मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश, पोखराको आयोजना र सुशासनका लागि नागरिक समाज ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल कास्कीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज (मङ्गलवार) म्याग्दी सदरमुकाम बेनीमा स्वास्थ्य कार्यालय म्याग्दीद्वारा चालु आर्थिक वर्ष २०७९÷०८० मा प्रदान गरिएका सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले स्वास्थ्य क्षेत्रका समस्याहरुको समाधान गर्नका लागि सबैजना मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले केही कार्यालयहरुको समस्याहरु एकैखाले भएको बताउँदै भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव, पर्याप्त स्रोतसाधनको आपूर्ति नहुनु जस्ता समस्याहरु रहेकाले समाधान गर्न आवश्यक पहल गरिएको जानकारी दिए ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले स्वास्थ्य क्षेत्रप्रति आफूहरु सचेत रहेको बताउँदै नगरपालिकामार्फत स्वास्थ्य समस्याहरुको समाधानमा जोड दिइएको बताए । उनले दुर्गमका स्वास्थ्य संस्थाहरुमा जनशक्तिको व्यवस्थापन गरी कायम राख्नुपर्ने आवश्यकता रहेको भन्दै नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले कानुनअनुसार औषधी व्यवस्था विभागको अनुमति लिएर मात्रै औषधी पसल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले कार्यालयमार्फत सञ्चालित कार्यक्रम र गतिविधिहरुको बारेमा आफ्नो प्रस्तुती राखेका थिए । सहभागी हरिप्रसाद पौडेल, सन्तोष गौतम, हरिकृष्ण गौतम, दिलमाया बिटालु, कृष्णबहादुर जिसी, बलादेवी राई र टिकाबहादुर शाहीले आ–आफ्नो जिज्ञासासहित प्रश्न राखेको कार्यक्रमको सञ्चालन भानु पराजुलीले गरेका थिए ।