काठमाडौं, २५ मंसिर – संविधान संशोधन प्रस्तावको स्वामित्व लिन अस्वीकार गर्दै आएको मधेसी मोर्चाले अब नरम नीति लिने भएको छ । शनिबार बिजुलीबजार स्थित तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बैठक गर्दै मोर्चा नेताहरूले आफूहरू संशोधन प्रस्ताव विरोधी भएको भनी बाहिर प्रचार भएकाले प्रस्ट पार्न आवश्यक परेको बताएका छन् ।
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव परिमार्जन हुन सक्ने भनी दिएको अभिव्यक्तिलाई समर्थनसमेत गरेका छन् । ‘प्रस्ताव आपसी छलफल र सहमतिका आधारमा परिमार्जन गरिए संशोधन प्रस्तावको पक्षमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी वक्तव्यमा उल्लेख छ, ‘कुनै पनि प्रस्तावलाई संसद्मा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान हो । यस्ता अलोकतान्त्रिक र निन्दनीय कार्य तत्काल रोक्नुपर्ने मोर्चाले ठहर गरेको छ ।’
बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले प्रमुख प्रतिपक्षी एमालेले संशोधन प्रस्तावलाई मोर्चाले समेत स्वामित्व नलिएको भन्दै प्रचार गरिरहेकाले त्यसलाई चिर्ने निर्णय गरिएको बताए । मोर्चा संशोधन प्रस्तावको विरोधी नभएको भन्दै उनले परिमार्जनको आवश्यकता औंल्याइएको टिप्पणी गरे ।
‘एमालेले संसद्मा संशोधन प्रस्ताव लैजान नदिएर संसदीय लोकतन्त्रविरोधी काम गरेको छ भन्ने हाम्रो निर्णय रह्यो,’ उनले भने, ‘प्रस्तावले राष्ट्रघात गर्छ भन्ने उग्र नारा दिएर साम्प्रदायिक विभाजन तथा दक्षिणपन्थी कित्तामा एमाले उभिएको बैठकले ठहर गरेको छ ।’
प्रधानमन्त्री दाहालले प्रस्ताव फिर्ता नहुने, बरु परिमार्जन गर्न आफू तयार रहेको भनी दिएको अभिव्यक्तिलाई मोर्चा बैठकले सकारात्मक रूपमा लिएको छ । आपसी छलफल र सहमतिबाट प्रस्ताव परिमार्जन भए सघाउने निर्णय गरेको रामसपा महासचिव केशव झाले बताए । ‘हामी प्रस्तावको विरोधमा छौं भन्ने सन्देश बाहिर गएछ, तर परिमार्जन हुनुपर्छ । परिमार्जन गर्नेबारे प्रधानमन्त्रीको प्रतिबद्धता आउनु सकारात्मक हो भन्ने बैठकले ठहर गरेको छ,’ झाले भने ।
मोर्चालाई देखाएर प्रस्ताव अघि बढाउन ढिलाइ गरे अर्को बैठक बसी निर्णय लिने ठहर भएको पनि उनले बताए । प्रस्तावमा सामान्य फेरबदल गरिए मोर्चा संसदीय छलफलमा आउन तयार देखिएको छ ।
एमालेप्रति कडा
बैठकको अधिकांश समय प्रतिपक्षी एमाले नेताहरूले दिएको अभिव्यक्ति र पछिल्ला घटनाक्रममाथि केन्द्रित भएको थियो । प्रदेश नम्बर पाँचमा चलेको आन्दोलन संघीयताविरोधी भएको मोर्चाले ठहर गरेको छ ।
‘अहिलेको संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै एमालेले देशमा गरेको आन्दोलन अतिवादी, विखण्डनवादी र उग्रवादी भएको मोर्चाले ठहर गरेको छ, तसर्थ राष्ट्रिय एकतालाई खलल पार्ने कुनै पनि गतिविधि नगर्न मोर्चा एमालेलाई आग्रह गर्छ,’ वक्तव्यमा भनिएको छ । थरुहटमा अधिकार प्राप्तिका लागि आन्दोलन चलिरहेको भन्दै मोर्चाले त्यसलाई समर्थन गर्ने निर्णयसमेत लिएको छ ।
बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम उपाध्यक्ष मोहम्मद लालबाबु गद्दी राउत, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका नेता कौशलेन्द्र मिश्रसमेत सहभागी थिए । फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, रामसपा अध्यक्ष शरतसिंह भण्डारी र नेपाल सद्भावना अध्यक्ष अनिल झा जिल्लातिर रहेकाले बैठकमा सहभागी भएनन् ।
मोर्चा संशोधन प्रस्तावप्रति नरम, एमालेप्रति कडा
Previous Articleअन्डामा आत्मनिर्भर बनाउने सरकारको योजना अलपत्र
Next Article भारतबाट थप १९० मेगावाट बिजुली ल्याइँदै