पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ खुम्ल्याहाका तेजेन्द्र आचार्य निकै खुशी हुनुहुन्छ । लामो समय देखि सास्ती खेप्दै आउनु भएका उहाँले अब भने समस्याबाट मुक्ति पाएको ठान्नु भएको छ । आफू सँग सिप नहुँदा आफ्नै घरमा भएको प्रविधि पनि प्रयोग गर्न नपाएर दिक्दार परेका उहाँले अहिले भने अब ढुक्क भएको सुनाउनुहुन्छ ।
ग्रामिण भेकमा पछिल्लो समय गोरु पाल्ने क्रम घट्दै जाने र मिनि टेलर(हाते ट्याक्टर)को प्रयोग बढ्दै गएको भए पनी बिग्रे पछि मर्मत गर्न नसक्दा त्यसै थन्कने समस्या थियो । ग्रामिण भेकमा ट्याक्टर विग्रेर बस्ने त्यसको मर्मत हुन नसक्दा सास्ती भएको देखेर हामीले पर्यटन तथा उद्योग कार्यालय संग समन्वय गरेर १० दिने मिनी टेलर मर्मत सम्बन्धी सिप विकास तालिम आयोजना गरेका हौं म्याग्दी उद्योग बाणिज्य संघ दरवाङ इकाइका सचिव अमृत सापकोटाले बताउनुभयो । पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग तथा मालिका गाउँपालिका कृषि शाखा र उद्योग बाणिज्य संघको सहकार्यमा १० दिने तालिमले गाउँमा बिग्रेका ट्याक्टर मर्मत गरेर सञ्चालन गर्न सक्ने हुन पाएकोमा खुशी लागेको कृषक आचार्यले बताउनुभयो । मालिका गाउँपालिकाका १६ जना र मंगला गाउँपालिकाका ४ जना कृषकले हाते ट्याक्टर मर्मत तालिम प्राप्त गरेपछि उत्साहीत बन्नुभएको छ ।
ट्याक्टर मर्मत तालिम लिएपछि आफूले गाउँका अरुको पनि बिग्रेका ट्याक्टर मर्मत गर्न सक्ने भएको मालिका गाउँपालिका–१ का प्रकाश मल्लले बताउनुभयो । हाम्रो गाउँमा ट्याक्टर ल्याउने र बिग्रेपछि त्यसै थन्कीने बाध्यता थियो अब त्यो हट्ने उहाँको भनाई थियो । आफ्नो जग्गामा प्रयोग गर्ने मात्रै होइन अरुको पनि बिग्रीएको ट्याक्टर मर्मत गरेर खनजोत गर्न सक्ने बनाउने क्षमता म मा आएको छ उहाँले सुनाउनुभयो ।
१० दिने तालिमको सहजिकरण बेनी स्थीत गणेश मेसिनरीका प्राविधिक इश्वर सुवेदीले गर्नुभएको थियो । तालिममा सहभागी मालिका र मंगला गाउँपालिकाका कृषकहरुले निकै लगाब सहित सिकेको र उहाँहरुले आफ्नो ठाउँमा राम्रो काम गर्ने अपेक्षा गर्न सकिने प्रशिक्षक सुवेदीले भन्नुभयो । उहाँले भन्नुभयो १० दिने तालिमको अवधिमा प्राक्टीकल र थ्यौरी गरीएको बताउँदै उहाँले भन्नुभयो–‘अहिले तालिमकै अवधिमा १० वटा भन्दा बढी विग्रेका ट्याक्टर मर्मत गरेका छौं ।’
समापन कार्यक्रममा बोल्दै पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले तालिम सिक्नका लागि मात्रै नभएर व्यवहारमा लागु होस भनेर मिनि टेलर मर्मत तालिम आयोजना गरेको बताउनुभयो । ग्रामिण भेकमा मिनि टेलर (हाते ट्याक्टर) ल्याउने तर बिग्रेर त्यसै थन्कीने समस्याको समाधानका लागि यो कार्यक्रम गरिएको उहाँको भनाई थियो ।
पोषनाथ शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा उद्योग बाणिज्य संघ दरवाङ इकाइका अध्यक्ष लेकबहादुर पुनले मन्तव्य राख्नुभएको थियो भने सचिव अमृत सापकोटाले सञ्चालन गर्नुभएको थियो ।