म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको स्कुल विभागको आयोजना तथा पालिका कमिटीको समन्वयमा जिल्लाका तीन वटा स्थानीय तहमा प्रशिक्षण शुरु भएको छ । शुक्रबार आरम्भ भएको प्रशिक्षण शनिबार सम्म चल्ने नेकपा एमाले म्याग्दीले जनाएको छ । बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा शुक्रबार देखि प्रशिक्षण शुरु गरिएको हो । अन्य तीन वटा स्थानीयतहमा अर्को हप्ता प्रशिक्षण आयोजना गरिने पनि एमाले म्याग्दीले जनाएको छ ।
सदरमुकाम बेनी बजारमा शुरु भएको बेनी नगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रमको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गर्नुभएको थियो । मालिका गाउँपालिकामा आयोजित प्रशिक्षणको नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य भूपेन्द्रबहादुर थापा र धवलागिरी गाउँपालिकामा आयोजित प्रशिक्षणको केन्द्रीय सदस्य नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।
बेनीमा शुरु भएको उक्त प्रशिक्षणमा एमाले गण्डकी प्रदेश कमिटीकाा अध्यक्ष शर्माले नेपालको संविधानको विशेषता र यसमा पार्टीको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो । नेकपा एमालेले संविधान निर्माणमा खेलेको भूमिका अवगत गराउँदै विभिन्न ३० भन्दा बढी दलको सहभागितामा निर्माण भएको संविधानमा जनताका आधारभूत कुराहरुलाई नै लिपिबद्ध गरिएको बताउनुभएको थियो । त्यस्तै नेकपा एमालेको मार्गदर्शक सिद्धान्त, माक्र्सवाद लेनिनबाद र जनताको बहुदलिय जनबादकोको विषयमा टिएन शर्मा, स्थानीय तहका पार्टि काममा समस्या र समाधान विषयमा बालकृष्ण सुवेदीले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै एमाले म्याग्दीका कार्यालय सचिव हरिकृष्ण सुवेदीले पार्टी कार्यकर्ताले अपनाउनु पर्ने जीवनशैली तथा अनुशासन विषयमा सहजीकरण गर्नुभएको नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
बेनी नगरपालिका स्तरीय कार्यक्रममा लेनिनबादी संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन तथा पार्टी र जनप्रतिनिधि बीचको अन्तरसम्बन्ध विषयमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, पालिकाको समग्र विकासमा नेकपा एमालेको भूमिका विषयमा नेकपा एमालेका पूर्व सचिव सुरत केसी, महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमका विषयमा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, नेपालको राजनीतिक दलहरुको तुलनात्मक अध्ययन विषयमा गण्डकी प्रदेश सदस्य खुम बानियाँले सहजीकरण गर्नु हुनेछ ।
त्यस्तै धवलागिरी गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, नरदेवी पुन, नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, गण्डकी प्रदेश सदस्य सिर्जना केसीले सहजीकरण गरि रहनुभएको एमाले धवलागिरी गाउँ कमिटीका अध्यक्ष प्रगति कार्कीले जानकारी दिनुभयो ।
मालिका गाउँपालिका कमिटीको दरवाङमा आयोजित प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा पार्टि काममा समस्या र समाधान विषयमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै मार्गदर्शक सिद्धान्त, माक्र्सवाद लेनिनबाद र जबज विषयमा केन्द्रीय सदस्य भुपेन्द्र थापा, नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा मालिका गाउँपालिकाका निर्वाचित अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । त्यसैगरी पालिकाको समग्र विकासमा नेकपा एमालेको भूमिका विषयमा प्रदेश कमिटी सदस्य खरमायाँ बिटालुले सहजीकरण गर्नुहुने छ ।