म वेश्य
मेरो शरीर किनेर
उपभोग गर्ने उनी
म वेश्या कहलिएँ
उनी आदर्श पुरुष ।
आदर्शबादी समाजकोkalpana
खोक्रो आदर्शभित्र
परिभाषित म जस्ता वेश्याहरुको
बाध्यता र पीडा
पढ्न नसक्नेहरुले
बहिष्कार गरेको मेरो अस्तित्व
म चरित्रहिन कहलिएँ
उनी आदर्श पुरुष ।
जब-जब म हेर्छु
आफैलाई ऐनामा
ठोकिन्छन् आफ्नै अनुहारमा
समाजका प्रतिबिम्बहरु ,
लुछ्न मनलाग्छ
चिथोर्न मनलाग्छ
ती नकाबधारीहरुलाई
मुखौटो भित्रको मुखौटो चिरेर ।
खुलेआम घुमिरहेका छन्
भोकाएका गिद्दहरु चारैतिर
उनका भोकसंग साटिएका
मेरा बाध्यताहरु
उनका रहरसंग साटिएका
मेरा आँशुहरु
आफैसंग बिथोलिएका मेरा सपनाहरु
पल-पल चिथोरिन्छ
पल-पल मर्छ
गिद्दहरुको पंजाले लुछेको मेरो शरीर ।
पैसासंगको सम्झौंतालाई
स्विकार्न बाध्य म
सोच्दै होलाउ
पैसाले के किन्दैन भनेर ?
तर महोदय ,
किन्यौ होला मेरो शरीर ?
आत्मा किन्न सक्यौ र ?
किन्यौ होला भोगका केही पल ?
जिन्दगी किन्न सक्यौ र ?
मैले बेचेका भोगका केही पल किनेर
आफूलाई शान्त पार्नेहरु
पल-पल म अशान्त रहेको
कसले देख्यो र ?
म विक्रेता भएँ
मेरो बाध्यताको
तिमी क्रेता भयौ
तिम्रो रहरको
तर म चरित्रहिन कहलिएँ
तिमी आदर्श पुरुष कहलियौ
यही समाजको ……।