काठमाडौं,२१ मंसिर – लोकमानसिंह कार्कीको मुद्दा हेर्ने न्यायाधीशविरुद्धको महाअभियोग उजुरी खारेज गरिदिएको छ। संसद्को महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईविरुद्धको महाअभियोग उजुरीलाई खारेज गरेको छ ।
मंगलबार बसेको संसद्को महाअभियोग सिफारिस समितिले उजुरी खारेज गर्ने निर्णय गरेको छ । उजुरीमा कुनै प्रमाण र आधार नभेटिएको निश्कर्ष बैठकले निकालेको छ । भविष्यमा कुनै कारबाही नहुने गरी उजुरी खारेज गरिएको समितिका सदस्य तथा एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए ।
सांसदहरु रक्मणी चौधरी, रामकुमार राई र हरीचरण शाहले भट्टराईमाथि महाअभियोग लगाउन समितिमा उजुरी दिएका थिए। प्रारम्भिक छानबिनबाटै उजुरी खारेज गरिएको छ । न्यायाधीश भट्टराई निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको रिटमा सुनुवाइका लागि तोकिएको विशेष इजालसमा तोकिएको छ ।
लोकमानविरुद्ध सर्वोच्चमा परेको योग्यतासम्बन्धी रिटमा पुस ७ गते निर्णय हुँदैछ । लोकमानविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावउपर संसद्मा छलफल जारी छ । संसद्मा एमालेले अवरोध गरेपछि महाअभियोगमाथिको छलफल पनि अहिले अड्किएको छ । छलफल सकाएर समितिमा पठाउने तयारी भए पनि संसद् अवरुद्ध भएकोले त्यो काम हुन सकेको छैन ।
लोकमानको मुद्दा हेर्ने न्यायाधीशविरुद्धको उजुरी खारेज
Previous Articleढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गरिदै
Next Article पोखराको सडकमा गुडिरहेको बस भासियो