काठमाडौं, २० मंसिर – सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् ।
नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक महत्वपूर्ण कदम भएको भन्दै भारतीय राजदूतावासले विज्ञप्ती जारी गरेको भोलिपल्टै एमाले कार्यकर्ताहरु लैनचौरस्थित दूतावास अगाडि प्रदर्शनमा उत्रिएका हुन् । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका युवा तथा विद्यार्थी संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदूत रणजित रायले चलखेल गरेको आरोप लगाउँदै उनलाई फिर्ता पठाउन माग गरे ।
राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गर्न दूतावास अगाडि बढेको जुलुशलाई प्रहरीले लैनचौर चोकमै रोकेको थियो । दूतावास वरपर निषेधित क्षेत्र घोषणा गरेको सरकारले सुरक्षाका लागि उल्लेख्य संख्यामा प्रहरीहरुलाई परिचालन गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनको विरोधमा सदन र सडकमा संघर्ष गर्दै आएको छ ।