अमृत बास्कुने
नेकपा एमाले जिल्ला म्याग्दीले सामाजिक सञ्जालको प्रयोगमा बढ्दै गएको दुरुपयोग विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
माघ दोस्रो साता सम्पन्न नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पहिलो पूर्ण बैठकले सामाजिक सञ्जालको प्रयोगमा हुने दुरुपयोग विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेकोछ ।
वैठकका निर्णय सार्वजनिक गर्न शनिवार आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका बालकृष्ण सुवेदीले सामाजिक सञ्जालमा पार्टी कामलाई व्यवस्थित ढंगले परिचालन गर्न, पार्टी समर्थक, नेता कार्यकर्ताहरुबाट हुन सक्ने सञ्जालको दुरुपयोगलाई रोक्नका लागि सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो ।
पार्टी काम र नेता तथा कार्यकर्ताबाट शुरुआत गर्ने हो, यसले समग्र नागरिकलाई सामाजिक सञ्जालको सदुपयोगमा प्रोत्साहन गर्दै दुरुपयोगलाई निरुत्साहित गर्नेछ, अध्यक्ष सुवेदीले भन्नुभयो,–सामाजिक सञ्जालको प्रयोग जसरी बढेको छ, यसको प्रभावकारीतासंगै दुरुपयोग पनि बढ्दै गएकाले सचेतना आवश्यक देखिएकाले अभियान सञ्चालन गर्न लागेका छौ ।
पार्टीको जिल्ला अधिवेशन र पहिलो पूर्ण बैठकले पारित गरेका कार्यदिशाको बारेमा जानकारी गराउँदै अध्यक्ष सुवेदीले फागुन मसान्त भित्रमा जिल्लाका सबै स्थानिय तहको अधिवेशन र चैत मसान्त सम्म ४५ वटै वडाको अधिवेशन सक्ने जानकारी गराउनु भएको छ । पार्टी सुदृढीकरणका लागि ‘म बनाउँछु मेरो पार्टी’ अभियान थाल्ने र पार्टीका जिम्मेवार व्यक्तीले आफू जस्तै थप एक जना बढाउनु पर्ने मार्गनिर्देशन लिएर अगाडी बढ्न लागेको अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ ।
अधिवेशन गर्न बाँकी रहेका नेकपा एमालेका जनवर्गीय संगठनहरुको अधिवेशन बैशाख मसान्त भित्र सक्ने र अरु सबै जनसंगठनको अधिवेशनलाई असोज मसान्त भित्रमा सक्ने एमाले म्याग्दीले जनाएको छ । नेकपा एमाले पार्टीको प्रतिनिधित्व गर्दै स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई एक वर्ष भित्र दुई वटा प्रशिक्षण दिने एमालेले जनाएको छ । जनप्रतिनिधिहरुले गरेका कामको बारेमा चासो राख्ने र उनीहरुले गरेका काममा सहजीकरण गर्दै जनतालाई जानकारी गराउने पनि सबैको कर्तव्य रहने बताइएको छ ।
नेकपा एमाले सञ्चार प्रति निकै सचेत रहेको जनाउँदै अध्यक्ष सुवेदीले एमाले र सञ्चारकर्मीहरुको सुमधुर सम्बन्ध बनाउँदै अगाडी बढ्ने बताउनुभयो । प्रेस चौतारी नेपाल जिल्ला कमिटीको समन्वयमा नियमित रुपमा सञ्चारकर्मी र एमाले बिच अन्तरक्रिया तथा छलफल भै रहने उहाँको भनाई छ ।
नेकपा एमालेले युवाहरुलाई देशमै राख्नका लागि प्रयास गर्ने र युवाहरुले कुनै पनि प्रकारको व्यवसाय तथा उद्यम गर्न चाहेको खण्डमा उचित समन्वय गर्ने कार्यायोजना अनुरुप अगाडी बढ्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । युवालाई स्वरोजगार हुन प्रोत्साहन गर्दै पार्टी पंक्तिले त्यसका लागि अग्रसरता लिने पनि अध्यक्ष सुवेदीले बताउनुभयो ।
त्यस्तै नेकपा एमालेले क्युआरटी निर्माण गर्ने भएको छ । विपद्मा सिघ्र उद्धारमा खट्नका लागि हरेक क्षेत्रमा क्युआरटी निर्माण गर्ने वार्षिक कार्ययोजना भित्र समेटिएको एमाले अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
एमालेको पहिलो पूर्ण बैठकले पार्टीको स्कुल विभागको जिम्मेवारी अध्यक्ष बालकृष्ण सुवेदी, जनसंगठन समन्वय संयन्त्रको प्रमुख उपाध्यक्ष प्रमोद श्रेष्ठ, संगठन विभाग प्रमुखमा सचिव थमसरा पुन, आर्थिक विभागमा उपसचिव सतप्रसाद रोका, स्थानीय विकास विभागमा उपसचिव खड्ग गिरी र सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा देउप्रसाद छन्त्याललाई चयन गरेको छ । त्यस्तै जिल्लाका ४५ वटै वडाको इन्चार्जको जिम्मेवारी समेत तोएिको उपसचिव सतप्रसाद रोकाले जानकारी दिनुभयो ।