म्याग्दी सदरमुकाम बेनी सँगै जोडिएर रहेको पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वत बेनीमा रहेको नव उत्साही समुहले आउँदो चैत्र २७ गतेदेखि साविकको धौलागिरी अञ्चल स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नव उत्साही समूहले पाँचौ उत्साही कप नाइन ए साइड फुलबल प्रतियोगिता म्याग्दी बेनीको खुल्लामञ्चमा आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । नव उत्साही समूहका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठ तथा पूर्व सदस्य मनोज श्रेष्ठकी माता लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गएको साउन ६ गते निधन भएकी श्रेष्ठको स्मृतीमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताको पहिलो पुरस्कार राशी पनि निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठले नै प्रायोजन गर्नुभएको छ ।
वुधबार आयोजित पत्रकार सम्मेलनमा नवउत्साही समुहका अध्यक्षले प्रतियोगिता सञ्चालनका लागि मैदान उपलब्ध गराउनका लागि आवश्यक प्रकृया पुरा गरेपछि मैदान प्रयोगको अनुमति पाए सँगै प्रतियोगिताको तयारी थालिएको जानकारी दिनुभयो । प्रतियोगिताका लागि आर्थिक संकलन, प्रचारप्रसार लगायतका कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।
अधिकांश आर्थिक व्यवस्थापनको काम वैदेशिक रोजगारीमा गएका नवउत्साही समूहका पूर्व सदस्यहरु तथा अन्य शुभचिन्तकबाट संकलन गर्ने लक्ष्य लिएको समूहका संस्थापक अध्यक्ष दिलिप कुमार बरुवालले जानकारी दिनुभयो । २०८० चैत २७ देखि शुरु भएर २०८१ वैशाख १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार ७० हजार १ सय ११ र द्वितिय पुरस्कार ३५ हजार १ सय ११ ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको अनुशासित टिमलाई ७ हजार रुपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी प्रतियोगितामा व्यक्तिगत विधा तर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ तथा ट्रफि प्रदान गरिने नवउत्साही समुहका सचिव राजकुमार परियारले जानकारी दिनुभयो ।
स्थानीय खेलाडीको क्षमता अभिबृद्धि गर्ने मुल ध्येय सहित आयोजना गर्न लागिएको प्रतियोगितामा मैदानमा उत्रने ९ जना मध्ये तीन जना आफ्नो क्षेत्र भन्दा बाहिरका खेलाडीलाई सहभागि बनाउन पाइने छ । प्रतियोगितामा क्लबको कार्यक्षेत्र भन्दा बाहिर जुन सुकै स्थानको खेलाडी पनि क्लबले राख्न पाउने क्लबका सचिव परियारले बताउनुभयो ।
प्रतियोगितालाई पारदर्शी एवम् निष्पक्ष रुपमा संचालन गर्नका लागि सहभागी क्लबहरुको उपस्थितिमा गोलाप्रथा गरेर टाइसिट सार्वजनिक गरिने छ ।