म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रर्बधनका लागि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख सहितको ६० जनाको टोली प्रस्थान गरेको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजनामा अन्नपूर्ण म्याराथुनको समेत सम्भाब्यता अध्ययन गरिने छ । समुद्री सतहदेखि चार हजार एक सय ९० मिटरको उचाइमा पुगेर समन्वय बैठक समेत हुने छ । सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए।
अन्नपूर्ण हिमालको प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधारशिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण भइसकेकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए। नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडकको ट्र्याक निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग, आश्रयस्थ लगायत पर्यटन पूर्वाधार निर्माण गरेपछि नर्थ अन्नपूर्ण आधार शिविरमा गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकैदिनमा पुग्न सकिन्छ ।