म यौटा पुस्तिका सादा हजारौँ पृष्ठ छन् ममा ।
तिमीजस्तै हजारौँको छाप छन् पृष्ठ पृष्ठमा ।।
बादलको टुक्रा (अनुष्टुप्)
यौटा बादलको टुक्रा आकाशमञ्चमा थियो ।
सूर्यको तेजले छुट्टै छुट्टै आकार देखियो ।।
किसान हेर्छ आकाश पूरा जीवन देख्दछ ।
छ पूर्ण अन्नको घैँटो भित्रभित्रै रमाउँछ ।।
भोको पेट कुनै व्यक्ति भन्छ हेरेर बादल ।
देवताहरूले खाने ठूलो थुप्रो छ चामल ।।
भक्तले भक्तिमा डुब्दै पायो बादलमा हरि ।
चतुर्भुज भयो स्पष्ट कस्तो निर्मलको छवि ।।
थियो हृदयमा नक्सा प्यारो यो मातृभूमिको ।
दियो बादलले नक्सा प्यारो यो मातृभूमिको ।।
प्रेमीले प्रेयसी देख्छ, त्यै दुरुस्त मुहारको ।
आमा बा पुत्रले देख्छ भावना अनुसारको ।।
आकार मनको खेल छैन आकार वस्तुमा ।
तिम्रै स्वरूप हो जे छन् सारा आकार वस्तुमा ।।
मलाई तिमीले हेर्छौ म देखिन्न यहाँ कतै ।
तिम्रै स्वरूप देखिन्छु, तिमी नै छौ जताततै ।।
धारणा सब तिम्रा हुन् आएर लेपिए ममा ।
मेरो स्वरूप छोपिन्छ तिम्रै देखिन्छ कल्पना ।।
म यौटा पुस्तिका सादा हजारौँ पृष्ठ छन् ममा ।
तिमीजस्तै हजारौँको छाप छन् पृष्ठ पृष्ठमा ।।