के गुगलले सधैं प्रयोगकर्ताको अवस्थिति अर्थात् लोकेसन ट्रयाक गरिरहेको हुन्छ ? गुगलले आफूमाथिको यस्तो आरोप अस्वीकार गर्दै आएको छ, तथापि गुगलमाथि पटक-पटक यो आरोप लाग्ने गर्दछ ।
कहिले म्याप एकुरेसीको नाममा त कहिले नयाँ प्रडक्ट तथा फिचर्स विकास गर्नका लागि । साथै सान्दर्भिक विज्ञापन देखाउनका लागि पनि गुगलले प्रयोगकर्तालाई ट्रयाक गरिरहेको हुन्छ ।
प्रयोगकर्ताले ट्रयाकिंग डिसेबल गरेपछि उनीहरुको लोकेसन ट्रयाक नहुने दाबी गुगलको छ । तर गुगलको यस्तो दाबी सत्य नभएको पुष्टि भएको छ ।
साथै उक्त मुद्दालाई टुंग्याउनका लागि गुगलले ९ करोड ३० लाख डलर अर्थात् करिब १२ अर्ब ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ ।
अमेरिकाको क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले गुगलविरुद्धको उक्त मुद्दा दायर गरेका थिए । जसमा गुगलले प्रयोगकर्ताको लोकेसन कन्ट्रोलका विषयमा गलत जानकारी दिइएको अभियोग लगाइएको छ ।
महान्यायाधिवक्ताले भनेका छन्, ‘हाम्रो छानविनबाट के पत्ता लागेको छ भने गुगलले लोकेसन डिसेबल गरेपछि उसले प्रयोगकर्ताको लोकेसन ट्रयाक नगर्ने बताएपनि वास्तवमा त्यसको उल्टो काम गरिरहेको छ । कम्पनीले आफ्नो फाइदाका लागि लगातार प्रयोगकर्ताहरुको गतिविधि ट्रयाक गर्ने गरेको छ ।’
गुगलले भने उक्त आरोप स्वीकार गरेको छैन, तथापि ऊ सो मुद्दालाई मिलाउनका लागि तयार भएको छ । यसका लागि गुगल ९ अर्ब ३० करोड डलर क्षतिपूर्तिसहितका अन्य दायित्व निर्वाह गर्न पनि तयार भएको छ ।
साथै प्रयोगकर्ताको लोकेसन ट्रयाकिंगसम्बन्धी कार्यलाई अझै पारदर्शी बनाउने र प्रयोगकर्ताको लोकेसन प्रयोग गर्नुअघि उनीहरुलाई जानकारी दिने लगायतका कदम चाल्ने पनि उसको प्रतिवद्धता छ ।
स्मरणहोस्, प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने वा उनीहरुको कुराकानी तथा गतिविधिको निगरानी गर्नेमा केवल गुगल मात्र एक्लो होइन । अन्य विभिन्न ठूला प्रविधि कम्पनीहरुमाथि पनि यस्तै आरोप लाग्ने गरेको छ ।
फेसबुकको मातृ कम्पनी मेटामाथि त यहीँ अंग्रेजी वर्षको सुरुआतमा एक अर्ब २० करोड युरो जरिवाना भएको थियो ।