अमृत बास्कुने
साउन ७ गते । हिमालपारीको जिल्ला मुस्ताङमा अदालतबाट फैसला भएर दोषि सावित भएका २२ जनालाई फरार सुचीमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आर्थिक वर्ष २०८०÷०८१ मा ४ जना महिला र ९ जना पुरुषलाई गिरफ्तार गरी कैद तथा जरिवाना भुक्तानीका लागि जिल्ला अदालत मुस्ताङमा पेश गरेको भएपनि अझै २२ जना नियन्त्रणमा आउन सकेका छैनन् ।
आर्थिक वर्ष २०७९÷०८० मा १८ जना फरार रहेकोमा ४ जना गिरफ्तार गरी २१ दिन कैद र २४ हजार आठ सय २८ रुपियाँ जरिवाना रकम असुलउपरका लागि अदालतमा प्रहरीले पेश गरेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०८०÷०८१ मा ३५ जना फरारहरु मध्ये ४ महिला र ९ पुरुष गरी १३ जनालाई गिरफ्तार गरी कैद तथा जरिवाना भुक्तानीका लागि अदालतमा पेश गरीएको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । गिरफ्तार भएकाहरुबाट २० वर्ष ७ महिना १९ दिन कैद तथा एक लाख एक हजार दुई सय ४३ रुपियाँ जरिवाना असुल उपरका लागि अदालतमा बुझाइएको प्रनाउ पाण्डेयको भनाई छ ।
अदालतबाट फैसला भएर दोषी ठहर भएका हत्या तथा सरकारी कागजात किर्तेलगायतमा शिर्षकको मुद्दाका एक महिला र २१ जना पुरुषको खोजी प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रनाउ पाण्डेयले जानकारी गराउनु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले आर्थिक वर्ष २०८०÷०८१ मा पाँच हजार पाँच सय ९८ सवारी साधनलाई कार्वाही गर्दा ४१ लाख ५७ हजार पाँच सय रुपियाँ जरीवाना रकम संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा तीन हजार चार सय ८५ सवारी साधनबाट ४४ लाख ६४ हजार रुपियाँ जरिवाना वापत राजश्व संकल भएको थियो । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा सवारी साधन कार्वाही संख्या बढेको भए पनि जरिवाना रकम भने घटेको प्रहरीले जनाएको छ । मुस्ताङ जिल्लामा आर्थिक वर्ष २०८०÷०८१ मा ६४ वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका छन् । दुई जना पुरुष्को मृत्यु भएको थियो भने ३१ पुरुष १४ महिला र ४ जना बालबालिका घाइते भएको पाण्डेयले जानकारी दिनुभयो ।
मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङ भ्रमणका लागि आएका तीन जना नेपाली सहित १५ जनाको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा नेपाली दुई पुरुष र एक महिलाको मृत्यु भएको थियो । त्यस्तै मुस्ताङ भ्रमणका लागि आएका विदेशीहरु मध्ये ८ जना पुरुष र चार जना महिलाको लेक लागेर मृृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।