झण्डै २० वर्ष यातायात क्षेत्रमा कर्मचारीको रुपमा कार्यरत रहेपछि होटल व्यवसायमा होमिनु भएको छ रघुगंगा गाउँपालिका–८ जन्मस्थान भई हाल रघुगंगा गाउँपालिका–३ बस्ने पदम छन्त्याल ।
छन्त्यालले पवित्र तिर्थस्थल गलेश्वरधाम क्षेत्रमा प्याराडाइज होटल सञ्चालन गर्नुभएको हो । युवा अवस्थामै रोजगारीको शिलशिलामा २०५८ देखि म्याग्दी जिप तथा बस सञ्चालक समितिको टिकट काउन्टरमा कर्मचारीका रुपमा रहेर काम गर्नुभएका छन्त्यालले २०७६ देखि आफ्नै व्यवसाय सञ्चालन गर्न थाल्नु भएको हो । यातायात क्षेत्रमा कर्मचारीको रुपमा रहँदा आफूले होटलबाट पाएको आतिथ्यताले यही क्षेत्रमै व्यवसाय गर्ने हौसला मिल्यो र ब्यवसायमा लागेको हुँ –उहाँले सुनाउनुभयो ।
२०७६ सालमा २० लाख रुपियाँ लगानी गरेर फर्नीचर तथा खाद्यान्न सामग्री खरिद गरेर सुरु गरेको व्यवसाय अहिले पनि राम्रो तबरले सञ्चालनमा रहेको उहाँको भनाई छ । १४ वटा एट्याच रुम सहितको उहाँको होटलमा पवित्र तिर्थस्थल मुक्तिनाथ जाने पर्यटकका साथै गलेश्वर धाममा आउने पर्यटकहरुले सेवा पाउने गरेको उहाँ सुनाउनु हुन्छ । पदम र चन्दा श्रीमान श्रीमती सहित ८ जना कार्यरत होटलमा मासिक रुपमा खर्च कटाएर ५० हजार हाराहारी बचत गर्ने गरेको उहाँको भनई छ । एउटा भवन गेष्ट हाउसका रुपमा रहेको छ भने अर्को रेष्टुरेन्टका रुपमा सञ्चाल गरेको छु र त्यसमा अहिले सम्म आफूले सोचे जस्तै व्यवसाय चलेको छ–उहाँले बताउनुभयो ।
लामो समय पर्यटन तथा यातायातको क्षेत्रमै काम गर्दा होटल व्यवसाय सेवा मुलक लागेर यो क्षेत्रमा लागेको हुँ छन्त्यालले भन्नुभयो । अहिलेको अवस्था हेर्दा पनि व्यवसाय मात्रै नभएर मन देखि गरीने सेवा पनि लाग्छ । आफ्नो होटलमा आएर बसेर निस्कने पाहुनाले खुशी भएर दिने आशीष सुन्दैमा पनि निकै आनन्द मिल्छ त्यस माथि आफ्नो व्यवसाय पनि त हो यो–उहाँले भन्नुभयो । मैले व्यवसाय सुरु गरेपछि कोभिड शुरु भयो, त्यसताका सबै व्यवसाय बन्द हुँदै गर्दा पनि म हिम्मत गरेर ब्यवसायलाई निरन्तरता दिएँ ।
व्यवसाय संगै सामाजिक कार्यमा समेत संलग्न रहुनभएका छन्त्याल गायत्री संगम युवा क्लबका अध्यक्ष हुनुहुन्छ । गायत्री मन्दीर क्षेत्रमा रहेको पर्यटकीय पार्क निर्माण तथा समन्वय समितिका सचिव समेत रहेका छन्त्यालले गलेश्वर शिवालय क्षेत्रमा पनि आवश्यकताका आधारमा सहयोग गर्दै आउनुभएको छ ।
युवाहरुले आफ्नै लगानीमा गर्ने व्यवसायले देशमा ठूलो योगदान दिने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ । युवा पिडी विदेश नै जान पर्छ भन्ने मानसिकता धेरै हुने भए पनि अहिलेको समयमा पनि युवाहरुले थालेको व्यवसाय आफैमा पनि निकै सफल भएकोले गर्दा पनि युवाहरुले स्वदेशमै व्यवसाय गर्न प्रोत्साहीत गर्ने उहाँको भनाई छ ।