सुनदेवी रसाइली
राष्ट्रिय रुपमै महत्वपूर्ण मानिएको उत्तर दक्षिण जोड्ने छोटो मार्गको रुपमा रहेको कालिगण्डकी करिडोर सडक आयोजनाको लागि अर्थ मन्त्रालयले थप बजेट शुनिश्चित भएको एमाले मुस्ताङले दावी गरेको छ ।
एमाले मुस्ताङका उपसचिव सम्राट गौचनका अनुसार अर्थमन्त्रालयले कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि थप बजेटको शुनिश्चिता गरेको हो । गौचनले भन्नुभयोमन्त्रालयले ४९ करोड ५१ लाख रुपियाँ थप बजेट श्रोत सहमति गरी शुनिश्चिता गरेको हो । मन्त्रालयले बहुवर्षीय श्रोत सहमति प्रदान गरिएको पत्र प्राप्त भएको गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी देखि छुसाङ ९,८ सडक खण्डका लागि ४९ करोड ५१ लाख सहमति माग गरीएको र चालु आर्थिक वर्षमा बिनियोजित रकम ८९ करोड ९० लाख ४० हजार रहेको जानकारी दिनुभयो ।

कालिगण्डकी करिडोर सडक आयोजनाको कागबेनी देखि छुसाङ सडक खण्डका लागि श्रोत सहमति भए संगै चालु वर्ष देखि नै सडक स्तरोन्नतीको कामले तिब्रता पाउनेमा मुस्ताङका बासिन्दाहरु हर्षित रहेको उहाँको तर्क छ । गएको कार्तिक २५ गते अर्थमन्त्री बिष्णु पौडेललाइ एमाले मुस्ताङको नेतृत्वले मागपत्र पेश गरेको थियो । प्रतिनिधिसभा सदस्य देवीप्रसाद भट्टचन लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनोर्वु गुरुङ एमाले मुस्ताङका उपसचिव सम्राट गौचन र एमाले मुस्ताङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष धनमायाँ रन्तेलाले माग पत्र पेश गर्नु भएको थियो । उहाँहरुले पेश गरेको मागपत्रमा कागबेनीबाट कोरला नाका सम्म (बजार क्षेत्रमा) कालोपत्रे गर्नका लागि यथाशक्य आवश्यक बजेट बिनियोजन गरी निकासाका लागि पहल गर्न माग गरिएको थियो ।

त्यस्तै कोरला नाकामा आवश्यक भौतिक संरचनाहरु (भन्सार कार्यालय सुरक्षाकर्मी निवास कर्मचारी निवास आदी) निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरिदिनुहुनका लागि माग गरिएको थियो । त्यसैगरी मुस्ताङका नागरिकहरुलाइ सहजरुपमा सिमापार ब्यापार गर्न बिगतमा जस्तै बिशेष सहुलियतकासाथै प्रवेश पास दिन तथा नेपाली उत्पादनका बिभिन्न वस्तुहरुको तिब्बतमा सहज रुपमा ब्यापार गर्न पाइने व्यवस्था मिलाइदिन आवश्यक प्रक्रिया अगाडी बढाइदिन समेत माग गरिएको थियो । साथै नेपाली सामान चीन निर्यातका लागि कोरला सिमा नाकामा क्वारेन्टाइन चेक पोष्टको व्यवस्था गरिदिनका लागि समेत माग गरिएको थियो ।
कालीगण्डकी करिडोर सडक आयोजना २०७३ देखि शुरु भएर पनि लामो समय सम्म कालोपत्रे हुन नसकेके र अन्य बिबिध विषयमा आफ्ना माग सम्बोधन गर्न दवाव सहित एमाले मुस्ताङले माग गरेकोमा यही पुस २८ गते अर्थ मन्त्रालयका शाखा अधिकृत बिष्णुहरि रेग्मीद्वारा हस्ताक्षरीत पत्रले आफूहरुलाइ उत्साहीत बनाएको एमाले मुस्ताङका सहसचिव सम्राट गौचनले जानकारी दिनुभयो ।