काठमाडौं, २१ मंसिर – नेकपा (माओवादी) केन्द्रले चार हजार सदस्य रहने गरी महाधिवेशन आयोजक समिति विस्तार गर्ने भएको छ । “पार्टी कार्यालयको बैठकले तीन हजार ९९९ जनाको महाधिवेशन आयोजक समिति बनाउने र पोलिटब्युरोको सदस्य सङ्ख्या ३९९ बनाउने निर्णय गरेको छ”, स्थायी समितिका एक सदस्यले भने , “जारी पोलिटब्युरो बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने छ । ”
उनका अनुसार निर्धारित सङ्ख्याको आधारमा विभिन्न प्रादेशिक समितिलाई सदस्य सिफारिसका लागि निर्देशन दिई सकिएको छ । प्रदेशहरूले आफ्नो कोटाअनुसार सदस्य सिफारिस गरिसकेको छ । अहिले त्यसैलाई मिलाउन शीर्ष तहमा छलफल भइरहेको छ । सोमबार बस्ने भनिएको पोलिटब्युरो बैठकमा यसबारे छलफल गर्ने भनिएको थियो तर शीर्ष तहमा आयोजक समिति र पोलिटब्युरोमा रहने सदस्यहरूको नामावली टुङ्ग्याउने गृहकार्यले अन्तिम रूप पाउन नसकेपछि बैठक स्थगित गरिएको थियो । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुसालले सङ्गठनात्मक संरचना मिलाउनेबारे अनौपचारिक गृहकार्य भइरहेको बताएकी छन् ।
आयोजक समिति र पोलिटब्युरोको विस्तारसँगै स्थायी समिति तथा कार्यालयको पनि विस्तार गरिनेछ । माओवादीले केन्द्रीय समितिको कुल सदस्यको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी समिति र सोहीअनुसार केन्द्रीय कार्यालय टोली बनाउने विधि प्रयोग गर्दै आएको छ । गोरखापत्र
Previous Articleसंशोधनको बहानामा समाप्तिको सम्भावना
Next Article कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अल्झियो