विनोद भण्डारी
उताबाट म्यासेज आयो,
मङ्सिर लाग्यो नि ।
मः अँ ।
उनीः के अँ मात्र भनेको ।
मः किन र ?
उनीः अनि जीवनसाथी खोज्ने बेला भएन तपाईंको पनि ।
मः भएको छैन ।
उनीः हुन त गलफ्रेन्ड ठिक्क होली । अब बिहे मात्र गर्नलाई कति नै बेर लाग्ने हो र ।
मः छैन । बरु खोज्दिनुस् ।
उनीः साच्चै खोज्दिम् । तर तपाईंलाई मिल्ने पाउन गाह्रो छ ।
मः किन नि ? म त्यति नराम्रो छु ।
उनीः अँ । एकदमै नराम्रो ।
मः साच्चै ?
उनीः तर तपाईं ढुक्क हुनुस्, तपाईंलाई मिल्ने एकजना ठिक्ककी केटी मैले चिनेकी छु । उसँग मिल्छ तपाईंको जोडी ।
मः को हो ?
उनीः तपाईं जोसँग अहिले च्याट गर्दै हुनुहुन्छ ।
अकस्मात आएको यस्तो कुराले गर्दा के लेखुम् के भयो । एकछिन पछि उतैबाट मेसेज आयो ।
उनीः तपाईंले त सिरियस्ली लिनुभयो कि क्या हो । मजाक पो गरेकी हुँ त ।
म्यासेज पछाडि एउटा हासेको स्माइलीको चिह्न पनि आयो ।
छिटोछिटो गतिमा धड्किरहेको मुटुको गतिले नियमित गति लियो । लामो सास फेरेर लेखेँ ।
मः यस्तो मजाक पनि गर्ने हो त ?
उनीः सरी ।
मः इट्स ओके ।
उनीः साच्ची, मेरो तस्बिर हेर्नुभयो ?
मः कस्तो तस्बिर ?
उनीः तपाईं त कत्ति छुचो ।
मः किन नि ।
उनीः आज बिहेमा गएको थिएँ । साथीको बिहेको लागि भनेर नयाँ साडी, नेक्लेस लगाएको फोटो खिचेकी थिएँ । सेयर गरेको एक घण्टा भइसक्यो । अझै हेरेको छैन रे ।
मः ए हो र, ल अब हेर्छु ।
निकै महँगो साडी, गहनाहरु आदि लगाएकी उनको तस्बिर थियो ।
मः एउटा कुरा भनम् ।
उनीः भन्नुस् ।
मः तपाईं महँगो पहिरनप्रति शौखिन हुनुहुन्छ हो ?
उनीः अँ, सपिङ गर्न त खुब मनपर्छ । बीस हजारको सेट हो, कस्ती देखिएको छु ?
मः धेरै खर्च गर्ने बानी नगर्नुस् है । पछि मलाई गाह्रो हुन्छ ।
उनीः मैले खर्च गरेर तपाईंलाई कसरी गाह्रो नि ।
मः श्रीमतीजीको खर्च धान्न नसकूला भनेर नि ।
उनीः साच्चै भन्नुभएको ?
मः नाइँ, ढाँटेको ।
उनीः लडाकु हुनुहुन्छ ।
मः तपाईं जत्तिको छैन ।
उनीः जे होस् कस्तो लाग्यो तपाईंलाई ?
मः अहिले तपाईंको टेलिभिजन नजिकै छ ?
उनीः होइन मैले के सोधेको के भन्नुभाको तपाईंले ?
मः साच्चै भनेको । तपाईंको टेलिभिजन नजिक छ भने नेपाल टेलिभिजन लगाउनुस् त ।
उनीः किन हेर्ने यतिबेला टिभी ?
उनीः साथीले भनेको नमान्ने ? लगाउनुस् अनि हेनुस् न एकचोटि ।
त्यसपछि मैले केही पनि लेखिन । दस मिनेट पछि उनैले लेखिन्,
उनीः आई एम सरी ।
मः किन ?
उनीः तपाईंले मलाई समाचार हेर्न भन्नुभएको आशय मैले राम्ररी बुझें । मैले त्यतिविधि पहिरनको रवाफ नगरेको भए हुन्थ्यो । समाचारमा देखाइएअनुसार थुप्रै दुर्गम स्थानमा मेरै उमेरकी ती युवतीहरुमा गरिबी र अन्ध विश्वासले निम्त्याएको उनीहरुको त्यो दुरावस्थाले मेरो मन पनि नरमाइलो बनायो । हाम्रो देशमा कतै कसैलाई दुई छाक खाने, उच्च शिक्षा लिने अवस्था पनि आकासको फल भैरहेकोमा यता मलाई हप्ता दिनसम्म हजारौंको सपिङ गरेर पुगेको छैन । त्यो पनि अरु कसैको बिहेमा सामेल हुन एक दिनको लागि । वास्तवमै सम्पत्ति छ भन्दैमा अनावश्यक खर्च गर्नु पनि त्यति ठीक होइन ।
मैले भन्न खोजेको कुरा उनले आफै बुझेकोमा खुसी लाग्यो । त्यसैले लेखें,
गुड टु नो इट । तर तपाईं त्यो पहिरनमा असाध्यै राम्री देखिनुभएको छ ।
उनीः थ्याङ्क्यु ।
मः एउटा कुरा छुटेछ ? हरियो रङको ब्याग ।
उनी ः आबुई ! कसरी थाहा भयो मैले हरियो ब्याग नै लगेकी थिएँ बिहेमा भनेर ।
मः गेस गर्नुस् ।
उनीः बिहेमा गएको कसैले बतायो तपाईंलाई । हो ?
मः भन्दिन ।
उनीः भन्नुस् न ।
मः नाइ भन्दिन ।
उनीः साच्चै नभन्ने ?
मः अहँ नभन्ने ।
उनीः ठीकै छ त्यसोभए । मैले पनि थाहा पाएकी छु तपाईंको एउटा सेक्रेट कुरा ।
मः के कुरा ?
उनीः भन्दिन ।
मः भन्नुस् न।
उनीः नाइ भन्दिन ।
मः साच्चै नभन्ने ?
उनीः अहँ भन्दिन ।
हासेको म्यासेज आयो उताबाट । म पनि हासेँ र त्यही फर्काएँ ।
मः म पनि थिएँ त्यो बिहेमा । तपाईंलाई देखेको थिएँ । बोल्छु भन्ने सोचेको थिए, तपाईं साथीहरुसँग निस्किहाल्नुभयो ।
उनीः ए । हो र ?
उनीः अँ, अनि एउटा कुरा चै सुनेको, तपाईंले थाहा पाउनुभयो कि नाइ ?
मः के कुरा ?
उनीः दाइजो चैँ पाँच लाख दिने भन्ने कुरा रहेछ । त्यति जान्ने बुझ्नेले पनि दाइजोलाई त्यति महत्वका साथ लिने रहेछन् । दुःख लाग्यो ।
मः खै मैले त त्यस्तो सुनेको थिएन । हुन सक्छ । तर मलाई पनि दुख लाग्यो त्यस्तो हो भने ।
उनीः त्यै त । एउटा कुरा सोध्छु है ।
मः सोध्नुस् न ।
उनीः तपाईंको बिहेमा दाइजो लिनुहुन्छ ? त्यसैगरी ।
मः पहिल्यै भनिसके त, दाइजो लिनेदिने प्रथा राम्रो होइन । ठूला सम्पन्नहरुले दाइजो लिने दिने गर्दा नसक्ने विपन्नहरुले पनि त्यसलाई चलनको रुपमा लिने अवस्था हुँदो रहेछ । नसक्नेहरुले रिनमा डुबेर भए पनि सामाजले के भन्छ भन्ने सोचेर यस्तो प्रथालाई अझै पनि निरन्तरता दिइरहेका छन् । यस्तो प्रवृत्ति ठीक होइन । हटाउनुपर्छ ।
उनीः कतिले यस्तो भन्छन् तर व्यवहारमा उर्तार्दैनन् । तपाई पनि त्यसै गर्नुहुन्छ कि ?
मः होइन । गर्दिन । साच्चै भनेको दाइजो प्रथालाई निरुत्साहित गर्नुपर्छ भन्ने कुरामा म आफै पनि उदाहरण बन्नेछु । हेर्नुहोला समय आएसी ।
उनीः त्यसो भए तपाईंले दाइजो नलिने वाचा गर्नुहुन्छ । हैन त ?
मः हो ।
उनीः त्यसो भए हाम्रो दुइटा वाचा भयो है । एउटा, मैले आवश्यकता भन्दा बढीको तडकभडक नगर्ने अनि अर्को तपाईंले बिहेमा दाइजो नलिने ।
मः ठीक भन्नुभयो । किनभने दुवै बानि ठीक होइनन् ।
उनीः एग्री ।
म ः ओहो, मैले त भुसुक्कै बिर्सेछु भोलि छिटो उठ्नु छ । सुत्नुपर्छ अब । बिदा हौं है ।
उनी ः ओके, बट लास्टमा एउटा कुरा ।
मः के कुरा ?
उनी ः अर्को मङ्सिरमा च्याटवालीसँग बिहे गर्नुहुन्छ ?
म ः फेरि मजाक । नसकिने भयो तपाईंसँग ।
उनीः होइन अहिले त साच्चै भनेको । साथीबाट जीवनसाथी बन्ने प्रस्ताव हो, के भन्नुहुन्छ ?
मः अर्को वर्षको मङ्सिरसम्म सोचम्ला… ।
Previous Articleयुद्ध संस्मरण : जाजरकोटको एक महिने यात्रा
Next Article आफ्नो इन्टरनेट स्पिड थाहा पाउन यसो गर्नुहोस्