बागलुङ, १८ मंसिर – जिल्लाको अधिकारीचौर गाविसको वडा नम्बर–९ मा पिकअप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छभने ३ जना घाईते भएका छन् ।
शुक्रबार साँझ पश्चिम बागलुङको बोबाङबाट बुर्तिबाङतर्फ आउँदै गरेको ध१च १६९ नम्बरको पिक जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा चालक गुल्मी जुरिया गाविसका २३ बर्षिय कृष्णबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा अधिकारीचौर–४ का २९ बर्षिय ढालेन्द्र थापा गम्भिर घाईते भएका छन् । उनको अनुहार र हातमा चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मी केशब थापाले जानकारी दिए । थापालाई थप उपचारका लागि पोखर रिफर गरिएको छ ।
बोहरागाउँ–६ का २८ बर्षिय रविन घर्ती र बोहरागाउँ–९ का २२ बर्षिय प्रकाश घर्ती मगरको स्थानिय बुर्तिबाङ सिटी अस्पतालमा उपचार भईरहेको छ । चालकले मदिरा सेवन गरेर जीप चालाएका कारण दुर्घटना भएको घाईतले बताएका छन् । जीपको ब्रेकले पनि राम्रोसँग काम नगरेको यात्रुको भनाई छ ।
अधिकारीचौरको कोईलारा भन्ने ठाउँमा जीप सडकबाट ७० मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।