भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको गार्गी कन्या गुरुकुलमले नारीशक्तिको उत्पादन तथा बढोत्तरीका लागि दिगो कोष स्थापनार्थ महायज्ञ आयोजना गर्ने भएको छ ।
नारीहरूलाई संस्कार सहितको वैदिक शिक्षा प्रदान गरी सच्चरित्रवती विदुषी नारीशक्तिको उत्पादन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागेको हो । पुण्यसलिला नारायणी नदीको पावनतट देवघाटधाममा गार्गी कन्या गुरुकुल सञ्चाल भइरहेको छ । नेपालको पहिलो र समावेशी गुरुकुलको रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्त गरी हालसम्म माध्यमिक तह (कक्षा ६–१२ सम्म) को औपचारिक कक्षा सञ्चालन भै रहेको छ । हाल गुरुकुलमा समाजका हरेक वर्गका ८० जना कन्याहरूले आवासीय सुविधासहित सम्पूर्ण शिक्षा निःशुल्क रूपमा प्राप्त गरिरहेको गार्गी गुरुकुलम्का प्राचार्य खिमनाथ चालिसेले जानकारी दिनुभयो ।
हाल सम्म गुरुकुलमा रहेका छात्राहरुको आवास तथा भोजन लगायतको व्यवस्थापनको लागि श्रद्धालु दाताहरूको दान सहयोग र माया–ममताबाट गुरुकुल सञ्चालन भइरहेको छ । नानीहरूको आवास भोजन र भौतिक संरचनाका अतिरिक्त शैक्षिक व्यवस्थापनका लागि दिगो स्रोत र अक्षयकोषको आवश्यकता भएकोले महायज्ञ आयोजना गरिएको रामजानकी गार्गी कन्या गुरुकुलम्का व्यवस्थापन समितिका अध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
गुरुकुलको सर्वाङ्गीण समुन्नति सुसञ्चालन तथा अक्षयकोनको स्थापनार्थ सहयोग जुटाउने उद्देश्यले यज्ञपुरुष भगवान्को आराधनास्वरूप श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८० को आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । विश्वविख्यात कथावाचक पण्डित कुबेर सुवेदीको प्रमुख वाचकत्वमा विभिन्न कार्यक्रमका साथ सम्पन्न हुने ज्ञानमहायज्ञबाट संकलन भएको रकमले अक्षयकोष स्थापनाका साथै गुरुकुलको दिगोपनका लागि खर्चिने छ ।