सुनदेवी रसाइली
हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार क्षेत्र जिल्ला प्रशासनको अगुवाइमा अनुगमन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीको नेतृत्वमा भएको अनुगमनमा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
प्रशासनको अगुवाइमा भएको बजार अनुगमनमा घरपझोङ गाउँपालिका, पर्यटन तथा उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतको सहभागिता रहेको थियो । अनुगमनको क्रममा दर्ता नगरी सञ्चालन भएका केही पसलहरु भेटीएको र त्यसलाई एक महिना भित्र आवश्यक प्रकृया पुरा गरेर दर्ता गर्न निर्देशन दिएको सहायक प्रजिअ सुवेदीले जानकारी दिनुभयो । अनुगमनको क्रममा अन्तशुल्क दर्ता नविकरण, उद्योग व्यवसाय दर्ता नविकरण, सामानको म्यादको अवस्था एवम् मुल्यसूची निरीक्षण गरिएको थियो । सबै पसलहरुमा मूल्यसूचि टाँस गर्न निर्देशन दिनुका साथै सामग्रीहरुको उपभोग्य मिति प्रष्ट भएका सामानहरु मात्रै राख्न निर्देशन गरिएको थियो ।