अमृत बास्कुने
यात्रा आफैमा अविष्मरणीय हुन्छन् । यस्तै एउटा अविष्मरणीय यात्रा हालै आएर सकिएको छ । विश्वमै चर्चा कमाउन सफल साइकलयात्री दिपक श्रेष्ठ र म्याग्देली चेली कमला पुनले ८ दिन लामो साइकल यात्रालाइ पूर्णता दिनुभएको छ । दुई वर्ष देखि योजना बनाएर पनि यात्रा तय हुन नसकेको भए पनि यस वर्ष भने उहाँहरुले यात्रालाइ मूर्त रुप दिनुभएको छ ।
साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुनले एकहप्ता लामो साइकल यात्रा पुरा अघिल्लो हप्ता गर्नुभएको छ । कास्कीको पोखराबाट थालेर पर्वतको मालढुंगा हुँदै तय भएको साइकल यात्रा म्याग्दीको बेनी, सिंगा तातोपानी, दरवाङ, धारापानी, ताकम, लुलाङ, देउराली, गुर्जा हुँदै बागलुङको ढोरपाटन, वुर्तिवाङ, गलकोट, बागलुङ बजार हुँदै पुनः मालढुंगा पुगेर सकिएको हो । मङ्सिर १० गते आइतबार देखि शुरु भएको यात्रा १७ गते आइतबार आएर सकिएको दिपक श्रेष्ठले बताउनुभयो ।
उहाँहरुले म्याग्दी जिल्लाको सबै भन्दा दुर्गम बस्ती गुर्जामा साइकल सहित कुनै पनि व्यक्ति पहिलो पटक पुग्नुभएको थियो । समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइ रहेको गुर्जामा पुग्न उहाँहरुले पाँच दिनको यात्रा तय गर्नुभएको थियो । गुर्जा हुँदै उहाँहरु ढोरपाटन उपत्यका पुगेर मंसिर १७ गते आइतबार बागलुङ बजार हुँदै साइकलमै मालढुंगा पुग्नुभएका उहाँहरुले मालढुंगाबाट भने गाडीमा पोखरा फर्कीनु भएएको थियो । लामो यात्रा थियो, शाहसीक पर्यटन अन्तरगत पर्ने साइकल यात्राका लागि निकै जोखिम सहितको यात्रा पनि भएकोले पनि प्रायको ध्यान तानेको हुन सक्छ उहाँहरुको अनुभव छ ।
नेपालमा साइकल यात्रीका रुपमा दिपक श्रेष्ठलाई नचिन्ने साहेदै होलान् । उहाँले पहिलो पटक सन १९८५ मा अल नेपाल साइकल यात्रा गर्दै माउण्टेन बाइकलाई नेपालमा चिनाउने भुमिका खेल्नु भएको थियो । श्रेष्ठले उच्च पहाड तथा हिमाली क्षेत्रमा साइक्लिङ गरेर विश्व रेकर्ड समेत राख्नु भएको छ । काठमाडौँका स्थायी बासिन्दा ६१ वर्षीय दिपक श्रेष्ठ र म्याग्दीको रुम डाँडागाउँ जन्मीएर हाल काठमाण्डौं उपत्यका भित्रै ललितपुर बस्दै आउनु भएकी कमला पुन मगरले म्याग्दीको गुर्जा हुँदै ढोरपाटनलाई परिक्रमा गरेर शाहसीक पर्यटनका लागि यो क्षेत्र पनि महत्वपूर्ण रहेको शन्देश दिनु भएको छ ।
महिला भएर पनि साहसीक यात्रामा जाने भनेर ग्रामिण भेकमा महिला तथा बालिकाहरुले निकै खुशी भएका थिए कमला सुनाउनुहुन्छ । यो रुटमा साइकल यात्रा गर्नकालागि दुई वर्ष देखिको प्लानिङ गरेर बल्ल अहिले मौका मिलेको उहाँले भन्नुभयो । यस पहिला काठमाडौं देखि रारा ताल सम्मको यात्रा पनि गरिसकेको कमलाले भन्नुभयो । यात्रा कतिपय दुखदायी होलान् अनि कतिपय शुखद् पनि तर यस पटकको यात्रा मेरो लागि जीवनकै महत्वपूर्ण र अविष्मरणीय रह्यो उहाँको अनुभव छ । काठमाडौं बाट पोखरामा क्रस कन्ट्री अन्तराष्ट्रिय प्रतियोगिताका लागि आउनु भएका श्रेष्ठ र पुनले आफ्नो दुई वर्ष पहिला देखिको योजनालाई मूर्त रुप दिनका लागि गुर्जा हुँदै ढोरपाटन यात्रा तय गर्नु भएको थियो । कमला भन्नुहुन्छ विगतमा जति यात्रा गर्दा पनि नपाएको चर्चा र आनन्द मलाइ गुर्जा हुँदै ढोरपाटन पुग्दा मिलेको छ ।
यात्राका क्रममा ग्रामिण भेकमा स्थानीयले गरेको स्वागतले साइकल यात्री दुवै जनालाइ उत्साह थपेकै थियो । हरेक गाँउमा पुग्दा भेटिने सर्वसाधारणले दिएको अपार मायाँले पटकपटक यात्रा गर्नका लागि हौसला मिल्ने अवस्था पुगेको उहाँहरुको अनुभव छ । गुर्जामा पुग्दा एक जना स्थानीयले फुल लगाइदिँदै खुट्टा नै ढोग्न खोजेको सम्झँदा पनि निकै भाबुक बन्न पुगियो पुनले सुनाउनु भयो । हामी जाँदै गर्दा परै देखि दौडीदै आएर हामीलाई न्यानो स्वागत सहित हाम्रो साइकल अनि हेलमेटमा समेत फुल लगाइदिएर उहाँले दर्साएको मायाँको मुल्य साहेदै होला ।
कार्वन उत्र्सजन बिनाको यात्रा साइकल भएको हुनाले साइकल यात्रा निकै बेष्ट हुन्छ । सरकारले हप्तामा एक दिन मात्रै सरकारी गाडी बन्द गरेर पैदल वा साइकल यात्रा गर्न प्रोत्साहन गर्ने हो भने कार्वन उत्सर्जन कमी हुनका साथै स्वस्थ्यमा पनि केही प्रभाव पर्ने पुनको अपेक्षा छ । साइकल यात्राले कसरत पनि हुन्छ अनि कार्वन उत्सर्जन रोक्छ नै त्यसैले यस्तो प्रकारको यात्रालाई हामीले प्रोत्साहन दिनु पर्छ ।
पोखराबाट साइकल यात्रा थाल्नु भएका उहाँहरुले पहिलो दिन पर्वतको मालढुङ्गा बास बस्नु भएका उहाँहरु दोस्रो दिन पश्चिम म्याग्दीको ताकम पुग्नु भएको थियो । ताकमबाट साइकल यात्रा थालेर तेस्रो दिन लुलाङ पुगेर चौथो दिन यात्रा थालेका उहाँहरु देउराली पुगेर बास बसेको दिपक श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पाँचौ दिन गूर्जा पुगेपछि छैठौं दिन गुर्जाखानी बाट रुघाचौर पार गरेर रुघाघाट, सातौं ढोरपाटन हुँदै बुर्तीबाङ र आठौं दिन बुर्तिवाङबाट मालढुंगा पुगेर साइकल यात्रा सकिएको श्रेष्ठले जानकारी दिनुभयो । नेपालका पुराना तथा अनुभवी साइक्लिस्ट दिपक दाजु संगको यात्राले थप उर्जा मिल्यो र अझ यो यात्रा निकै रमाइलो र अविष्मरणीय चाँही पक्कै भयो कमला पुनले भन्नुभयो ।
कास्की हुदै थालेको यात्रामा पर्वत म्याग्दी पार गरेर बागलुङ सम्मको यात्रा हुँदा भेटेका उकाली ओराली एवम् घना जङ्गल, झरना तथा ग्रामिण बस्तीबाट साइकलमा यात्रा गर्दा स्थानीयबासीको न्यानो मायाँले समेत निकै उत्साह थपेको श्रेष्ठको भनाई छ । नेपालका विभिन्न भूभागमा पुगेर किर्तिमानी कायम गरेका श्रेष्ठसँगै साइकल यात्रामा आउनुभएकी कमला पुनले केही ठाउँमा साइकल बोकेर यात्रा गरेपनि अन्य ठाउँमा सहजै साइकलमै पुगेको बताउनुभयो । गुर्जाघाट पुग्दा एक जना ७१ वर्षका जेष्ठ नागरिक आफ्नो जन्मस्थान छाड्न नसकेर एक्लै बसेको भेट्दा मन भरिएर आयो पुन सुनाउनुहुन्छ । उहाँका सन्तानहरु सबै बाहिर रहेछन् र स्थायी बसोबासपनि नवलपरासी तिर रहेछ तर उहाँ मात्रै एक्लै बस्दै आउनुभएको रहेछ । गाउँघरको मायाँ र जन्मेको ठाउँलाइ छाड्न नसकेर उहाँ बसेको देख्दा अरु केही सोच्नै सकेन दिमागले ।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको ढोरपाटन क्षेत्रमा साइकल यात्रु पुग्दा त्यहाँका बासिन्दा तथा जनप्रतिनिधिले पनि न्यानो स्वागत गरेको उहाँहरुले सुनाउनुभयो । साइकलयात्रीहरुले पोखरा, पर्वतको कुस्मा, मालढुङ्गा, म्याग्दीको बेनी बजार, गुर्जाखानी, रुघाचौर गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका पुगरेर फर्किनुभएको हो । एक हप्ता लामो साइकल यात्रामा उहाँहरुले ढोरपाटन क्षेत्र समेत परिक्रमा गर्नु भएको हो ।
साइकल यात्रीहरुलाई म्याग्दी धवलागिरी गाउँपालिका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले गुर्जामा न्यानो स्वागत गर्नुभएको थियो । यात्राको क्रममा बास बसेको ठाउँमा पनि आफूहरुले राम्रो स्वागत पाएको अनुवभ गर्नुभएका उहाँहरुलाइ बागलुङको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले आफ्नो वडामा स्वागत गर्नु भएको थियो । यहाँ पहिलो पटक साइकल यात्रा मार्फत ढोरपाटनको परिक्रामा गरेको अध्यक्ष घर्ती मगरले बताउनुभयो । यसले पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने भन्दै ढोरपाटनमा साहसिक पर्यटनको पनि संभावना छ भनेर प्रचारप्रसारमा आएमा भूमिका खेलेको बताउनुभयो । पुन र श्रेष्ठ साइकलमा ढोरपाटन क्षेत्र घुमेर फर्के पछि अध्यक्ष घर्तीले साइकल तथा शाहसीक पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाबाटै योजना बनाएर कार्यक्रम गर्ने प्रतिबद्धता साइकल यात्रीहरु सँग पनि जनाउनु भएको थियो ।
अध्यक्ष घर्ती मगरले भन्नुभयो –‘साइकल यात्रामार्फत विभिन्न धूरी डाँडा छिचोलेर पर्यटक ढोरपाटन आएको पहिलो पटक हो, यसभन्दा अगाडि कोही आएको थिएन, यो यात्राले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ढोरपाटन घुम्न र साइक्लिङ गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’ अब निकट भविष्यमै साइकल यात्रा बाटै ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि पनि केही पहल गर्ने योजना बनाएको छु उहाँले भन्नुभयो ।
लामो यात्रा पछि फर्कदा आनन्द भएको बताउँदै पुनले भन्नुभयो यस्तो यात्रा अहिले सम्ममा भएको थिएन । अर्का यात्री श्रेष्ठले यात्रा सँधै अविष्मरणीय र रमाइलो हुँदै जान्छ तर यस पटकको यात्रा विगतको भन्दा निकै फरक रहेको सुनाउनुभयो ।
साइकल यात्राले प्रदुषण कम गर्ने र स्वास्थ्यलाई पनि थप मजबुत बनाउने भएको हुनाले यस्तो यात्रालाई प्रोत्साहन दिनु पर्ने देखिन्छ । यात्रा हरेक प्रकारका हुन सक्छन् तर साइकलमै यात्रा गर्ने र यसले पर्यटन प्रवद्र्धनलाईपनि थप टेवा दिने भएकोले यस्तो प्रकारको यात्रालाई विषेश योजना बनाएरै प्रवद्र्धन गर्नु पर्ने देखिन्छ ।