म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरूमा एक करोड ८५ लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँ सभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरूको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।
गाउँ सभाले वृहत् घोप्टे खोला र बृहत् चिम खोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नु पर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय समेत गरेको छ । सङ्घीय सरकार मार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगंगा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिम खोलालाई समेट्ने बृहत् चिम खोला, पिप्ले भगवती खानेपानी आयोजना र वडा नम्बर ५ झिँ र ६ पाखा पानीलाई समेट्ने बृहत् घोप्टे खोला खानेपानी योजना सम्झौताको लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
त्यसैसरि वडा नम्बर ५ झिँको वडा कार्यालय भवनको लागि थप २५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । सभाले प्रदेश र सङ्घीय सरकार विशेष र समपूरक योजनाहरू समेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरक अन्तरगत पाखा पानी–कोट गाउँ– राय खोर–घ्यासीखर्क सडकलाई ५० लाख रुपियाँ , सङ्घीय समपूरक कोष अन्तरगत झिँ वडा कार्यालयलाई थप ३० लाख रुपियाँ, सङ्घीय समपूरक अन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न १ करोड ५० लाख रुपियाँ बजेट माग गर्ने निर्णय समेत गरेको छ ।
त्यसैसरि सङ्घीय विशेष अनुदान अन्तरगत वडा नम्बर १ बेगको भुँइपाईले फुटबल खेलमैदान, वडा नम्बर २ को बैँसेरी–साझा पानी लिफ्ट सिँचाई योजना, वडा नम्बर ४ को शिव आधारभूत विद्यालय पुनर्निर्माण, वडा नम्बर ५ को उच्च उचै खेलमैदान, र वडा नम्बर ३ को रघुगंगा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नम्बर ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलाहरूमा वारपारका लागि झोलुङ्गे पुलहरू समेत माग गर्ने निर्णय गरिएको छ ।
सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरि समिति मार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षमा निर्वाचन लगायतका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउँदै योजनाहरूलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धित वडाहरू र उपभोक्ताहरूले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सीमित स्रोत र साधनका बिच गाउँपालिकाले अत्यावश्यक आबश्यकताहरुलाई प्राथमिकतामा राखेर योजना छनौट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाहरूका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचन पछि पालिका मार्फत सञ्चालन हुने योजनाहरूको कार्यान्वयनको गति बढेको बताउँदै पालिका मार्फत सम्पादित प्रगतिबारे जानकारी गराउनुभएको थियो । गोरखापत्रअनलाइनबाट