सागर कुँवर
साम्राज्यवाद र प्रतिक्रियावादले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका विरुद्ध चौतर्फी हमला गरिरहेको वर्तमान अवस्थामा विश्वभरिका माक्र्सवादी तथा लेनीनवादी पार्टी तथा संगठनहरुले महान् अक्टोबर क्रान्ति सम्पन्न भएको सय वर्ष प्रवेशको अवसरमा ‘अक्टोबर क्रान्तिको झण्डा उचो राख्न नयाँ पिढीबाट हजारौ हजार कार्यकर्ता पार्टीमा भर्ती गरौं भन्ने’ मुल नाराका साथ संसारभरि नै अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाएको समाचारले विश्वभरिका क्रान्तिकारीहरुमा नयाँ जोस, जाँगर र उमंग पैदा गरेको छ । मुलतः सन १९१७ मा रुसमा विश्व सर्वहारा वर्गका महान नेता क. लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेको थियो र विश्वमा पहिलोपटक सर्वहारा वर्गको राज्यसत्ता स्थापना गरेको थियो । त्यो क्रान्ति विश्वभरिका सर्वहारा शोषित पिडित मुक्तिकामी जनताको लागि एक महान ऐतिहासिक घटना थियो । विश्वमा पहिलोपटक स्थापित समाजवादी राज्य सत्ताले विश्व पुँजिवादको चिहान खन्नमा भुमिका खेलिरहेको थियो । अब विश्वमा समाजवादी राज्यसत्ता नभएपनि समाजवादको जित र पुँजिवादको हार अवश्यमभावी छ । नयाँ सर्वाहारा युगको जन्म र जनविरोधी पुँजिवादी क्याम्पको पतन आजको अनिवार्य आवश्यकता हो । त्यस क्रान्तिको सम्झनामा, नयाँ पिढीका युवाहरुलाई क्रान्तिकारी आन्दोलनमा सामेल गर्न, क्रान्तिकारी आन्दोलनलाई नयँँ गति प्रदान गर्न, रक्षात्मक अवस्थामा रहेको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमले ठोस भूमिका खेल्नेछ भन्नेमा क्रान्तिकारी विश्वस्त रहेका छन् । यो वर्षभरि विश्भरि अक्टोबर क्रान्ति जिन्दावादको नारा र अभियान घनिभूत प्रकारले घन्कनेछ । सर्वहारा शिविरहरु नयाँ जोसले जुरमुराउने छन् । नयाँ योद्धाहरु नयाँ युगको निर्माणको लागि क्रान्तिकारी आन्दोलनमा होमिनेछन् । अहिलेको वर्तमान भुमण्डलीकृत विश्वमा क्रान्तिको झण्डा उठाउन नयाँ प्रविधिको प्रयोग सँग–सँगै अनुशासित, मिलिटेन्ट, बोल्सेभिक स्पिरीट बोकेको बलियो क्रान्तिकारी कम्युनिष्ट पार्टी आवश्यक छ । तर, अहिले पनि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा गुज्रिरहेको छ । यसरी रक्षात्मक अवस्थामा रहेको क्रान्तिकारी आन्दोलनलाई शक्तिशाली बनाउन क्रान्तिकारी पार्टीमा हजारौं हजार क्रान्तिकारी कार्यकर्ता उत्पादन गर्न अनिवार्य आवश्यकता छ तर त्यो कार्य त्यती सजिलो र सहज भने छैन् । एकातिर निम्न पुँजिवादी चिन्तन र अर्कोतर्फ पुँजिवादले पारेको प्रभावले गर्दा मानिसहरुलाई क्रान्तिकारी क्याडरमा रुपान्तरण गर्न निश्चित रुपमा सजिलो गरेर सम्भव छैन् । परिस्थिति जति प्रतिकुल भएपनि नयाँ मनिसहरुलाई क्रान्तिकारी नबनाईकन पनि क्रान्तिकारी आन्दोलन अगाडि बढाउन सकिदैन । त्यस अवस्थामा नयाँ मानिसहरुलाई कसरी क्रान्तिकारी आन्दोलनमा सामेल गराउन सकिन्छ ? त्यो विषयमा अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रमले ठोस जवाफ दिनु पर्दछ । आजको मुल समस्या भनेको कम्युनिष्ट पार्टीमा लागेका मानिसहरुको नै जिवनशैली र कार्यशैली त्यही बुर्जुवा राजनीतिक दलमा लागेको मानिसमा जस्तै फरक नहुनु हो । गाउँमा जनताको बीचमा जाने, उनीहरुका समस्याहरुलाई पहिचान गर्ने, उनीहरुका समस्याहरुलाई समाधान गर्नको लागि ग्रमिण संघर्षहरुको नेतृत्व गर्ने, त्यही बिचबाट नै पार्टीमा नयाँ योद्धाहरु भर्ती गर्ने, पार्टी, आन्दोलन, क्रान्ति, क्रान्तिकारी कार्यकर्ताको भूमिकाको विषयमा उनीहरुलाई प्रशिक्षण गर्दै अगाडि बढ्ने हो अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रमले सार्थकता पाउनेमा कुनै शंका रहन्न ।
नेपाल जस्तो मुलुक जहाँ औद्योगिक क्षेत्रहरुको ठोसमा विकास भएको छैन् । यस्तो मुलुकमा मजदुर किसानहरुलाई पार्टीमा समावेश गर्दै उनीहरुका मुद्दाहरुलाई सहि प्रकारले नै अगाढि बढाउन आवश्यकता छ । अहिले खासमा मजदुर किसानका समस्याहरुको उठान गर्ने कुरा ओझेलमा परे जस्तो देखिएको छ । यस अवस्थामा ग्रामिण क्षेत्रमा जाने र किसानहरुलाई अधिकतम् रुपमा संगठनमा सामेल गराएर उनीहरुको वैचारिक तथा राजनीतिक स्तरलाई धेरै नै उठाउन सक्नुपर्दछ । त्यो कार्य गर्न सकियो भने आगामी दिनमा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन ठोस र महत्वपूर्ण भूमिका त्यसले निर्वाह गर्नेछ । आजको अर्को ठुलो समस्या भनेको युवाहरुलाई कसरी राजनीतिक आन्दोलनमा समावेश गर्ने भन्ने हो । नीजि क्षेत्रको बढ्दो बोलवाला रहेको हाम्रो समाजमा अहिलेका नयाँ युवाहरु राजनीतिक आन्दोलनबाट धेरै नै बिमुख भएको स्थिति छ । दिर्घकालिन सोंच विचार राखेरभन्दा पनि क्षणिक स्वार्थमा रमाउने प्रवृत्तिको विकासले युवाहरु गलत चिजको शिकार भएका छन् । उनीहरुलाई क्रान्तिकारी आन्दोलनमा सामेल गराएर मुक्ति आन्दोलनमा हिडाउन सक्ने भने क्रान्तिकारी आन्दोलनले निकै नै फड्को मार्ने सम्भवाना रहेको छ । यस अवस्थामा, अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रमको शिलशिलामा युवाहरुलाई समावेश गराउन विशेष पहल गर्नुु आवश्यक छ । अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रमले सिंगो क्रान्तिकारी आन्दालनलाई जुरुक्क उठाएर क्रान्तिको मसाल अगाडि बढाउन महत्वुर्ण भूमिका खेल्न जरुरी छ ।
आज कम्युनिष्ट पार्टीका तल्ला समितिहरुमा देखिएको समस्या यो पनि हो कि त्यहाँ कुनै नियमित प्रकारको वैठक बस्न सक्दैन्, समयमा पार्टीको काम हुँदैन् । पार्टीले निर्णय गरेर पठाएका सर्कुलहरु कार्यान्यवन हुन सक्दैनन् । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु पार्टीको काममा भन्दा बढी एनजिओ आईएनजिओको काममा बढी व्यस्त देखिन्छ । गाँउमा जनताका समस्यालाई उठान गर्ने, जनताकोमा जाने, जनतालाई प्रशिक्षण गर्ने, उनीहरुलाई संगठनमा सामेल गराउने काम पुरै सेलाएको छ । स्वयम् एउटा बैठकमा आउन नसक्ने, पार्टीको कामभन्दा गैरसरकारी संस्थाहरुको काममा ध्यान दिनाले आज कम्युनिष्ट पार्टीमा संगठनलाई मजबुत बनाउने कुरा र पार्टीको राजनीतिक लाइनलाई जनतामा लैजाने कुरा शिथिल भएको छ । यस दिशातर्फ ध्यान दिएर सचेतपूर्वक नयाँ मानिसहरु क्रान्तिकारी आन्दोलनमा भर्ती गर्नुपर्दछ । हामी परिवर्तनकारी हौं, हामी कम्युनिष्ट पार्टीमा लागेको मान्छे हौं भनेर मात्र त संगठन निर्माण त हुँदैन्, यसले क्रान्तिको आधार पनि तयार पार्दैन् । वास्तवमा आज पार्टीको कामप्रतिको उदासिनताको कारण कम्युनिष्ट पार्टी कमजोर बन्दै गएको छ । त्यसमा मुख्य गरेर नेता कार्यकर्तामा रहेको निम्न पुजिवादी चिन्तनले काम गरेको छ । निम्नपुँजिवादी चिन्तनले काम गर्नुमा कम्युनिष्ट पार्टीको जग नेपाली समाजमा मध्यम वर्गमा रहेको छ । यसरी ढुलमुले वर्गमा जग भएको अवस्थामा स्वयम क्रान्तिको मसाल बाल्न सजिलो छैन् । यो अवस्थामा सुधार मात्र होइन, व्यापक परिवर्तन नगरिकन क्रान्तिकारी आन्दोलनले ठोस गति लिन कठिन छ । वर्तमान राज्यसत्ता दलाल पुजिँपती वर्गको हातमा रहेको छ । यसलाई सर्वाहारा वर्गले हस्तक्षेपकारी क्रान्तिकारी आन्दोलनबाट खोसेर आफ्नो हातमा लिनुपर्दछ । त्यसरी सर्वाहारा वर्गले राज्यसत्ता खोसेर लिए पछि राज्य सत्ताको चरित्रमा परिवर्तन आउनेछ र समानताको दियो बल्ने छ । यो अनिवार्य छ । यसलाई कसैले रोकेर रोकिन पनि सक्दैन् । प्रश्न यति मात्र हो कि सर्वाहारा वर्गको नेता कम्युनिष्ट पार्टीले त्यसप्रकारको कार्यक्रम ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा गर्दछ वा गर्दैन् ? नेपालको अवस्था माथि ध्यान दिने हो तत्कालिक नेकपा माओवादीले उठाएको हतियार विचारले गाइडेड हुन सकेन् र त्यो परिस्थितिको उपज पनि थिएन् । त्यसको परिणाम आज यो भयो कि तमाम माओवादी कार्यकर्तामा निराशा र कुण्ठाको भावना पैदा भयो र माओवादी समूह विघटनतर्फ गैरहेको छ । त्यसका साथसाथै क्रान्तिकारी शक्तिहरु माथी हिजोको दिनमा भन्दा तुलनात्मक हिसाबले झन संकटहरु पैदा भएका छन् । आजको विश्व भुमण्डलीकरणको जमाना, त्यसमाथी पुजिवादले एकाधिकार जमाइरहेको विश्व वजार र क्रान्तिकारी कम्युनिष्टहरुको रक्षात्मक अवस्थालाई हेर्दा आज विश्मा क्रान्ति मसाल तत्काल बल्ने सम्भावाना छैन् । यसको अर्थ यो होइन् कि क्रान्ति सम्भव छैन् । यहाँ हेक्का रहोस कि क्रान्ति एक महान उथपुथलकारी संघर्ष हो, यो अनिवार्य हुन्छ, र संसार परिवर्तन हुन्छ । त्यसको लागि कम्युनिष्ट पार्टीहरुले रचनात्मक प्रकारले आफ्ना योजना तथा कार्यक्रमको निर्धारण गर्नुपर्दछ । आवेश र भावानामा आएर एक दिन मर्नु नै पर्छ क्यारे भन्ने आशयबाट मात्र हतार गरियो भने त्यसले क्रान्तिलाई वर्षौवर्ष पछाडि धकेल्ने सम्भावानालाई अस्वीकार गर्न सकिन्न् । त्यसकारण, हतार आवेगमा र जोशमा मात्र होइन, दिर्घकालिन सोच, विचार सिद्धान्त माथी आधारित भएर होसमा यसको योजना बनाउनस पर्दछ र अगाडि बढ्नसपर्दछ । क्रान्ति कुनै विरले गर्ने भन्ने होइन्, नेतृत्व त संघर्षको विचबाट जन्मने हो । यो कुरामा क्रान्तिकारीहरुले हेक्का राख्नै पर्दछ । अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रमले यस्ता विषयहरुमा ध्यान दियो भने पार्टीलार्इृ वोल्सेभिकीकरण गर्न सहज हुनेछ र भविष्यमा क्रान्तिको रथ हाँक्नको लागि पार्टी सक्षम बन्नेछ । नयाँ युगको निर्माण गर्न, नयाँ सोभियत सत्ता जन्माउन ऐतिहासिक भूमिका निर्वाह गर्न सफल हुनेछ ।
Previous Article२०७३ मंसिर १७ गते शुक्रबारको राशिफल
Next Article १७ मंसिर २०७३, ढोरपाटन दैनिक