काठमाडौं, १९ मंसिर- संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत विपक्षी दलका युवा–विद्यार्थी संगठनले शनिबार भारतीय दूतावास घेराउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसमर्थित युवा संघ, अनेरास्ववियुलगायत अन्य विपक्षी दलनिकट युवा र विद्यार्थी संगठनले बिहान दुई घन्टा भारतीय दूतावास घेराउ गरेका हुन् । सोही समूहले अपराह्न माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सिठी जुलुस निकालेको हो । जुलुसमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाका युवा–विद्यार्थी भ्रातृ संगठन सहभागी थिए ।
सीमांकन हेरफेरको विरोधमा अर्घाखाँचीमा चार दिनदेखि विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले शनिबार पनि अघाखाँची ठप्प पारेका छन् । अर्घाखाँचीमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तारुढ कांग्रेस पनि आन्दोलनमा छन् ।
चार दिनदेखिको लगातार बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । संयुक्त संघर्ष समितिले गरेको अनिश्चितकालीन बन्दका कारण शनिबार पनि सदरमुकाम सन्धिखर्कलगायत मुख्य बजार ठप्प रहे ।
५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा पेस भएको संशोधन प्रस्तावको विरोधमा दाङमा पनि दिनदिनै प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले रोल्पा र प्युठानलाई ५ नम्बरबाट नछुटाउन माग गरेका छन् ।
दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा शनिबार राजनीतिक दल, उद्योगी, व्यवसायीलगायतले सदरमुकाम घोराहीसहित जिल्लाका नौ ठाउँमा प्रदर्शन गरे । विरोध सभामा बोल्ने अधिकांश वक्ताले रोल्पा, प्युठान र रुकुमलाई दाङबाट छुट्याउन लागेकोमा आक्रोश व्यक्त गरे ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत डन्डामा शनिबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उनीहरूले चक्काजाम गरेका थिए । उनीहरूले ‘थारू मास्न पाइँदैन, प्रदेश नं. ४ गाभ्न पाइँदैन’लगायत नारा लगाएका थिए । यस्तै बुटवलमा पनि प्रदर्शन जारी नै छ | नयाँ पत्रिका
Previous Articleरेको कसरतपछि प्रधानमन्त्री आश्वस्त
Next Article कृषिमेला तथां पशु शिविरमा कृषकको भीड