विनोद नेपाल
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा झण्डै एकतिहाइ योगदान दिने कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । यसैले कृषिको आधुनिकीकरण, विविधीकरण, व्यवसायीकरण र यस क्षेत्रको विकास हाम्रा हरेक योजनाको प्राथमिकतामा पर्ने गरेको छ । यसका लागि हरेक वर्ष उल्लेख्य बजेट पनि विनियोजन हुने गरेको छ तर आशातीत उपलब्धि हुन भने सकेको छैन । बरु तरकारी, फलफूलदेखि खाद्यान्नलगायत कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्था छ र यो क्रम हरेक वर्ष बढ्दै गएको छ ।
पछिल्लो तथ्याङ्क हेर्दा पनि मुलुकमा मासिक सरदर साढे दुई अर्बको खाद्यान्न आयात हुने गरेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कको विश्लेषण गर्दा यस्तो तथ्य बाहिर आएको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आ.व. २०७३÷७४ को साउनदेखि कात्तिकसम्मको प्रथम चौमासिक आयात विवरण अनुसार हरेक महिना नेपालमा करिब दुई अर्ब ५२ करोड ५० लाख रुपियाँ बराबरको अन्न आयात भएको देखिन्छ । चालू आ.व. को पहिलो चार महिनामा नेपालका मुख्य बाली मानिने धान, मकै, गहुँ, कोदो र फापरजस्ता अन्नको आयात २७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसले हामी कृषि उत्पादनमा पनि परनिर्भर हुँदै गएको पुष्टि हुन्छ ।
प्रविधिको प्रयोगले कृषि सहज हुने र उन्नत मल, बीउको प्रयोगबाट उत्पादन वृद्धि हुन सक्ने भए पनि एकातिर प्रविधिसम्मको पहु“च र उन्नत मल, बीउको उपलब्धताको अभाव छ भने अर्कोतिर गुणस्तरहीन र हानिकारक रसायनको प्रयोगको कारण हाम्रो भूमिको उर्वरा शक्ति प्रभावित हु“दा उत्पादनमा निरन्तर ह्रास आइरहेको छ । यसैगरी सक्रिय उमेरको युवाशक्ति कृषि पेसाप्रति आकर्षित हुन नसकेको र ग्रामीण क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका कारण पनि कृषि उत्पादन प्रभावित भएको छ । यसस“गै कृषिले अर्थतन्त्रमा गर्ने योगदान क्रमशः घट्दै गएको छ । यही पृष्ठभूमिमा झन्डै डेढ दशक यता बढेको बेमौसमी खेती र मौसम या याममै पनि बढी उत्पादन र बढी मुनाफा कमाउने होड र सुरक्षित भण्डारणको नाममा तरकारी, फलफूल तथा खाद्यान्नमा मानव स्वास्थ्यमा गम्भीर हानि पु¥याउने विषादी र रसायन प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।
सरकारी तथ्याङ्कका अनुसार गत वर्ष नेपालमा चार सय ५४ दशमलव ६ टन विषादी आयात भएको थियो । यसबाहेक अवैध रूपमा तस्करीका माध्यमबाट गुणस्तरहीन, हानिकारक र प्रतिबन्धित विषादी पनि भित्रिने गरेको छ । स्मरणीय छ, आयातित विषादीमध्ये ८५ प्रतिशतभन्दा बढी तरकारीजन्य उत्पादनमा प्रयोग हुने गरेको अनुमान छ । यसरी भित्रिने विषादीको जथाभावी प्रयोग, असुरक्षित भण्डारण एवं अव्यवस्थित बिसर्जनका कारण मानव स्वास्थ्य एवं वातावरणमा नकारात्मक असर पर्न पुगेको छ । घातक विषादीको अनियन्त्रित प्रयोगले पर्यावरण र मानव स्वास्थ्यमा गम्भीर हानि पु¥याउने तथ्य विभिन्न अध्ययनद्वारा स्थापित भइसकेको छ । विषादी र रसायनको प्रयोगबाट कृषिजन्य उत्पादनलाई रोग, कीराबाट जोगाउन र बढी उत्पादन लिन सकिए पनि मानव स्वास्थ्य तथा सम्पूर्ण पर्यावरणमा नै यसको नकारात्मक प्रभाव पर्न पुग्नु सबैको साझा चिन्ताको विषय हो ।
कृषि उत्पादन वृद्धि गर्न र तिनलाई जोगाउन विभिन्न किसिमका रसायन र विषादीको प्रयोग गर्नुपर्छ । यसका लागि विषादीको प्रयोग विश्वभर नै हुन्छ । तथ्याङ्कअनुसार अन्य देशमा प्रतिहेक्टर १४ देखि १६ केजीसम्म विषादी प्रयोग हुने गरेकोमा हाम्रो देशमा आयात भएको विषादीको परिमाण हेर्दा प्रतिहेक्टर ३९३ ग्राम मात्र विषादी प्रयोग हुने गरेको पाइन्छ । यसरी तथ्याङ्कहरूले हामीकहाँ विषादीको प्रयोग कम मात्रामा भएको देखाउँछन् तर हामीकहा“ जथाभावी विषादी छर्ने र त्यसको प्रभाव कम नहु“दै उत्पादन बजारमा पठाउने तथा उपभोक्ताले पनि आवश्यक सुरक्षा उपाय नअपनाई उपभोग गर्ने प्रचलनले गर्दा यसको असर निकै बढी पर्ने गरेको छ । जबकि केही विषादीको असर तत्काल देखिने भए पनि कतिपयको दीर्घकालमा देखिने हुन्छ । यसले भावी सन्ततीलाई समेत रोगी र कमजोर बनाउने अध्ययनहरूले देखाएका छन् । यसैले विषादीको प्रयोगमा सजगता अपनाउनुपर्छ ।
विषादीका नकारात्मक प्रभावको चर्चा धेरै अघिदेखि चले पनि कृषि उत्पादनमा विषादी परीक्षण नभएकाले यो कुरैमा सीमित थियो । यसले विषादीको प्रयोग दिनदिनै बढिरहेको थियो । जसबाट विषादी बिक्रेता तथा खासगरी तरकारी र फलफूलका बिचौलियाले अनुचित लाभ लिएका थिए भने कृषक र उपभोक्ता यसको मारमा परेका थिए । २०७१ असारदेखि भने मुलुककै प्रमुख तरकारी बजार कालिमाटीमा विषादी परीक्षण प्रारम्भ भयो । सो प्रविधिबाट गरिएका परीक्षणका परिणामले ताजा तरकारी र फलफूलमा प्रयोग हुने गरेको विषादीको स्थिति भयावह रहेको देखिएको थियो । कालीमाटीमा थालिएको परीक्षणले विषादी प्रयोगको गम्भीर अवस्था देखाएपछि सम्बन्धित निकाय यसप्रति गम्भीर भए । जसले तरकारी र फलफूलमा विषादीको अवशेष देखिएमा जफत गरी नस्ट गरिनुका अतिरिक्त त्यस्ता कृषक र व्यवसायीलाई कारबाही गर्ने नीति लिइयो । यसपछि यसमा केही सुधार पनि देखिन थाल्यो । कतिपय कृषकले विषादीका असरलाई ध्यानमा राख्दै यसको प्रयोग घटाउन थाले पनि यो व्यापक हुन सकेको छैन । यसैले यससम्बन्धी चेतना अभिवृद्धिका साथै सीमित स्थानमा हुने गरेको परीक्षणलाई व्यापक बनाउनु जरुरी छ ।
विषादी प्रयोगबाट उपभोक्ता मात्र होइन विषादी छर्ने किसानसमेत प्रभावित हुन्छन् । यसैले यसका लागि सर्वप्रथम किसानमा चेतना अभिवृद्धि गर्नुपर्छ । विषादी छर्दा अपनाउनुपर्ने सजगता तथा प्रतीक्षा अवधि सकिएपछि मात्र उत्पादन बजारमा पठाउनुपर्नेबारे कृषकलाई जानकारी गराउनुपर्छ । विषादीको परीक्षण, नियमन र नियन्त्रण निरन्तर हुनुपर्छ तर कृषकलाई हतोत्साही गरिनु भने हु“दैन । किनकि कतिपय कृषकले विषादीको प्रभावबारे ज्ञान नभएका कारण देखासिकीमै पनि यसको प्रयोग गरिरहेका छन् । कृषकहरूमा प्राङ्गारिक मल तथा घरेलु र जैविक विषादी बनाउने र प्रयोग गर्ने कार्यलाई प्रोत्साहन गर्नुपर्छ ।
विषादीयुक्त तरकारी, फलफूल र अन्नको प्रयोगले गर्भमा रहेका शिशुदेखि वृद्धवृद्धासम्म हरेक उमेर समूहलाई असर गर्छ । यस्तो असर मानव मात्र नभई पशुपक्षी र मित्रजीव जो कृषि उत्पादन वृद्धि र वातावरणीय एवं प्राकृतिक सन्तुलनमा सहयोगी हुन्छन् तिनमा समेत पर्छ । विषादीको असरले कतिपय मित्रजीवको नाश भइसकेको र कतिपय विनाश हुने क्रममा रहेको अध्ययनहरूले देखाएका छन् । यसरी विषादीको चक्रीय प्रभाव देखिन थालिसकेको र जसले प्राकृतिक सन्तुलन नै प्रभावित हुने जोखिम बढेको छ । यसका लागि एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम सञ्चालन गरिसकिएको छ । यिनै पृष्ठभूमि र सन्दर्भमा हाल ‘विषादी प्रयोग मुक्त सप्ताह’ मनाइँदैछ । विषादीका घातक असर र यसको नियन्त्रित र उपयुक्त प्रयोग गर्नुपर्ने विषयमा सचेतना अभिवृद्धिका लागि ‘घातक विषादीको प्रयोग निर्मूलीकरण गरौँ ः आफ्नो र भावी सन्ततीको रक्षा गरौं’ भन्ने नाराका साथ चौथो विषादीमुक्त सप्ताह मनाइरहेको सन्दर्भमा विषादीको प्रयोग न्यूनीकरणका लागि आआफ्नो तहबाट सबले सहयोग गर्नु जरुरी छ । सन् १९८४ मा भारतको भोपालमा विषादीको चुहावटबाट २० हजारको मृत्यु भएको स्मरण गर्दै सन् १९९८ देखि डिसेम्बर ३ लाई विश्वभर विषादी प्रयोग मुक्त दिवसका रूपमा मनाउन थालिएको हो भने नेपालमा यो हप्तालाई विषादी प्रयोगसम्बन्धी चेतना अभिवृद्धिका लागि ‘विषादी प्रयोग मुक्त सप्ताह’ को रुपमा मनाउन थालिएको हो ।
Previous Articleदुर्गम गाऊमा मकै भण्डारण गर्ने काइदा ।
Next Article अव पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने