् । साँच्चिकै जनताले स्वास्थ सेवा सर्ब सुलभ जनताको पहुँचमा पु¥याउने हो भने हाम्रो स्वास्थ मन्त्री गगन थापाले अहिले देखिएको बिकृतिलाई रोक्न जरुरी देखिन्छ । कुरा लोकतन्त्र गणतन्त्रको गर्ने तर काम भने उहीँ माफियालाई फाइदा पुग्ने गरि गर्ने कारण सबैभन्दा खतरनाक छ । तलब भत्ता र सेवा सुबिधा सरकारको खाने काम भने निजी अस्पताल र क्लिनिक नर्सिङ होमलाई फाइदा पुग्ने गरि जुन गतिविधि अहिलेसम्म चल्दै आएको छ । यस्तो कामलाई रोक्न सक्यो भने स्वास्थ मन्त्री थापा सफल हुन्छन् ।
स्वास्थ मन्त्री थापाले सरकारी अस्पतालमा केही सुधार त गरेर देखाए अझै जनताले राहत पाउने सेवा सुबिधालाई प्रयोग गर्न सक्ने राम्रो बाताबरण बनाउन जरुरी छ । सरकारी अस्पतालमा सस्तो र राम्रो उपचार पाउन महिनौ दिन धाउनुपर्ने, अप्रेसन गर्न परे तारिख अदालतको भन्दापनि राम्रो उपचार होला भनी आशा गरेका बिरामी कि त अकालमै मर्छ नत्र भने प्राइभेट अस्पतालमा जानुपर्ने बाध्यता छ । नेपाली जनता किन सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा गै रहेका छन् । यसबारे एकपटक चिन्तन गर्न जरुरी छ । जनतासँग पैसा धेरै भएर हैन कि उपचार छिटो छरिटो हुने भएर हो भन्ने कुरा स्वास्थ मन्त्री थापालाई पनि अबश्य हेक्का हुनुपर्छ । गाउँदेखि जिल्लासम्म सस्तो राम्रो उपचार हुन्छ भनी राजधानी आउने नेपाली जनताले सामान्य एउटा रिपोर्ट देखाउन ४ दिन पर्खनु परेपछि के हालत हुन्छ । आफै बिचार गरौं ।
ग्रामीण क्षेत्रदेखि जिल्लाहुँदै अञ्चल अस्पतालमा दरबन्दी अनुसारका डाक्टर बस्दैनन् । भएका अस्पताल रिफर सेन्टर भएको छ । सामान्य रोग लागि हालेपछि कि त पोखरा हैन भने काठमाडौ जानुपर्ने बाध्यता छ । अब नीति हैन नराम्रो नियतलाई सुधार गर्न सके राजधानी झलमल भएझै स्वास्थ क्षेत्रमा पनि परिवर्तन गर्न सकिन्छ । यसबारे चिन्तन गरि एउटा नतिजा निकालौ । यत्ति गरे पुग्नेछ स्वास्थ मन्त्री गगन थापा तपाईंले ।