काठमाडौं, १३ मंसिर – मधेसकेन्द्रित दलसँग तीनबुँदे सहमति गरी सत्तामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं दुविधामा परेपछि संविधान संशोधन प्रस्ताव तत्काल दर्ता हुने सम्भावना न्यून हुँदै गएको छ ।
मधेस केन्द्रित दलको माग सम्बोधनका लागि गर्न लागिएको संशोधनमा उनीहरू सहमत नहुनु, प्रमुख प्रतिपक्ष एमालेबाट आन्दोलनको चेतावनी आउनु एवं सत्ता गठबन्धनकै कांग्रेस-माओवादी केन्द्रका सांसद पनि संशोधनका विपक्षमा अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री दाहाल दुविधामा परेका हुन् ।
संशोधनमाथि छलफल हुने अपेक्षा गरिएको आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालले संशोधनको औचित्यमाथि प्रश्न उठाएपछि संशोधन प्रस्ताव तत्कालै संसद्मा दर्ता हुनेमा मन्त्रीहरू पनि विश्वस्त छैनन् ।
‘प्रधानमन्त्रीको भनाइ सुनेपछि संशोधन तत्काल नहुने सम्भावना बढेजस्तो लाग्यो’, एक मन्त्रीले भने । उनका अनुसार संशोधन प्रस्ताव दर्ता नगर्दा नै तत्कालका लागि प्रमुख पार्टीहरूबीचको द्वन्द्व घट्ने देखियो । मधेस केन्द्रित दल र एमाले दुवैले अस्वीकार गर्ने संशोधन प्रस्ताव दर्ता गर्ने पक्षमा दाहाल छैनन् ।
Previous Articleअनुमतिबिनै रामदेवको लगानी
Next Article आयोगबाटै सीमांकन टुंग्याउने पक्षमा लागे प्रचण्ड