उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत मुस्ताङको कागबेनी देखि कोरला खण्डको एक सय ३ किलोमिटर सडक कालोपत्रे गर्न योजना अगाडी बढाइने भएको छ । यो खण्डको सडक स्तरोन्नति सहित ग्राभेल गर्ने काम सकिएको छ । कोरला नाका खुलेका कारण कागबेनी देखि कोरला नाका सम्मको यात्रालाई सहज बनाउन कालोपत्रे योजना अघि बढाइने आयोजनाले जनाएको छ ।
पहिलो चरणमा ग्राभेल गर्ने काम सकिएकाले अव कालोपत्रेको योजना अगाडी बढाउन आवश्यक बजेट सहित अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्न लागिएको आयोजनाले जनाएको छ । जोमसोम देखि कागबेनी सम्मको १३ किलोमिटर सडक कालोपत्रे योजना यसअघिकै ठेक्का लगाई निर्माणलाई अगाडी बढाइएको छ ।
चालु आर्थिक वर्षमा २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना अगाडी बढाउन आवश्यक बजेट सहित अर्थ मन्त्रालयको सहमतिका लागि प्रस्ताव पेस गर्ने तयारी गरिएको कालिगण्डकी कोरिडोर (बेनी–जोमसोम )सडक आयोजनाका इन्जिनियर अच्युत विलास पन्तले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कागबेनी देखि कोरला सम्मको सडक खण्डमा पहिलो चरणमा सडक स्तरोन्नति सहित ग्राभेलको काम सकिएकाले अव कालोपत्रेका लागि योजना अगाडी बढाउने सोच सहित अर्थ मन्त्रालयको स्वीकृतिका लागि दुईचार दिन भित्रमा प्रस्ताव लैजाने योजना बनाएका छौँ ।’’ कोरला नाका सञ्चालनमा आइसकेकाले यस खण्डको सडकलाई कालोपत्रे गरेर यात्रालाई सहज बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।
यसै गरी म्याग्दी खण्ड अन्तर्गत गलेश्वर देखि नारच्याङ पुल सम्मको सडक कालोपत्रे गर्नका लागि निर्माण व्यवसायीलाई ताकेता गरिएको पन्तले बताउनुभयो । उहाँका अनुसार नारच्याङ पुल देखि काभ्रे भिर खण्डको ठेकेदारलाई सडक निर्माणको कामलाई गति दिन आवश्यक निर्देशन र ताकेता गरिएको छ ।
निर्माणाधीन माल ढुङ्गा बेनी सडक योजनामा ठेकेदारले विभिन्न बहानामा ढिलासुस्ती गरी योजना अलपत्र पार्न थालेकाले आयोजनाले ठेक्का तोड्ने सोच बनाएको इन्जिनियर पन्तले बताउनुभयो ।
यसै गरी आयोजनाकै बेनी–गलेश्वर खण्डको दुई किलोमिटर एक सय मिटर सडक शनिवार देखि प्राइम कोर्ड राखी कालोपत्रे गर्ने काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।
बेनी –जोमसोम कोरला सडक स्तरोन्नति सहित दुई लेनको कालोपत्रे र ग्राभेल गर्न विसं २०७३÷७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । तेह्र वटा खण्डमध्ये आठ खण्डको निर्माण सकिएको छ । कमजोर भूगोल,प्राकृतिक प्रकोप र निर्माण व्यवसायीको ढिला सुस्तीका कारण म्याग्दी खण्डमा अपेक्षा गरेअनुसार सडक निर्माणले गति लिन सकेको छैन ।
म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन सात अर्ब ५५ करोड लागत अनुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९÷८० सम्म छ अर्बभन्दा बढी खर्च भइसकेको छ । हालसम्म छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुईवटा खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ । गोरखापत्र अनलाइनबाट साभार