नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा नेपालीहरुको नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियानपान समारोह सम्पन्न गरिएको छ ।
शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले पछिल्लो समय देशमा अराजकता फैलाउने काम भैरहेकाले सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले केही व्यक्ति र समूह चिहानघाटमा फ्याँकिएको राजतन्त्रको नारा बोकेर हिँडिरहेको बताउँदै नेपाली जनताको बलबाट चिहान पुगेको राजतन्त्र अब नफर्किने बताउनुभयो । आफ्नै परिवारको समेत रक्षा गर्न नसकेको र हत्याको छानविन सम्म गर्न नसकेका ज्ञानेन्द्रलाई पुनः राजा बनाएर देशको रक्षा हुने अपेक्षा गर्नु मुर्खता हुने उहाँको तर्क थियो । उहाँले अर्को प्रसंगमा भन्नुभयो—जनताले रगत पसिना जोडेर जम्मा गरेको पैसा वित्तिय संस्थाहरुले लगानी गर्ने हुन् त्यसैले बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको कर्जा कुनै हालतमा तिर्नै पर्ने उहाँको भनाई थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गोविन्द पौडेलले देशको नीति र विधान मिलाउन सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । एमालेले संधै नेतृत्वदायी भूमिका निर्वाह गर्ने तर्फ संकेत गर्दै अहिलेको सरकारमा पनि एमालेको मजबुत साथकै कारण प्रचण्ड सरकार अगाडी बढी रहेको उहाँको भनाई थियो ।
संविधानसभा सदस्य रेशमबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्रममा सँगसँगै अगाडि बढेका दलहरु राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्नको लागि पनि एक हुनुपर्ने बताउनुभयो । बालेन जस्तो एउटा व्यक्ति लोकप्रिय हुने अवस्था आएको बताउँदै उहाँले लामो बलिदान, त्याग र संघर्षबाट खारिएका राजनीतिक दलहरुले कमीकमजोरी सुधार गर्नुपर्ने बताउनुभयो ।
एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जिल्लाका सबै राजनीतिक दल र सरोकारवाला निकायको बीचमा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदानसँगै चियापान आयोजना गरिएको जानकारी दिनुभयो । चिया पिउँला वा अरु केही खाउँला त्यो भन्दा पनि बढी र मजबुत भनेको सबैप्रति सद्भाव अनि आत्मियता बढ्ने भन्ने मुल ध्येय हो । एमाले अहिले पनि मुलुकको पहिलो शक्ति हो पपुलर भोटका आधारमा त्यसैले हामीले हरेक कार्य जनपक्षिय नै गनु पर्छ र गरेरै आएका छौं ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष शेरबहादुर केसी, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले एमालेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष प्रमोद श्रेष्ठको स्वागत र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी एवं गैरसरकारी कार्यालय र संघसंस्थाका प्रमुख प्रतिनिधि, एमालेका नेता, कार्यकर्ता र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।