शिवशरण ज्ञवाली
राजनीतिक अस्थिरताको चंगुलमा फसेको मुलुकको पत्रकारिता निरपेक्ष रुपमा जिम्मेवार भएन भन्नु त्यति न्यायसंगत नहोला तर सूचना सम्प्रेषण र विचार निर्माणको गहन जिम्मेवारी बोकेको पेशा तुलनात्मक रुपमा बढी जिम्मेवार हुनुपर्छ भन्ने अपेक्षा गर्नु स्वभाविक नै हो । तर त्यो अपेक्षा पूरा गर्न मूलधारका भनिएका सञ्चार माध्यमहरु करिबकरिब पूरै असफल भएका छन् । कुनै जमाना थियो, मिसन पत्रकारिताको । २००७ सालमा आएको प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको स्वाद चाखेका अग्रज पत्रकारहरुको कलम तिखो भइसकेको कारण पंचायत कालमा उनीहरुबाट मिसन पत्रकारिता संभव भएको हुनुपर्छ । मिसन पत्रकारिताको जमानामा जनता दिग्भ्रमित थिएनन् किनकी पत्रकारिता घोषित हुन्थ्यो । हाकाहाकी एकातिर बहुदलीय आवाज बुलन्द गर्ने घोषणा गरिएको देखिन्छ भने अर्कोतिर त्यसको प्रतिरोधमा सत्तापक्षीय पत्रकारिता रहेको देखिन्छ । विचार निर्माण प्रमुख थियो । दुवैले आआफ्ना पक्षीय सूचना र विचारहरुको सम्प्रेषण गर्दथे । तस्आम पाठक जुन विचार मन पथ्र्यो उही सञ्चार माध्यमको ग्राहक बन्थे ।
तर आज परिस्थिति फेरिएको छ । पत्रकारिता केवल व्यवासायिक मात्रै बनेको छैन, त्यसका रेडियो, टेलिभिजन, छापा र अनलाइन जस्ता माध्यमहरु पनि विकास भइरहेका छन् । विदितै भएको कुरा के भने सञ्चार माध्यम केवल सरकारी मात्रै छैनन्, निजी व्यक्ति वा संस्थाले पनि चलाइरहेका छन् । तर बिडम्बना कुरा बहुल सञ्चार माध्यममा पनि आवाजहीनहरुका आवाजहरु ‘सम्पादकीय कक्ष’मै ‘किल’ भएका छन् । पत्रकारिता सीमित मानिसहरुको मुठ्ठीमा सीमित भएको छ । आवरणमा व्यवासायिकता छ तर आन्तरिक स्तरमा डरलाग्दो मिसन छ । त्यही कारण आम पाठक दर्शक, श्रोता दिग्भ्रमित बन्न विवश छन् । सत्यतथ्य, सन्तुलन र विश्वसनीयता व्यवासायिकताको नाममा गुम्दै गएको छ । सांसद, मन्त्री, पूर्वमन्त्री वा सामान्य नागरिक नै किन नहोस् प्राकृतिक वा मानवीय कुनै पनि प्रकृतिको दुर्घटना भइसकेपछि उद्धारमा खटिनु उसको मानवीय धर्म हो । तर हाम्रा समाचार माध्यमका लागि दुर्घटना परेर जीवन नै गुमाएका मानिसहरुको भन्दा पूर्वमन्त्री उद्धारमा खटिएको कुरा महत्वपूर्ण हुन्छ । अनि शीर्षक बन्दछन्, पूर्वमन्त्री आफै दुर्घटनाको उद्धारमा खटिए । मान्छेको ज्यान भन्दा पूर्वमन्त्रीको मानवीय धर्मको बढी प्रचार हुनुले हाम्रो पत्रकारिता कति निम्छरो रहेछ भन्ने जनाउँछ ।
अझैपनि नेपाली पत्रकारितामा योग्यता प्रणाली लागू नभएकाले समस्या आएको पनि ठानिन्छ । हुन पनि सबै क्षेत्रमा योग्यताको आवश्यकता महसुस गरिदा पनि पत्रकारिता गर्नका लागि आज पनि योग्यताप्रणाली लागू छैन । अन्य क्षेत्रमा स्नातकोत्तर तहका जनशक्तिहरु अगाडि आइसकेका छन् तर सरकारी पत्रकारिताले स्नातकको मापदण्डलाई उछिन्न सकेको छैन भने अन्य क्षेत्रको पत्रकारिता त उन्मुक्त नै छ । पढाइको मापदण्डको अनिवार्यता छैन । पत्रकारको लाइसेन्स खोइ ? शिक्षण गर्न लाइसेन्स चाहिनुपर्ने, गाडी चलाउन लाइसेन्स चाइनुपर्ने तर पत्रकारिताजस्तो क्षेत्रमा लाइसेन्स नचाहिने ? ेस्धेरैतिर आज सबैले यही प्रश्न उठाइरहेका छन्, पूर्वराष्ट्रपतिदेखि आम सर्वसाधारण सम्म । दुखको कुरा त यो छ कि अधिकांश पत्रकारले आचार संहिता पनि राम्रोसँग अध्ययन गर्ने जाँगर गर्दैनन् । नभए चर्चित र बौद्धिक सम्पादकले नेतृत्व गरेका मिडिया हाउसका अनलाइनमा विभत्स तस्वीरले स्थान पाउने थिएनन् । बौद्धिक कसरत गर्ने जाँगर नहुँदा पत्रकारको कलम भुत्ते भएको छ । भुत्ते कलमले व्यवासायीलाई नाघेर जनआवाजलाई स्थान दिन गाह्रो हुन्छ । त्यसो त पत्रकारितामा उच्च शिक्षाको व्यवस्था पनि छ तर त्यो सुलभ छैन सीमित छ । यो संभावनाको उद्योगको रुपमा विकास भइरहेको छ । विधा पत्रकारिता जस्तैः शिक्षा, अर्थ, पर्यटन, चलचित्र आदिआदिको पनि विकासको संभावना देखिएको छ । तसर्थ तल्लो कक्षादेखि पत्रकारितालाई समेट्दै जाने हो भने एकातिर समाजले त्यसको समुचित लाभ लिने अनि अर्कोतिर रोजगारीको संभावना पनि बढेर जाने देखिन्छ । अहिलेको बौद्धिकताले अबको पत्रकारिताको चुनौती धान्ला जस्तो देखिदैन । अहिलेको पत्रकारिता आवरणमुखी छ । भित्र के छ खोजी भइरहेको छैन । भित्र खोज्न सक्ने क्षमताको बौद्धिकता खोजी भइरहेको छ, दर्शक पाठक र श्रोतामा । तथ्यसहित भित्री कुरा आओस् भन्ने आम पाठकको चाहना अहिले परिपूर्ति भइरहेको छैन । उदाहरणका लागि नेपालका हरेक आन्दोलनमा सहभागीकै कुरा लिऊँ न, आन्दोलनकारी आन्दोलनमा सहभागी भएको कुरा त पत्रकारहरुले छापे तर ती आन्दोलनमा सहभागीहरु वास्तविक आन्दोलनकारी हुन् कि बाध्यताले अथवा रमाइलोका लागि आएका हुन् त्यसको खोजी गरिएन । अघिल्लो वर्ष नाकाबन्दी बेला समाचार आयो, जिल्ला जिल्लाबाट नेपालमा बसेका भारतीय नागरिकले नै नाकाबन्दीको विरोध गरे भनेर । विरोध स्वतस्फुर्त थियो या बाध्यतात्मक त्यसको वास्तविक सत्यतथ्य पत्रकारिताले खोजी गरेन । आन्दोलन नेताका लागि थियो कि जनताका लागि थियो । उर्लेको भीड देखाएर सत्तासँग बार्गेनिङ् गर्नु पत्रकारिताको धर्म हो ?
अर्को चुनौती भनेको दलीय पत्रकारिताको हो । सबै जसो मिडिया हाउस यो वा त्यो दलको नजिक हुनु साह्रै नै बिडम्बना हो किनभने पत्रकारिता सारै संवेदनशील पेशा हो । आज पत्रकारिता आफैमा शक्तिशाली बनेको छ । यो कसैलाई क्षणभरमा नायकनायिका बनाउन र कसैलाई क्षणभरमा खलनायक खलनायिका बनाउने खेलाडीका रुपमा विकास भइरहेको छ । आर्थिक वा शक्तिका पछाडि लाग्ने बानीका कारण दल र तिनका नेता अगिअगि पत्रकार पछिपछि लागेको तस्वीर सामान्य भएका छन् । सञ्चार माध्यमका आवरण हेर्ने हो भन्ने लाग्छ सन्तुलनका नाममा उद्धरण छ, एउटैको छाप्दा नपत्याउलान् विरोधीको पनि सानो समाचार छापौं भन्ने मानसिकता छ । (त्यहीकारण कञ्चन र कुसुमले हंगामा मच्चाउँछन् ।)दल जे भन्छन्, पत्रकारिता व्यवासायिकताको आवरणमा तिनैको समर्थन गर्छन् । सबैजसो मिडिया ठूला भनिएकै राजनीतिक दलका पक्ष वा विपक्षमा धु्रवीकृत छन् । त्यही राजनीतिक दलको चस्माबाट उनीहरुले बाँकी जगत्लाई हेर्छन् फलतः पत्रकारिताले विश्वास गुमाएको छ । सबै क्षेत्र राजनीतिले ग्रस्त छ । पत्रकारितालाई पनि राजनीति दलहरु आफ्नो बनाउन चाहन्छन्, व्यवासायिकताको आवरणमा । दुवैलाई सजिलो भएको छ एकातिर व्यवासाय पनि भइरहेकै छ अर्कोतिर राजनीति पनि । युनियन, चौतारी र क्रान्तिकारी पत्रकार संघ आदिआदि दलका आआफ्नै संगठन पनि छन्, साझा संगठन पत्रकार महासंघ पनि छ । अरुका हुने हाम्रा नहुने भन्ने प्रश्न गर्न सक्लान पत्रकारहरुले ? त्यसको जवाफ उनीहरुले आफै खोज्नु जरुरी छ ।
पत्रकार विशिष्ट हुँदै होइनन् तर पत्रकारहरुमा आफूहरु विशिष्ट भएको अहम् छ । त्यही अहम्को परिणाम उनीहरु पूर्वराजा ज्ञानेन्द्रले गरेको दरबार छाड्दाको पत्रकार सम्मेलनमा देखियो । करिब करिब पत्रकारिताको मानसिकता त्यसकै सेरोफेरोमै घुमेको छ । हो, उनीहरुले अन्य आम जनताभन्दा पहिल्यै राज्यका हरेक निकायका सूचना प्राप्त गर्दछन् । सूचनाको खोजी गर्दा उनीहरु अरु नपुगेको वा नपुग्ने ठाउँमा पनि सहजै पुग्छन् वा पुग्ने पहुँच राख्छन्, त्यसको अर्थ उनीहरुको पेशा विशिष्ट हो भन्ने होइन । त्यस्तो नहुनु पथ्र्यो । तर पत्रकारमा त्यो अह्म रह्यो । त्योे अह्मबाट पत्रकार बाहिर नआउन्जेल उनीहरु पत्रकारितामा रम्न नसक्ने देखिन्छ । पत्रकारिताको हतियार चलाएपछि सबै तर्सन्छ भन्ने मानसिकताले पत्रकारिता कुण्ठित छ ।
सबैतिर भ्रष्टाचारको कुरा आउँछ । के पत्रकारितामा भ्रष्टाचार छैन । लगानीको स्रोत व्यवसायी खुलाउनुनपर्ने अवस्था छ । मानिसहरु पत्रकारितालाई आदर्श ठान्छन् र अनुहार हेरेर विश्वास गर्छन् । तर पत्रकारितामा हुने भ्रष्टाचारको विषयमा कही कतै चर्चा हुँदैन । कसरी पत्रकारिता चलेको छ त्यसको पनि खोजी हुँदैन । ०६२÷६३ को आन्दोलनमा पनि केही पत्रकारले दल वा राजा कतै पनि नढल्किन पत्रकारिताको धर्म निर्वाह गरेका थिए । तिनीहरुले तत्कालीन राजाको माघ १९ को कदमपछिको कठोर ‘सेन्सर’को समयमा पनि सन्तुलित समाचार पाठकलाई पस्किएर जनताको सूचनाको अधिकारलाई रक्षा गरेका थिए । उनीहरु कहिल्यै आन्दोलनमा सहभागी भएनन्, उनीहरुको आन्दोलन भनेकै सन्तुलित पत्रकारिता नै थियो । त्यस्तै व्यवसायिक इमान्दारिता भएका पत्रकारबाट आजको पत्रकारिताले धेरै सिक्नुपर्ने भएको छ । नभए भोलि देशमा अतिवादी हावी भयो भने पत्रकारिता स्वयं आफ्नो धर्मबाट विचलित त हुने छ नै समाजमा पत्रकारिताले आंतक फैलाउँदैन भन्न सकिन्न ।
Previous Articleसर्वदलिय सरकारमार्फत निर्वाचन
Next Article १९ मंसिर २०७३, ढोरपाटन दैनिक