काठमाडौं, २ भदौ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले अब हुने तीन वटै चुनावमा बहुमत हासिल गर्ने गरी पार्टी संयन्त्रलाई परिचालन गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेको स्थायी समितिको बिहीबार बसेको बैठकले पार्टी नेतृत्वको अघिल्लो सरकारको कामको समीक्षाका क्रममा वहुमत नहुँदा सरकार ढलेको र समृद्धिसँग जोडिएका विषय अलपत्र पर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले अब हुने स्थानीय, प्रदेश र संघीय तहको चुनावमा वहुमत हासिल गर्ने गरी पार्टी पंक्तिलाई परिचालन गर्ने बताएको छ ।
बैठकले रेलमार्ग निर्माण लगायतका दीर्घकालीन महत्वका योजना कार्यान्वयनका लागि सरकार ढल्न दिन नहुनेमा नेकपा माओवादी केन्द्रले सरकार छोड्ने अवस्था आउनुलाई पार्टीको कमजोरीका रुपमा स्वीकार गरेको छ । माओवादी केन्द्रसँगको गठबन्धन सुदृढ तुल्याउन नसक्दा सरकार ढलेको निष्कर्षसहित त्यसलाई आन्तरिक समीक्षाको विषय बनाउने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बैठकले गठबन्धन जोगाउन नसक्नुलाई कमजोरीका रुपमा स्वीकार गरेपनि भारतको नाकाबन्दी र मधेसवादी दलको आन्दोलनका बीच राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिइ दीर्घकालीन महत्वका योजना अगाडि सारेर अघिल्लो सरकारले गर्ववोध गर्ने अवस्था सिर्जना गरेको निष्कर्ष समेत निकालेको छ । एमालेले प्रदेश कमिटीका संयोजक तोक्ने विषयमा भने कुनै निर्णय गरेको छैन । बैठक शुक्रबार पनि बस्ने छ ।
Previous Articleनेविसंघको चुनावमा बागलुङका २ जना विजयी
Next Article चीन भ्रमण: सम्बन्ध घनिष्ठ बनाउन महरा भेटघाटमा व्यस्त