भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि कालीगण्डकी नदीबाट निकालिएको देव शिला जनकपुरधाममा ल्याइएको छ । शनिबार राति ल्याइएको दुई विशाल शिला (पत्थर)लाई जानकी मन्दिरमा आज भव्यतापूर्वक विशेष पूजा गरियो ।
विशेष पूजामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र प्रतिनिधिसभा सदस्य जुली महतोको उपस्थिति छ ।
उक्त शिला आउँदो बिहीबारसम्म अयोध्या पठाइनेछ । नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान् रामको बालस्वरूप निर्माण गरिने जानकी मन्दिरका महन्त राम तपेश्वर दासले बताए ।
शिला संकलन तथा पठाउने कार्यमा सक्रिय जानकी मन्दिरका महन्त दासले ढुंगाबाट निर्माण गरिने भगवान् रामको बालस्वरूप राम मन्दिरको गर्भगृहमा रहने जानकारी दिए ।
“राम मन्दिरमा स्थापित हुने मूल स्वरूप नै नेपालको शिलाबाट तयार गरिनेछ,” उनले भने, “दुईवटा शिलाबाट एकैसाथ मूर्ति बनाइनेछ । राम मन्दिरमा ४०० वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुँदिनेछ ।”