अमृत बास्कुने
हिमाली जिल्ला म्याग्दीमा उत्पादीत विसादी रहित अर्गानिक बस्तुलाई विश्वभर फैलाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ(मोना)को अगुवाइमा मोना म्याग्दी डेभलपमेन्ट कम्पनी दर्ता गरेर काम शुरु भएको छ ।
मुख्य रुपमा म्याग्दीमा उत्पादीत आर्गनिक खाद्यान्नलाई नेपालका विभिन्न शहरहरुका लोकल मार्ट र विश्वभरका बजारमा आवश्यक प्रकृया पुरा गरेर बिक्री गर्ने गरी उक्त कम्पनि दर्ता भएको सञ्चालक विक्रम कार्कीको भनाई छ । म्याग्दीमा उत्पादन हुने अर्गानिक उत्पादनलाई सदरमुकाम बेनीमा सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी बिक्री गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा गठन भएको कम्पनीमा पहिलो चरणमा मोना आइइसीका अध्यक्ष ददीवल खड्का, संस्थापक महासचिव शिवकुमार बरुवाल, मोना जापानका सल्लाहकार राम खड्का, मोना कतारका संरक्षक बिक्रम कार्की सञ्चालक रहेको कम्पनि दर्ता भएको हो । शुरुमा पाँच जनाको नामबाट कम्पनि दर्ता भएतापनि यो कम्पनीमा विश्वभर रहेका म्याग्देलीले लगानी गर्ने सुविधा पाउने र मोना ब्रान्डबाट उत्पादन गरिएका बस्तुहरू विश्वबजारमा पु¥याउने मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले बताउनुभएको छ ।
मोना आइइसीका अध्यक्ष ददिवल खड्काका अनुसार शुरुमा पाँच जना सञ्चालकहरुले कुल एक करोड ५० लाख रुपियाँ चुक्ता पुँजी भएको कम्पनि दर्ता गरीएको छ । गत असोज २१ गते कम्पनि राष्टिार कार्यालयमा कम्पनि दर्ता गरेर अन्य प्राविधिक पाटाहरुमा काम भै रहेको उहाँको भनाई छ । अहिले हामीले कम्पनिलाइ कसरी विश्वव्यापी बनाउने र सामग्री संकलन कुन तौर तरिकाबाट गर्ने भन्नेमा केन्द्रीत भएर अगाडी बढी रहेका छौं–खड्काले भन्नुभयो ।
सञ्चालक कार्कीका अनुसार अबको केही दिनमा कम्पनीका अध्यक्ष प्रकाश पुन सहितको टोली म्याग्दीमै आएर कम्पनीमार्फत गर्ने कामहरूका बारेमा जानकारी गराएपछि थप योजनाहरू बनाएर अगाडी बढ्ने तयारी छ । २०८१ भित्रै तयारी पुरा गरेर नेपालीहरुको नयाँ बर्ष २०८२ सालदेखि कम्पनीका उत्पादनहरू बजारमा लैजाने गरी तयारी थालेको समेत उहाँको भनाई छ । त्यस्तै मुख्य रुपमा ‘मेड इन म्याग्दी’का उत्पादनहरू मोनाको नामबाट संसारभरी पु¥याउने नै मुख्य र एक मात्रै लक्ष्य लिएर काम थालिएको हो ।
रोजगारी वा अन्य शिलशिलामा विश्वभर छरिएर रहेका म्याग्देलीहरुको संस्था हो म्याग्दी प्रवासी नेपाली संघ(मोना) । यही संस्थाको अगुवाइमा मोना म्याग्दी डेभलपमेन्ट कम्पनी दर्ता गरेर आफ्नो जन्मभूमीको जमिनमा उत्पादन भएका बस्तुलाई कर्मभूमीमा पु¥याउन कम्पनीको स्थापना गरेको मोनाका अध्यक्ष ददिवल खड्काको भनाई छ ।
यसमा प्रारम्भीक चरणमा केही साथीहरूको सक्रियतामा कम्पनी स्थापना भएपनि प्रवासमा रहेका म्याग्देलीहरू सबैलाई आवद्ध गरी म्याग्दीमा उत्पादन गर्न सकिने बस्तुको उत्पादनमा समेत लगानीमैत्री वातावरण बनाउने रहेको छ । कर्मभूमीमा रहेका म्याग्देली सहित नेपालीको भान्सामा बिहान–बेलुकी थरीथरीका अर्गानिक उत्पादन पु¥याउने प्रमुख लक्ष्य हो । हामीले अर्गानिक बस्तुको प्रयोग गरी म्याग्दीका कृषकलाई समेत सघाउन चाहन्छौ ।
मोनाको अगुवाइमा शुरु भएको कम्पनिले म्याग्दीका अर्गानिक खेतीमा सक्रिय, जडिबुटी संकलनकर्ताहरु सँग संकलन गर्ने जनाएको छ । स्थानीयको मेहनतमा उत्पादीत सामग्री नै कम्पनि मार्फत बिक्री बितरण हुने र उत्पादकहरुकै पनि लगानी कम्पनिमा थप्ने योजना रहेको मोनाले जनाएको छ । मोना म्याग्दी डेभलपमेन्ट कम्पनि मोटो सुहाउँदो उत्पादनलाई प्राथमिकता दिएर बाँझो रहेका तथा खेती भै रहेको जग्गाको उपयोग गर्दै अर्गानिक खेती प्रणालीलाई प्राथमिकता दिने मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनको भनाई छ । नेपालमा सामान्यतया किसानको मेहनतमा बिचौलियाहरुले धेरै फाइदा लिने गरेको हुनाले अब कम्पनि मार्फत कृषकले सिधै प्रतिफल पाउने गरी योजना तयार गर्ने छ । किसानको घरदैलोमा पुगेरै उत्पादन संकलन गरी कम्पनीमार्फत बजारसम्म लैजान स्थानीय तह, उद्योग बाणिज्य संघ तथा वडामा रहेका जनप्रतिनिधिसँग समेत समन्वय गर्ने उहाँको भनाई छ ।
मोना म्याग्दी डेभलपमेन्ट कम्पनिले पहिलो चरणमा स्थानीय तहका प्रमुख, वडा अध्यक्ष सहित सरोकारवाला निकायसँग समन्वय गरेर कुन वडामा के उत्पादन हुन्छ ? यसका बारेमा किसानसँग जोडिन समन्वयकारी भूमिकामा सघाउन अनुरोध गर्ने कम्पनिका सञ्चालक शिव बरुवालको भनाई छ । किसानले नै उचित मुल्य पाउन भन्ने हेतुले पहिलो चरणमा जानकारी सहित उत्पादनको पहिचान, दोस्रो चरणमा खरिद र किसानलाई आवश्यकता अनुसार सहयोग गरेर उत्पादन बढाउन पनि प्रोत्साहन गर्ने योजना रहेको छ ।
मोना म्याग्दी डेभलपमेन्ट कम्पनिले प्रारम्भीक चरणको छलफलमा उत्पादनको सहज आपूर्ती तथा बिक्रीमा सघाउने तथा उत्पादन सँग जोडिएका किसानलाई आवश्यक परेको अवस्थामा कम्पनीले ने बिना ब्याज र सहुलियतको कर्जा उपलब्ध गराएर उत्पादनमा प्रोत्साहन गर्ने सोच समेत बनाएको मोनाका अध्यक्ष खड्काको भनाई छ । नेपाली समाजमा धेरै जसोले लगानीको अभावकै कारण अर्गानिक बस्तुको उत्पादन गर्न छाड्ने र उत्पादनै हराउँदै जाने अवस्था समेत हुने गरेकोले त्यस्तो समस्या हटाउदै उत्पादन बढाएर विश्व बजारमा पठाउने योजना रहेको उहाँले बताउनुभयो ।
मोना म्याग्दी डेभलपमेन्ट कम्पनीले टिमुर, भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत, मकै, च्याउ, पिठो (फापर, जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो लगायत अर्गानिक बस्तुहरूलाई नै विक्री गर्ने योजना बनाएको छ । मुख्य रुपमा अर्गानिक सामानका पारखीहरूको माग अनुसारको उत्पादन खोज्ने र बढाउने एवम् अर्गानिक बस्तुसँगै हस्तकलाका सामाग्रीहरूको बजारीकरण पनि मोनाको उद्देश्य रहेको छ ।
मोना म्याग्दी डेभलपमेन्ट कम्पनीमा विश्वभर रहेका म्याग्देलीलाई आवद्ध गरेर उनीहरु मार्फत नै विश्वभर पु¥याउने पहिलो लक्ष्य रहेको छ । उक्त माधयमबाट पहिलो चरणमा म्याग्देलीले सञ्चालन गरेको होटल, रेष्टुरेन्ट, मार्ट सहितका खाद्यान्न पसलहरूमा उत्पादन पु¥याउने बताइएको छ । हाल म्याग्दी प्रवासी नेपाली संघ(मोना)को सञ्जाल विश्वका ३२ देशमा राष्ट्रिय समितिका म्याग्देलीहरू मार्फत उत्पादनको बजारीकरण गर्ने खड्काको भनाई छ । विश्वबजारमा म्याग्दीको टिमुर सहित अन्य जडिबुटीहरू अहिले पनि पुगिरहेको अवस्थामा अब थप फैलाउन सजिलो र लिगल माध्यमका लागि पनि यो प्रयासले काम गर्ने छ । विदेशबाट विदामा नेपाल आएको समयमा म्याग्देलीले कोशेलीको रुपमा समेत प्रशोधन केन्द्रबाटै खरिद गर्ने सुविधा समेत दिने गरी कम्पनीले तयारी गर्ने सञ्चालक कार्कीको भनाई छ ।
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न मोना अन्तराष्ट्रियको नबौं बार्षिक साधारणसभाबाटै अर्गानिक उत्पादनका लागि कम्पनी खोल्ने निर्णय अनुसार नै कम्पनी दर्ता गरेर प्रकृयामा अगाडी बढेको हो । हाल सञ्चालनमा ल्याउन लागिएको कम्पनीले मोनालाई आम्दानीबाट २ प्रतिशत मुनाफा दिने गरी कम्पनीले काम थाल्ने छ । त्यस्तै कम्पनीमा मोनाका सदस्यहरू नै आवद्ध हुने भएकाले मोनाको उत्पादन प्रयोग गर्ने, बिक्री गरी आर्जन गरेको मुनाफाबाट मोनालाई नै सहयोग गर्ने नीति अवलम्बन गरेरै संस्थ अगाडी बढ्ने कार्कीले जानकारी दिनुभयो ।